एमालेको टिप्पणी : खर्च व्यवस्थापनमा समस्या आउनुमा सरकार जिम्मेवार

एमालेको टिप्पणी : खर्च व्यवस्थापनमा समस्या आउनुमा सरकार जिम्मेवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) ले मुलुकमा बजेटको रिक्तता भई राज्यको खर्च व्यवस्थापनमा समस्या उत्पन्न हुनुमा सरकार जिम्मेवार भएको टिप्पणी गरेको छ । संवैधानिक र कानूनी व्यवस्थाअनुरूप बजेट अध्यादेशलाई संसद्मा प्रस्तुत गरी पारित नगरेर सरकारले अघिल्लो सरकारमाथि पूर्वाग्रह राखेकाले समस्या उत्पन्न भएको एमालेका महासचिव ईश्वर पोखरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा यस्तो अवस्था आउनुमा सभामुख र सरकारको व्यवहार भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षको माग पूरा गरेर सदन चलाउन आग्रह गरिएको छ ।

यो पनि – प्रदेश नं १ को मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री थप

प्रदेश नं १ को सरकारको मन्त्रिमण्डल आज यहाँ विस्तार गरिएको छ । विस्तारित गरिएको मन्त्रिमण्डलमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरिएको छ । नवनियुक्त मन्त्रीमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा हिराकुमार थापा हुनुहुन्छ । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्ति गरिएको छ ।

प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासीले आज साँझ मुख्यमन्त्री भीमप्रसाद आचार्यको सिफारिसमा नियुक्त मन्त्री न्यौपाने र थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रदेश प्रमुख अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार शपथ गराउनुभएको हो । यसैगरी मुख्यमन्त्री आचार्यले राज्यमन्त्री बस्नेत, राजवंशी र अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । समारोहमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका सचिव, उच्चपदस्थ कर्मचार तथा सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

यो पनि- १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा

गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो । उहाँका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ ।

गुल्मीका प्रजिअ रुद्रादेवी शर्मालाई भक्तपुर ल्याइएको छ भने मन्त्रालका सहसचिव पुण्यविक्रम पौडेललाई गुल्मीको प्रजिअमा पठाइएको छ । गृहका सहसचिव शङ्करहरि आचार्यलाई गोरखाको प्रजिअमा र सहसचिव काशीराज दाहाललाई मोरङ लगिएको छ भने मोरङका प्रजिअ कोशहरि निरौलालाई गृहमा ल्याइएको छ । गृहका अर्का सहसचिव दीपककुमार पहाडीलाई रामेछाप तथा नुरहरि खतिवडालाई सङ्खुवासभाको प्रजिअमा पठाइएको छ ।

सङ्खुवासभाका प्रजिअ टेकनारायण पौडेललार्ई गृह मन्त्रालयमा ल्याइएको छ । गृहका सहसचिव टेकराज निरौलालाई दोलखा पठाइएको छ भने दोलखाका प्रजिअ वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ । रुपन्देहीका आस्मान तामाङलाई चितवनको प्रजिअमा खटाइएको छ भने गृहका सहसचिव कृष्णप्रसाद लम्साललाई धादिङको प्रजिअ बनाइएको छ । मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार यादवलाई उदयपुर र अर्का सहसचिव ऋषिराम तिवारीलाई रुपन्देही पठाइएको छ ।

यो पनि – तीन किलो सुनको गहनासहित दुई जना पक्राउ

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलोग्राम ३६० ग्राम सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँबाट विराटनगर जान लागेको श्री एयरलाइन्सको उडान चेकजाँचका क्रममा उक्त गरगहनासहित कैलाली वदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका–२ का ४७ वर्षीय मुरारीराज अधिकारीलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

भण्डारी र अधिकारीको ब्याग एक्सरे मेसिनमा चेक गर्ने क्रममा रु दुई करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले भण्डारीको साथबाट २२ क्यारेटको ५१५ ग्राम सुनका विभिन्न गहना र अधिकारीको साथबाट २४ क्यारेटको ५९७ ग्राम, २२ क्यारेटको एक हजार ५५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६९६ ग्राम सुनका विभिन्न गहना बरामद गरेको छ । पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि ललितपुरस्थित राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि – पछिल्लो २४ घण्टामा थप १७६० जनामा कोरोना संक्रमित,१२२० जना कोरोना संक्रमणमुक्त

काठमाडौं,३०भदौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  १२,५२४ पीसीआर र ४३२०  एन्टीजेन परीक्षणमा १७६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै हालसम्म नेपालमा पिसीआरबाट कोरोना संक्रमण पुष्टि भएकाको संख्या ७ लाख ८० हजार ८२४ पुगेको छ । भने एन्टीजेन पोजिटिभ भएका ८७ हजार ८२४ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार २२० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ७ लाख ४३ हजार ५२६ पुगेको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यो पनि – भारतमा थप २७ हजार कोरोना सङ्क्रमित

३० भदौ (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका छन् ।पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएको यो चौथो दिन हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण २८४ जनाको मृत्यु भएको छ ।

कुल सङ्क्रमित मध्ये १५ हजार ८७६ जना केरला प्रदेशका मात्रै रहेका छन् । त्यसैगरी केरलामा मृत्यु भएकाहरुको सङ्ख्या १२९ रहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म देशभर कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३३ लाख १६ हजार ७५५ रहेको छ । ती मध्ये तीन करोड २५ लाख २२ हजार १७१ जना सङ्क्रमणमुक्त भएका छन् ।

यो पनि – ताप्लेजुङमा कोरोना सङ्क्रमण दरमा कमी

पछिल्लो समय जिल्लामा कोभिड– १९ सङ्क्रमण दर घट्दै गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमित १०० भन्दा कम छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पछिल्ला दिनमा सङ्क्रमित हुने भन्दा निको हुनेको सङ्ख्या धेरै छन् । कोरोना विरुद्धको खोप, लामो समयसम्म जारी गरिएको निषेधाज्ञा र जनस्वास्थ्य मापदण्डका कारण सङ्क्रमणको दर घट्दै गएको उहाँको भनाइ छ ।

मङ्गलबारसम्म जिल्लाभर पिसिआर र एन्टिजेन परीक्षणबाट दुई हजार ४८७ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने निको हुनेको सङ्ख्या दुई हजार ३०० बढी छन् । यसैगरी जिल्लाभर ३४ हजार ८१५ ले कोभिड विरुद्धको पूर्ण खोप लगाइसकेका छन् भने पहिलो डोज मात्र लगाउनेको सङ्ख्या ३८ हजार ६७४ पुगेको छ । अहिले पनि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाउने कार्यक्रम जारी छ । सङ्क्रमणको दर घटेसँगै गएको सोमबारदेखि निषेधाज्ञा हटाइएको छ । यस्तै पाथीभरा मन्दिरलाईसमेत खुलाइने तयारी भएको छ । तत्काल बैठक बसी दर्शनार्थीका लागि मन्दिर खुला गर्ने तयारी भएको प्रजिअ पाण्डेको भनाइ छ ।

यो पनि -आज देशभर चट्याङसहित वर्षाको सम्भावना

देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै मनसुन न्यूनचापीय रेखा औषत स्थानभन्दा दक्षिणतर्फ रेहकाले मेघगर्जन र चट्याङसहित वर्षाकोे सम्भावना रहेको छ ।

विभागका मौसमविद् गङ्गा नगरकोटीले उक्त प्रणालीको प्रभावका कारण अबका तीन दिन देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो । हाल देशभर सामान्यदेखि पूर्ण बदलीसहित प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव आठ डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।