काठमाडौँ, २८ भदौ (रासस) : देशभर आज एक हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार ५३९ मा परीक्षण गर्दा एक हजार ४८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म सक्रिय सङ्क्रमित २६ हजार ६३० छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० छन् । आज एक हजार २६० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ४० हजार ७१७ कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९५.२ प्रतिशत छ ।
सो अवधिमा १६ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । हालसम्म १० हजार ९६५ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । यस्तै ४७५ जना सघन उपचार कक्ष (आइसियु), १३४ जना भेन्टिलेटर, २४ हजार ९५८ जना होम आइसोलेशन, एक हजार ६७२ जना संस्थागत आइसोलेशन र २६२ जना क्वारेन्टिनमा छन् । आज ९१ हजार ९३० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५८ लाख ३३ हजारर ९३८ जनाले पहिलो मात्रा र ५१ लाख ९८ हजार १९३ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् ।
यो पनि – दाङमा राष्ट्रिय जनगणनाको तयारी तीव्र
देउखुरी, २८ भदौ (रासस) : राष्ट्रिय जनगणनाका लागि पहिलो चरणमा घर तथा परिवारको सूचीकरणको तयारी गरिएको छ । दाङमा यसको यथार्थ विवरण सङ्कलनका लागि दुई चरणमा जनगणनाको काम सुरु गरिएको छ ।
यही जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणनाअन्तर्गत गणनाको समय निर्धारण गरिएको थियो । कोरोनाका कारण तोकिएको समयमा जनगणनाको काम शुरु हुन सकेन । सरकारले पुनःदेशभर एकैपटक जनगणना थालेअनुसार दाङमा पनि यसको थालनी गरिएको छ । जनगणना गर्दा पहिलो चरणमा हरेक घरपरिवारको विस्तृत विवरण सुपरिवेक्षकले गर्ने छन् । सुपरीवेक्षकले विभिन्न प्रश्न लेखिएको सूचीकरण फारम भर्नेछन् ।
राष्ट्रिय जनगणनानअन्तर्गत मूल गणनाको काम आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म गर्ने गरी समय तोकिएको छ । यही भदौ २७ र २८ गते यसअघि तालिम लिएकालाई तथा यही भदौ २९ र ३० गते नयाँ सुपरिवेक्षकका लागि तालिम सञ्चालन गर्न थालिएको जिल्ला जनगणना कार्यालयका प्रमुख तुलसीराम पोख्रेलले जानकारी दिनुभयो ।
“सरकारले राष्ट्रिय जनगणनाको नयाँ मिति तोकेअनुसार दाङमा पूरै तयारीका साथ अघि बढेका छाँै”, पोखरेलले भन्नुभयो, “पहिलो र दोस्रो चरण घर तथा परिवारको गणना हुन्छ, दास्रो चरणमा मूल गणनाको काम गरिनेछ ।” घर तथा परिवारको सूचीकरणका लागि घरायसी विवरणमा कति परिवार, जग्गा जमिन, कृषि, पशुपक्षीलगायतका प्रश्नको उत्तर माग्न सुपरीवेक्षक घरदैलामा जान थालेका छन् ।
दश वर्षअघि २०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्मा दाङको पाँच लाख ५२ हजार जनसङ्ख्या रहेको थियो । यस वर्ष थालिएको जनगणनामा छ लाख ६० हजार पुग्ने आकलन गरिएको छ । नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको थियो । हरेक १०÷१० वर्षमा जनगणनाको कामलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।
कक्षा १२ का परीक्षार्थीलाई खोप लगाउन सुरु
कक्षा १२ को परीक्षा दिने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्ला कोभिड–१९ खोप समन्वय समितिको बैठकले परीक्षा दिने नियमित तथा आंशिक विद्यार्थीलाई खोप दिने निर्णयानुसार सुरु गरेको हो ।
कारोनाका कारण लामो समयदेखि बन्द रहेका विद्यालय तथा क्याम्पस बिस्तारै खुल्न थालेका छन् । कक्षा १२ को परीक्षा भौतिकरुपमा सञ्चालन हुने भएपछि खोपको व्यवस्था गरिएको हो । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ दाङ र राष्ट्रिय परीक्षा बोर्ड दाङको समन्वयमा यही भदौ २७ र २८ गते एस्ट्रोजेनिका खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
दाङका १० वटै स्थानीय तहका कक्षा १२ का विद्यार्थीलाई खोप लगाउन शुरु गएिको हो । लमहीमा ९९९, घोराहीमा तीन हजार ८४६, तुलसीपुरमा तीन हजार ३८९, राप्ती गाउँपालिकामा ७११, बङ्गलाचुलीमा ५२, बबईमा १९१, दङ्गीशरणमा ८७, गढवामा ४५८, राजपुरमा १३३ र शान्तीनगरमा २९१ गरी जम्मा १० हजार १५७ जनालाई खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयका प्रमुख अङ्गतबहादुर शाहीले जानकारी दिनुभयो ।
घोराही उपमहानगरपालिका–१५ मा रहेको पद्मोदय नमूना मावि खोप केन्द्रमा आएका सम्पूर्ण विद्यार्थीले अनिवार्यरुपमा प्रवेश पत्र लिएर आएको सिनियर स्टाप नर्स राधा पौडेलले जानकारी दिनुभयो । यही भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ, त्यसैको तयारीमा सरकारले खोपको व्यवस्था गरेको हो ।
त्यस्तै यसअघि एस्ट्राजेनिक खोप लगाउन छुटेका लक्षित समूहलाई पनि दिइने भएको छ । साथै सोही खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको व्यवस्था गरिदिन सम्बन्धित निकायमा माग गर्नेसमेत निर्णय गरिएको छ ।



प्रतिक्रिया