काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटनामा तीनको मृत्यु, एक घाइते

काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटनामा तीनको मृत्यु, एक घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौँबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर३–०१–०२३च ३५१३ सामान बोक्ने बोलेर दुर्घटना हुँदा चालक लाक्पा शेर्पासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मन्थली नगरपालिका–१ कुनौरी, बोक्सेको भिरमा भएको दुर्घटनामा जिपचालक ओखलढुङ्गाको खिजदेम्बा गाउँपालिका–६ का लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र सवारी धनी वाङसेन शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुर्घटनामा एक बालक गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा १२ वर्षीय पेम्बा शेर्पा रहेका छन् । बोलेरो खुर्कोट–मन्थली सडकखण्डको हात्तीटार (बोक्से) भिरबाट तामाकोशी नदीमा खसेको थियो ।

यो पनि – ट्रक दुर्घटना हुदा वडा सदस्यको मृत्यु

गएराति त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं १ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ । पालुङबाट काठमाडौँका लागि तरकारी बोकेर जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ः५५ बजे थाँक्रे गाउँपालिका–८ स्थित सडकबाट करिब ७० मिटर तल उक्त खोलामा खसेर दुर्घटना भएको खानीखोला इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिनुभयो । ट्रक खस्न लागेपछि त्यहाँबाट हामफाल्ने क्रममा उहाँको घटनास्थलमै मृत्यु भएको र चालक प्रमोद अर्याल भने हाम फालेर ज्यान जोगाउन सफल भएको उहाँको भनाइ थियो ।

यो पनि -सवारी दुर्घटनामा घाइतेको समीट एयरको विमानमार्फत उद्धार

दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन् । घाइते जोशीको अवस्था गम्भीर रहेकाले समीट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । जोशीको टाउकामा गम्भीर चोट लागेको छ । स्थलमार्गबाट उपचारका लागि लैजान ढिलाइ हुने भएकाले विमान चार्टर गरिएको हो ।

राजमार्गअन्तर्गत पाटन–६ बेडौतीमा बुधबार से१ज ६३४ नम्बरको जिप र भे७प ४३४५ मोटरसाइकल एकापसमा ठोक्किदा तीन जना घाइते भएका थिए । मोटरसाइकल चालक उद्धवसहित उहाँसँगै सवार पाटन–६ का ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन–१ का २३ वर्षीय ज्ञानेन्द्र भट्टराई घाइते हुनुभएको छ ।

यो पनि – पाँच किलो चाँदीसहित दुई पक्राउ

लहान, ३१ भदौ (रासस) : ठुलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित दुवै जनालाई गरिएको हो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

बोक्सी भन्दै महिलामाथि कुटपिट, एक पक्राउ

बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ । स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा ४५ वर्षीय लखन साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगत दुई सातादेखि बिरामी आफ्ना नातिनीको उपचार गराउँदा पनि निको नभएको झोकमा साहले छिमेकी ती महिलालाई बोक्सी भन्दै कुटपीट गरेको सुचनाका आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।

ती महिलाले नै टुनामुना गरेको आफ्नो नातिनीलाई बिरामी बनाएको भन्दै महिलामाथि कुटपिट गरेकाले साहलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यो पनि – हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाडौँ, ३१ भदौ (रासस) : नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा शुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९)मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने उक्त जीवनदायी मेसिन राखिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । अब हिमालयका जहाजमा यात्रा गर्दा विगतभन्दा निकै सुरक्षित, विश्वसनीय र आरामदायी हुनेछ । अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुनलाग्दा त्यसलाई रोकी हृदयगति सञ्चालन राख्न मद्दत गर्दछ ।

यो मेसिन राख्ने एयरलाइन्सको जहाज नेपालकै पहिलो र एक मात्र भएको कम्पनीले बताएको छ । यस कार्यबाट आकाशमा जहाज उडिरहँदा भवितब्यवश यदि कुनै यात्रुमा श्वास–प्रश्वास बन्द हुने वा हृदयगति बन्द हुने जटिल समस्या आइपरेमा त्यस्ता बिरामीको निदान गरी ज्यानै जान लागेका व्यक्तिलाई बचाउने कार्य गर्दछ ।

यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मेसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दवाव दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बिरामीको जीवन बच्न सक्छ । विगत केही सातादेखि एयरललाइन्सका सबै उडान कर्मचारीलाई उक्त जीवनदायी मेसिनको प्रयोगबारे अभिमुखिकरणसमेत गरिएको विज्ञप्तिमा जनाइएको छ ।

एयरलाइन्सले यस्ता मेसिन आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ग्राउण्ड ह्याण्डलिङ कार्यालयमा समेत जडान गरी आफ्ना सम्पूर्ण कर्मचारीको स्वास्थ्य–सुरक्षाको समेत प्रत्याभूति गराएको छ । एयरलाइन्सले आफ्ना ग्राउण्डका सबै कर्मचारीलाई समेत सो डफिब्रिलेटरको प्रयोगबारे बृहत तालिम दिएको छ ।