प्रदेश नं १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले यस क्षेत्रमा रहेका प्राकृतिक सम्पादा र मौलिकताको प्रवद्र्धन गरी स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षण गर्नुपर्ने बताउनुभयो । मोरङको लेटाङ नगरपालिकामा अस्थिति राजारानी ताल एवं अन्तर धार्मिक पार्कको आज अवलोकन गर्दै यस क्षेत्रमा रहेका विभिन्न प्राकृतिक रमणीय र धार्मिक क्षेत्रलाई प्रदेशको पहिचानको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुका साथै यस्ता मौलिक क्षेत्रको उचित प्रचारप्रसारमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
प्रदेश प्रमुख अधिकारीलाई यस क्षेत्रमा रहेका विभिन्न प्राकृतिक सम्पदाका सम्बन्धमा पूर्वसामाजिक विकासमन्त्री जीवन घिमिरे, लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राई, उपप्रमुख कृष्णकुमारी पोखरेल, बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राई, केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की र उपाध्यक्ष शान्तिकुमारी लिम्बुले जानकारी गराउनुभएको थियो ।
यो पनि – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मचान निर्माण
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण गर्नका लागि पाँच वटा ठाउँमा थप मचान (वाच टावर) निर्माण गरिएका छन् ।नेपाल भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी हुनसक्ने सम्भावित क्षेत्रमा निकुञ्ज कार्यालयले मचान निर्माण गरेको हो । चोरी शिकारी नियन्त्रण गर्नका लागि मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी रबिन चौधरीले बताउनुभयो ।
“निकुञ्ज कार्यालयको कम उपस्थिति हुने क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउनका लागि मचान निर्माण गरेका छौँ”, उहाँले भन्नुभयो, “निकुञ्जको नेपाल–भारत सीमा क्षेत्रमा अवैधरूपमा छिरेर भारतीय नागरिकबाट हुने वन्यजन्तु, चरा, माछालगायत चोरी शिकारी गर्ने कार्यलाई नियन्त्रण गर्न मद्दत पुग्दछ ।”झाडी र बाक्लो घाँसका कारण गस्ती टोलीले चोरी शिकारीमाथि निगरानी राख्न गाह्रो हुने भएकाले मचान निर्माण भएपछि टाढैबाट हेर्न सकिने र नियन्त्रण गर्न सकिने चौधरीको भनाइ छ । निकुञ्जको नेपाल–भारत सीमा क्षेत्र नजिकै गत वर्ष पाटे बाघ मरेको अवस्थामा फेला परेको थियो । त्यसपछि निकुञ्ज कार्यालयले पैदल र हात्तीमा गस्तीको कार्यलाई निरन्तरता दिँदै आएको छ ।
निर्माण गरिएका मचान निकुञ्जको सुरक्षा व्यवस्थालाई मजबुत बनाउनका लागि निर्माण गरिएका हुन् । निकुञ्जको सुरक्षार्थ नेपाली सेनाका १६ वटा पोष्ट निर्माण गरिएका छन् । निकुञ्ज कार्यालयका १५ वटा पोष्ट छन । नेपाली सेना र निकुञ्जका पोष्टबाट दैनिकरूपमा वन्यजन्तु र काठ तस्करी रोक्नका लागि गस्ती हुने गरेको छ । पोष्ट निर्माणपछि काठ तस्करी र चोरी शिकारी हुने कार्य पूर्णरूपमा रोकिएको छ । निकुञ्ज कार्यालयले चोरी शिकारी र काठ तस्करी हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी ‘स्पाई क्यामेरा’ जडान गरेको छ । निकुञ्जका २० ठाउँमा स्पाई क्यामेरा जडान गरिएका छन् ।
तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जको ५४ दशमलव पाँच प्रतिशत क्षेत्रफलमा रहेको घाँसेमैदानमा बाह्रसिङगाको बासस्थान रहेको छ । बाघको बढी घनत्व भएको सुरक्षित क्षेत्रका रूपमा समेत निकुञ्जलाई लिइने गरिन्छ ।निकुञ्जमा स्तनधारी वन्यजन्तु, ५६, उभयचर २०, माछा २४, पुतली ३५ र चरा ४५० प्रजातिका पाइने गरिन्छ ।



प्रतिक्रिया