बैतडीका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

बैतडीका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देशका अन्य जिल्लामा जस्तै बैतडीमा पनि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । यहाँ कक्षा १२ मा तीन हजार ६५५ विद्यार्थी छन् । सहभागी सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । सरकारको निर्णयअनुसार नै कक्षा १२ को परीक्षा दिने परीक्षार्थीहरूलाई यसअघि नै खोप दिइएको हो ।

परीक्षामा सहभागी हुने विद्यार्थीलाई एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । बैतडीमा ६२ वटा परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको पनि प्रमुख अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमणको जोखिमका कारण यसपालि होम सेन्टरमै परीक्षा सञ्चालन भइरहेका छन् ।”

परीक्षा केन्द्रमा स्यानिटाइजर र मास्कको अनिवार्य व्यवस्था गरिएको छ । त्यस्तै परीक्षार्थीबीच भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन भइरहेको छ ।  स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका १० वटै स्थानीय तहमा कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीका लागि तीन हजार सात सय डोज खोप पठाएको थियो ।

यो पनि – ताप्लेजुङमा कोरोना सङ्क्रमण दरमा कमी

पछिल्लो समय जिल्लामा कोभिड– १९ सङ्क्रमण दर घट्दै गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमित १०० भन्दा कम छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन् । कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा र जनस्वास्थ्य मापदण्डका कारण सङ्क्रमणको दर घट्दै गएको उहाँको भनाइ छ ।

मङ्गलबारसम्म जिल्लाभर पिसिआर र एन्टिजेन परीक्षणबाट दुई हजार ४८७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने निको हुनेको सङ्ख्या दुई हजार ३०० बढी छन् । यसैगरी जिल्लाभर ३४ हजार ८१५ ले कोभिड विरुद्धको पूर्ण खोप लगाइसकेका छन् भने पहिलो डोज मात्र लगाउनेको सङ्ख्या ३८ हजार ६७४ पुगेको छ । अहिले पनि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम जारी छ । सङ्क्रमणको दर घटेसँगै गएको सोमबारदेखि निषेधाज्ञा हटाइएको छ । यस्तै पाथीभरा मन्दिरलाईसमेत खुलाइने तयारी भएको छ । तत्काल बैठक बसी दर्शनार्थीका लागि मन्दिर खुला गर्ने तयारी भएको प्रजिअ पाण्डेको भनाइ छ ।

यो पनि -आज देशभर चट्याङसहित वर्षाको सम्भावना

देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औषत स्थानभन्दा दक्षिणतर्फ रेहकाले मेघगर्जन र चट्याङसहित वर्षाकोे सम्भावना रहेको छ ।

विभागका मौसमविद् गङ्गा नगरकोटीले उक्त प्रणालीको प्रभावका कारण अबका तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव आठ डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।