‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ कार्यक्रमको शुभारम्भ

‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ कार्यक्रमको शुभारम्भ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महालक्ष्मी नगरपालिकाले ३१आँै अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ‘बा आमाको सेवा, स्वास्थ्य उपचारमा टेवा’ नामक कार्यक्रमको शुभारम्भ गरेको छ । नगर प्रमुख रामेश्वर श्रेष्ठले बिहीबार सो सेवासहित ज्येष्ठ नागरिकलाई खादा र कम्बल ओढाएर सम्मान गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईँहरु समाजका उदाहरणीय अङ्ग हुनुभएकाले सबै उच्च सम्मानका साथ कदर गर्दै अघि बढ्नेछाँै ।” नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर प्रत्येक महिनाको एकपटक रक्तचाप, मधुमेह तथा नाडीको गति र अक्सिजनको मात्रा आदिजस्ता स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

उपप्रमुख निर्मला थापाले ज्येष्ठ नागरिक राष्ट्रका गहना भएकाले सम्हाल्दै अघि बढ्ने बताउनुभयो । कार्यक्रममा सहभागी जेष्ठ नागरिकमध्ये सबैभन्दा ज्येष्ठ हेमकुमारी विष्टसहित अन्य ३९ लाई सम्मान गरी सबैको स्वास्थ्य परीक्षणसहित औषधिसमेत वितरण गरिएको थियो । ‘स्वच्छ, सफा, समृद्ध सुन्दर– महालक्ष्मी नगर’ भन्ने नाराका साथ नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सो कामलाई छिट्टै अघि बढाउने प्रतिबद्धताअनुरुप थालनी गरेको हो । श्रेष्ठले नगरसभामार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सबै सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स घुम्ती सेवालाई निरन्तरता’, वडा नं ८ लुभु प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पतालमा स्तरोन्नतिका लागि व्यवस्था तथा वडा नं ९ लामाटारमा ५० शय्याको सरुवा रोग अस्पताल स्थापनाका लागि पहल गर्नाका साथै वातावरण प्रदूषण गर्ने उद्योगको स्थापना एवं सञ्चालनमा रोक र हरेक घरमा हरियाली तथा पोषण प्रवद्र्धन गरिने बताउनुभयो ।

नगरपालिकामा सामाजिक सुरक्षा भत्ता खाने कूल दुई हजार २१० नागरिक रहनाका साथै निवृत्तिभरणको सेवा तथा सुविधासमेत लिने गरी करिब तीन हजार ज्येष्ठ नागरिक रहँदा मात्र ७० वर्ष कटेकाले महिनाको एकपटक निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउने जानकारी गराइएको छ । उक्त कार्यक्रममा प्रमुख श्रेष्ठ अनि उपप्रमुख थापासहित प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेल तथा केही वडाध्यक्ष र नगरपालिकाका स्वास्थ्यकर्मीसहित कर्मचारीको पनि उपस्थिति थियो ।

यो पनि – जिपी कोइराला अस्पतालमा हर्नियाको सफल शल्यक्रिया

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा हर्नियाको सफल शल्यक्रिया गरिएको छ । स्थानीय ७४ वर्षीय पुरुषको दायाँ साइडको हर्नियाको उपचार केन्द्रका चिकित्सकले सफल शल्यक्रिया गरेका हुन् । केन्द्रले पहिलोपटक हर्नियाको शल्यक्रिया गरेको सर्जन डा परिवर्तन बरालले जानकारी दिनुभयो । डा बराल र एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरेले डेढ घण्टाको समयमा ती पुरुषको शल्यक्रिया गर्नुभएको हो । ढाडमा सुई लगाई लठ्याएर शल्यक्रिया गरिएको छ ।

दायाँ साइडको हर्नियाका कारण ती पुरुषको अण्डकोष फुलिएको थियो । पोखरास्थित गण्डकी अस्पतालमा शल्यक्रियाका लागि कात्तिकमा समय लिएका उहाँले जिपीमा नै शल्यक्रिया गराउनुभएको हो । “हर्नियाको शल्यक्रियाका लागि पोखरा वा अन्यत्र जानुपथ्र्यो, अब सर्वसाधारणलाई सहज हुन्छ”, डा बरालले भन्नुभयो ।सो अस्पतालले यसअघि भदौ पहिलो साता मलद्वार फाटेका बिरामीको सफल शल्यक्रिया गरेको थियो । उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले हर्निया र मलद्वार फाटेको शल्यक्रियालाई निरन्तरता दिइने जानकारी दिनुभयो । उपचार केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभूषण ताम्राकारबाट हाडजोर्नीको शल्यक्रिया नियमितरूपमा भइरहेको जनाइएको छ ।

अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा बिहान १० देखि अपराह्न ४ बजेसम्म ओपिडी सेवा, चौबीसै घण्टा आकस्मिक सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर शल्यक्रियालगायत सेवा दिइरहेको छ ।