नेपाली कांग्रेस (बीपी)को विशेष महाधिवेशन भदौ ३० देखि

नेपाली कांग्रेस (बीपी)को विशेष महाधिवेशन भदौ ३० देखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेस (बीपी)को विशेष महाधिवेशन यही भदौ ३० देखि काठमाडौँमा हुने भएको छ । नेपाली कांग्रेस (बीपी)ले आज पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक धारणा बनाउन विशेष महाधिवेशन गर्न लागेको जानकारी दिएको हो । सम्मेलनमा नेपाली कांग्रेस (बीपी)का सभापति हरिबोल भट्टराईले नेपाली कांग्रेस (बीपी) किन बनाउनुप¥यो ? यसको नीति, उद्देश्य, योजना र कार्यक्रम के के छन् ? सङ्गठनात्मक नीति तथा कार्यनीति कस्तो छ ? अन्य पार्टीसँग कस्ता मतभेद छन्लगायतका प्रश्नको उत्तर दिन भदौ ३० देखि असोज १ गतेसम्म विशेष महाधिवेशन गर्न लागिएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेस (बीपी)ले एमसिसी सम्झौता खारेज गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न, पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न, निर्मला हत्या काण्डलगायतका बलात्कारका घटनाका दोषीलाई कारबाही गर्न पत्रकार सम्मेलनमार्फत सरकारको ध्यानाकर्षणसमेत गरेको छ । पार्टीका महामन्त्री सुशीलमान शेरचनले बीपी कोइरालाद्वारा प्रतिपादित विचार पार्टीको विचार भएको भन्दै नेपाली कांग्रेस (बीपी)ले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई पार्टीको मूल सिद्धान्त मान्ने बताउनुभयो । उहाँले समावेशी सिद्धान्तको मर्मलाई पूर्णरूपमा आत्मसाथ गर्दै नेपाली कांग्रेस (बीपी) अगाडि बढ्ने स्पष्ट पार्नुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवद्र्धक जननायक बीपी कोइरालाका विचारलाई जनस्तरमा पु¥याएर समृद्ध समाज निर्माण गर्नका लागि विसं २०७२ भदौ २४ मा नेपाली कांग्रेस (बीपी)को स्थापना गरिएको थियो ।

यो पनि – सेनाको श्रमदानमा फड्के बनेपछि विद्यालय सञ्चालन

लामो समयदेखि थलिएको मनाङको शैक्षिक क्षेत्र खुल्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमण घट्दै गएसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङका शैक्षिक क्षेत्रमा कोभिडसँगै बाढीपहिराले क्षति पु¥याउँदा ठप्प भएको पठनपाठन आइतबारदेखि खुला भएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

दुई वर्षभन्दा बढी पठनपाठन रोकिएको मनाङको शिक्षा क्षेत्रमा बाढीपहिराले पनि क्षति पु¥याउँदा रोकिएको पढाई पुनः सञ्चालन भएको हो । मस्र्याङ्दी नदीमा असार १ र त्यसपछि आएको बाढीपहिराले भौतिक संरचना बगाएको थियो । अन्य भौतिक संरचनासहित सदरमुकाम चामेको लोकप्रिय माध्यमिक विद्यालयको पनि भवन एक चौथाइ भाग बगाएको थियो ।

विद्यालयको बाढीले बगाएको भागको संरक्षण र तटबन्ध गरिएपछि आइतबारदेखि खुलेको छ । नेपाली सेनाले विद्यालयसम्म आउजाउ गर्नका लागि फड्के बनाएपछि विद्यालय खुला गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णदास कोइरालाले जानकारी दिनुभयो । “विद्यार्थीलाई कसरी पढाउने भन्ने चिन्ता थियो । सेनाको श्रमदानमा फड्के र विद्यालयको नदीपट्टिको भागमा तारजाली लगाएर पर्खाल बनाइएपछि पठनपाठन सुरु गरेका छौँ”, प्रधानाध्यापक कोइरालाले भन्नुभयो ।

उहाँका अनुसार भौतिकरूपमा कक्षा सञ्चालन हुन नसकेपनि अर्धवार्षिक परीक्षा सकिएपछि वैशाख २० गतेदेखि विद्यालय पूर्णरूपमा बन्द थियो । आन्तरिक तथा बाह्य मूल्याङ्कनका आधारमा परीक्षाफल प्रकाशित गरिएको उहाँले बताउनुभयो  । गत वर्षको कोरोना सङ्क्रमणको जोखिम र वैशाख १६ पछिको निषेधाज्ञाले शैक्षिक क्षेत्र पूर्णरूपमा बन्द थिए । बाढीले विद्यालय भवन नै बगाएपछि विद्यालय सञ्चालन गर्ने अवस्थामा नै थिएन । “जसोतसो गरी आइतबारदेखि विद्यार्थीलाई विद्यालयमा बोलाइएको छ”, उहाँले भन्नुभयो, “नियमित कक्षा सञ्चालन भने असोज १ गतेदेखि हुनेछ ।”

बाढीले विद्यालयको कार्यालय, शिक्षक आवास, चार कक्षाकोठा, भोजन कक्ष (डाइनिङ हल) बगाएको थियो । मूल भवन मात्रै बाँकी रहेको थियो । खेल मैदान र विद्यालय आउने बाटोसमेत बाढीले बगाएको विद्यालयमा आइतबारदेखि विद्यार्थी आउन थालेका हुन् । नेपाली सेनाको श्रमदानमा विद्यालय आउजाउ गर्न काठको फड्के बनाउनुका साथै छेउछाउ तारबार लगाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पल्साङ लामाले बताउनुभयो । उहाँका अनुसार आइतबार नाम दर्ता गरी हाजिर थालिएको र विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको छ ।

बाढीपहिराका कारण सडक सबै क्षतिग्रस्त भएपछि बेँसीशहरबाट हेलिकप्टरमार्फत पाठ्यपुस्तक ल्याइएको थियो । “विद्यालयका शिक्षकको एन्टिजेन विधिबाट कोरोना सङ्क्रमण परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि पठनपाठनमा सहभागी गराएका छौँ । मास्क र सेनिटाइजरको पूर्ण पालना गरिएको छ, समय समयमा विद्यालयमा सरकारले तोेकेको स्वास्थ्य सुरक्षाको पालना गरिएको छ कि छैन भन्ने विषयमा अनुगमन पनि गर्नेछौँ”, उहाँले भन्नुभयो । नर्सरीदेखि कक्षा १० सम्मका करिब ६५ विद्यार्थी पहिलो दिन विद्यालयमा उपस्थित भएको उहाँले बताउनुभयो । एघार कक्षाको पठनपाठनका लागि भर्ना थालिएको छ । बाह्र कक्षाको परीक्षा तयारीमा रहेको छ ।

चामे गाउँपालिका–१ तिमाङको गौरीशङ्कर आधारभूत विद्यालयमा पनि पठनपाठन थालिएको छ । उक्त विद्यालय भने बाढीपहिराको जोखिममा परेको थिएन । शिक्षा विकास तथा समन्वय एकाइ मनाङका प्रमुख नारायण रेग्मीले जिल्लाका शैक्षिक संस्थाहरु असोज १ गतेदेसख पूर्णरूपमा खुल्ने जानकारी दिनुभयो । चामे गाउँपालिकाभित्रका विद्यालय खुल्न थालेको र अन्य गाउँपालिकाका विद्यालय पनि छिट्टै खुल्ने उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले असोज १ गतेदेखि भौतिकरूपमा कक्षा सञ्चालन गर्न आदेश दिइएको बताउनुभयो ।

विद्यार्थी कम हुनुका साथै कोरोना जोखिम पनि घट्दै गएकाले आइतबारदेखि विद्यालय सञ्चालनको अनुमति दिइएको लामिछानेले बताउनुभयो । मनाङमा कक्षा १२ सम्मका दुईसहित चार माध्यमिक विद्यालय, कक्षा एकदेखि पाँच र एकदेखि आठसम्मका १० वटा आधारभूत विद्यालय र एकदेखि पाँच कक्षासम्मका १२ विद्यालय गरी जिल्लामा २६ वटा विद्यालय रहेका छन् ।