मानव बेचबिखन नियन्त्रणमा सहयोग पु¥याउने पुरस्कृत

मानव बेचबिखन नियन्त्रणमा सहयोग पु¥याउने पुरस्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सहयोग पु¥याउने सात संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । मन्त्रालयले आज यहाँ मावन बेचबिखनविरुद्धको १५औँ राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सो कार्यका लागि विभिन्न क्षेत्रबाट योगदान गर्नेलाई पुरस्कृत गरेको हो । यस वर्ष पुरस्कार प्राप्त गर्नेमा श्रीराम थापा प्रहरी निरीक्षक प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौँ, कर्णाली प्रदेशबाट कान्तिपुर दैनिकमा काम गर्ने ज्योति कटुवाल, कुमार यात्रु, इन्डिजिनियस टेलिभिजन काठमाडौँ, माया तामाङ र शक्ति समूह काठमाडौँ रहनुभएको छ ।

त्यसैगरी सन्दीप पौडेल उपसम्पादक हिमालय टाइम्स दैनिक, अजयबाबु शिवाकोटी हाम्रा कुरा डटकम र पौरखी नेपालबाट मञ्जु गुरुङलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ । कोरोना महामारीका कारण गत आर्थिक वर्षमा पुरस्कर वितरण गर्न नपाएकाले मन्त्रालयले गत वर्ष पुरस्कारका लागि छनोट भएकालाई पनि आज नै वितरण गरेको हो । गत आवमा सोही कार्यमा सहयोग गरी पुरस्कार पाउने व्यक्ति वा संस्थामा शोभा पाण्डे प्रहरी निरीक्षक प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौँ, धनकुटाको पत्रकार स्मिता निरौला, निर्मला पौडेल शक्ति समूह बाँके, पवित्रा ढकाल शाखा अधिकृत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट रहनुभएको छ ।

त्यस्तै दुर्गा सिंह प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौँ, सञ्जु निरौला पाण्डे रुपन्देही र तारा भण्डारी विश्वास नेपाल काठमाडौँलाई जनही रु १० हजारसहित पुरस्कृत गरिएको हो । उक्त पुस्कार मन्त्रालयले हरेक वर्ष सात व्यक्ति वा संस्थालाई प्रदान गर्दै आएको छ ।

मन्त्रालयका सचिव यमकुमारी खतिवडाले मानव बेचबिखन नियन्त्रणका लागि केन्द्र सरकार मात्रै नभई स्थानीय सरकार थप जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले मानव बेचबिखनरहित देश घोषणा गर्न सम्बन्ध भएका सबै निकाय प्रतिबद्ध भएर न्यूनीकरणका लागि सक्रिय हुनुपर्ने बताउनुभयो ।

पुरस्कृत पत्रकार अजयबाबु शिवाकोटीले वैदेशिक रोजगारीको बहानामा मानव बेचबिखन बढिरहेकाले अब सञ्चार जगत्को ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सहभागीले मनोरञ्जको क्षेत्रमा लागेका युवायुवती बेचबिखनको बढी जोखिममा रहेकाले त्यसतर्फ सबैको ध्यान पुग्नुपर्ने बताएका थिए ।