पर्यटक कुँर्दैछन्ः सहस्राब्दी पदमार्गका व्यवसायी

पर्यटक कुँर्दैछन्ः सहस्राब्दी पदमार्गका व्यवसायी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, ३१ भदौ (रासस) ः कोरोना भाइरस सङ्क्रमणका कारण लामो समयदेखि ठप्प बनेका पर्यटकीयस्थल खुल्दै जान थालेसँगै तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रस्थित सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)का व्यवसायी यतिखेर पर्यटकको स्वागतका लागि जुटिसकेका छन् ।

असोजको पहिलो सातादेखि पर्यटक भित्र्याउने लक्ष्यका साथ पदमार्गमा क्षेत्रमा रहेका १७ वटा घरबास (होमस्टे)का सञ्चालकलाई यतिखेर सरसफाइ एवं पूर्वाधारलाई व्यवस्थित गर्न भ्याइनभ्याइ छ । लामो समयदेखि कोरोनाका कारण प्रभावित यस क्षेत्रको पदयात्रा आगामी दिनमा बढ्ने विश्वास पलाएको मिलेनियम ट्रेक व्यस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो ।

पदमार्गको ढोर मूलकोट दरबारदेखि नै हिमाली एवं पहाडी दृश्यलाई नियाल्दै पदयात्रा गर्न पाइने यो पदमार्ग ७२ किलोमिटर दूरीको छ । सन् २००० बाट खुलेका कारण मिलेनियम (सहस्राब्दी) पदमार्ग नामकरण गरिएको यस पदमार्गले तनहुँको शुक्लागण्डकी नगरपालिका, स्याङ्जाका पुतलीबजार नगरपालिका, बिरुवा गाउँपालिका, भीरकोट नगरपालिका र वालिङ नगरपालिकालाई जोड्छ ।

बालकदेखि बृद्धसम्म जो कोहीले पदयात्रा गर्न सर्न सक्ने यो पदमार्ग पार गर्न कूल ६ रात ७ दिन समय छुट्याउनुपर्छ । पदमार्गको ढोरमूलकोट, कोल्माकोट, भैंसेगौंडा, गहते मनकामना, फारथुँ, बुढाकोटलगायत स्थानबाट एकसाथ धवलागिरि, अन्नपूर्ण हिमशृङ्खला, माछापुछ्रे, लमजुङ हिमाल, गणेश हिमाल, मनास्लु हिमालको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ यस क्षेत्रमा प्रचलित मगर समुदायको सोरठी, यानीमाया, गुरुङ समुदायको घाटु, ब्राम्ह्ण, क्षेत्रीको बालनलगायत संस्कृतिको संरक्षणलाई पनि यहाँको गुरुयोजनामा समेटिएको छ ।

अघिल्लो वर्ष पनि कोरोनाका कारण लामो समय प्रभावित बनेको पदमार्ग यस वर्ष समेत चैत यता सञ्चालनमा आउन सकेको थिएन । पदमार्ग सञ्चालनमा नआए पनि कोरोना महामारीका बाबजुद स्वास्थ्यमापदण्ड प्रति सचेत बन्दै पूर्वाधार विकासका कामलाई भने अघि बढाइएको महासचिव गुरुङले जानकारी दिनुभयो । “अघिल्लो वर्ष पनि कोरोना कहरका बीच पदमार्ग क्षेत्रका मिलेनियम गुफा, ढोर मूलकोट दरबार, भीरकोट कालिका दरबार, गहते मनकामनालगायत स्थानमा पूर्वाधार विकासका काम अघि बढाएका थियौं”, उहाँले भन्नुभयो ।

यस वर्ष पनि पदमार्ग क्षेत्रको शुक्ला गण्डकी नगरपालिका–११ राइपुरस्थित जन्ते ढुङ्गा क्षेत्रमा गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको रु तीन लाख ५० हजारको सहयोगमा तारबार गरिएको उहाँले जानकारी दिनुभयो । पदमार्ग क्षेत्रकै पुतलीबजार नगरपालिका–१२ पेल्काचौरको गैरी स्वाँहारादेखि केघा देउरालीसम्म ४२० मिटर पैदलमार्ग व्यवस्थित गरिएको उहाँको भनाइ छ । देशका अन्य पर्यटकीय गन्तव्य खुलेसँगै आगामी असोज १ गतेदेखि सहस्राव्दी पदमार्ग पनि पर्यटका लागि खुला गरिएको उहाँले जानकारी दिनुभयो । “पदमार्ग क्षेत्रमा रहेका १७ वटै होमस्टेका सञ्चालक यतिखेर पर्यटकको पर्खाइमा छन्”, उहाँले भन्नुभयो, “मध्यपहाडी क्षेत्रमा पदयात्रा गर्नुको आफ्नै विशिष्ट मौलिकता रहेका कारण पनि पछिल्ला समयमा यस पदयात्रा मार्गमा पर्यटकको चासो बढ्दै गएको छ ।”

पहाडी तथा हिमाली दृश्य नियाल्नुका साथै नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर पदयात्राका क्रममा ठाउँ ठाउँमा देख्न पाइनु यहाँको विशष्टिता हो । पदयात्रासँगै पर्यापर्यटनमा रुचि राख्नेका लागि पनि सहस्राव्दी पदमार्ग पुग्नै पर्ने गन्तव्य रहेको प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यले बताउनुभयो । उहाँका अनुसार पदयात्राका क्रममा यस क्षेत्रमा विभिन्न जातका पुतली, चराचुरुङ्गीका साथै स्तनधारी प्राणीहरु प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । पदमार्गअन्तर्गत पुतलीबजार नगरपालिका–२ को राङभाङ—भैँसेगौंडामा प्रकृतिका साथीहरू संस्थाको आयोजनामा अघिल्लो वर्ष वन्यजन्तु अनुसन्धान विधि तालिम सम्पन्न भएको थियो । विभिन्न जिल्लाका १३ जना सहभागीले उन्नाइस दिने तालिमका क्रममा जङ्गलमा रहेका चरा, पुतली एवम् स्तनधारी प्राणीको पहिचान र त्यसको अनुसन्धान विधि बारे जानकारी लिएका थिए ।

यस वर्ष पनि प्रकृतिका साथीहरूको प्राविधिक सहयोगमा राङभाङ—भैंसेगौंडा क्षेत्रमा पुतली, चरा तथा स्तनधारी प्राणीको गणना गर्ने गरी कार्यक्रम अघि बढाउन लागिएको मिलेनियम भैसे गौडा सामूदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिनुभयो । एक अध्ययन अनुसार राङभाङ–भैंसेगौंडा क्षेत्रमा मात्रै ११५ प्रजातिका चरा भेटिएका छन् भने समग्र सहस्राव्दी पदमार्ग क्षेत्रमा १३७ प्रजातिका चरा पाइएका छन् । सहस्राव्दी पदमार्गको ५२ किलोमिटर बन क्षेत्रले समेटिएको छ ।

आगामी दिनमा आउन सक्ने पर्यटकलाई लक्षित गरी होमस्टेका सञ्चालकले पनि तयारी थालिसकेको बताउँदै उहाँले आफूहरू आगामी दिनमा कोरोना भाइरस सङ्क्रमण हटेर यस क्षेत्रको पर्यटन चलायमान बन्ने विश्वासमा रहेको बताउनुभयो । “कोरोना भाइरस सङ्क्रमणका कारण आन्तरिक पर्यटनको विकास अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो, “लामो समयको बन्दाबन्दीका कारण घरमा नै बन्दी भएर बस्नुपरेका व्यक्तिहरू आफ्नो परिवार सहित ढुक्कसँग यस पदमार्गमा पदयात्रा गर्न सक्दछन् ।”