हुम्लाको सदरमुकाम सिमकोटमा हेलिकप्टरबाट इन्धन ढुवानी

हुम्लाको सदरमुकाम सिमकोटमा हेलिकप्टरबाट इन्धन ढुवानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा यहाँका व्यवसायीहरुले हेलिकप्टरमार्फत महँगो भाडा तिरेर ढुवानी गरिरहेका छन् । पैदल मार्गबाट खच्चडमा नआउने र सिमकोट बजारमा नपाइने भएपछि यहाँका व्यवसायीहरुले महँगोमा हेलिकप्टरमार्फत इन्धन ढुवानी गर्न बाध्य भएका हुन् ।

माथिल्लो हुम्लाका तीनवटा गाउँपालिकामा विकास निर्माणका काम गर्न र यातायात सञ्चालन गर्न इन्धनको अभाव देखिएपछि हेलिकप्टरबाटै ओसार्न थालिएको निर्माण व्यवसायी गणेश महतले बताउनुभयो । हुम्लासँग जोडिएको छिमेकी जिल्ला मुगुबाट हेलिकप्टरमार्फत ढुवानी भइरहेको उहाँले बताउनुभयो । मुगुको ताल्चा विमानस्थलबाट हेलिकप्टरमा प्रतिलिटर रु २५५ तिरेर ढुवानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि पैदल मार्गबाट खच्चडमा ढुवानी भएर आएको इन्धनको मूल्य प्रतिलिटर रु २१० देखि २२० सम्म खरिद गर्न पाइने भए पनि मौसम तथा ढुवानी गर्ने खच्चड नपाउने समस्याका कारण महँगो भए पनि हेलिकप्टरबाट ढुवानी गर्न थालेका हुन् । जिल्लाका सबै निर्माण तथा यातायात व्यवसायी मिलेर ८० ब्यारेल इन्धन ढुवानी गरेका छन् । सिम्रिक एअरको हेलिकप्टरले एक उडानमा चार ब्यारेलसम्म बोक्न सक्ने हुँदा बीस उडान ताल्चाबाट सिमकोट भएको हो । त्यसपछि पनि अरू ८० ब्यारेल इन्धन ल्याउने तयारी भइरहेको व्यवसायीले बताएका छन् ।

काम समयमै सञ्चालन गर्न र भएका यातायातका साधन सञ्चालनमा राख्न हेलिकप्टरले भनेकै भाडादरमा ढुवानी गर्नु परेको व्यवसायीको भनाइ छ । सुर्खेतमा खरिद गरेको इन्धन मुगुको ताल्चा विमानस्थसम्म गाडीमा ढुवानी हुने गरेको छ ।

यो पनि – म्याद गुुज्रेका सामान बेच्ने छ व्यापारीमाथि कारबाही

म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र सिरहाका एक व्यापारीमाथि कारबाही गरिएको हो ।

अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका सामान बरामद गरिएको र मूल्यसूचीसमेत नराखिएको पाइएपछि सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित अमेश्वर किराना पसल, दीपा किराना पसल र आशाराम पाउरोटी उद्योगमाथि कारबाहीस्वरुप रु १०÷१० हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो ।

अमेश्वर किराना पसलबाट म्याद गुज्रेको आटा २० किलो, परमात्मा तेल पाँच लिटर र सोयाविन १८ प्याकेट, दीपा किराना पसलबाट वियर ११ बोतल, रेडबुल १८ क्यान तथा आशाराम पाउरोटी उद्योगबाट लेबल नभएको १५० प्याकेट वनकुकिज पाउरोटी जफत गरी नष्ट गरेको प्रमुख सिंहले बताउनुभयो । त्यस्तै सप्तकोशी–१ स्थित श्रीकृष्ण होटलबाट छ बोतल र गुप्ता किराना पसलबाट सात बोतल म्याद गुज्रेको वियर नियन्त्रणमा लिई नष्ट पारेको जनाइएको छ ।

सप्तरीको खडक नगरपालिका–७ स्थित कल्याणपुर बजारका अनिल ट्रेडर्स एण्ड खरिद बिक्री पसललाई रु पाँच हजार तथा शिव किराना ट्रेडर्सलाई रु २० हजार जरिवानासमेत गरिएको छ । अनिल ट्रेडर्सबाट म्याद गुज्रेका खानेतेल, मसाला, ग्लुकोज, पानमसाला लगायतका सामग्री बरामद गरिएको थियो । यस्तै शिव किराना पसलबाट म्याद गुज्रेका वियर, चिसो पेयपदार्थ, मसाला, ग्लुकोज, भुजियालगायतका सामग्री बरामद गरिएको प्रमुख सिंहले बताउनुभयो ।

अनुगमनका क्रममा बजारका अन्य पसलबाट पनि विभिन्न प्रकारका अखाद्य र म्याद गुज्रेका वस्तु जफत गरी तत्कालै नष्ट गरिएको संयुक्त अनुगमन टोलीका नेतृत्वकर्ता सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिनुभयो । अनुगमनका क्रममा निर्मल जल उद्योगद्वारा उत्पादित बिनालेवलका २१ थान पानीका जारसमेत नियन्त्रणमा लिई नष्ट गरिएको छ । त्यस्तै सिरहाको लहानस्थित राकेश कोल्ड स्टोरमाथि कारबाहीस्वरुप रु पाँच हजार जरिवाना गरिएको छ । अनुगमनका क्रममा उक्त कोल्डस्टोरबाट वियर, पेय पदार्थ तथा लेबल नभएका पानीका जार फेला परेपछि कारबाही गरिएको प्रमुख सिंहको भनाइ छ ।

लहानस्थित सुरज खाजाघर, अन्सु कोल्ड स्टोरबाट म्याद गुज्रेका खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरेको प्रमुख सिंहले जानकारी दिनुभयो । अनुगमनकै क्रममा अटोरिक्सामा लगिरहेको अवस्थामा लेबल नभएका १८ थान जार पानीसमेत नियन्त्रणमा लिई नष्ट गरेको जनाइएको छ । पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, स्यानिटाइजर, ग्लोब्सलगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताउनुभयो ।

अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिनुभयो । अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उहाँको भनाइ थियो ।

यसैबीच चाडपर्वलाई लक्षित गरी सिरहा र सप्तरीका होटलको वर्गीकरण गरेर स्टिकर टाँस्नसमेत सुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले होटलको अनुगमन गरी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित सात होटलमा स्तर निर्धारण गरेर स्टिकर टाँस गरेको हो ।

महुलीस्थित पुरानो चौधरी होटल र मनकामना खाजा तथा पेडा भण्डारमा (ग) वर्ग तथा अन्य पाँचवटा होटलमा सामान्य (घ) वर्गको स्टिकर टाँसिएको प्रमुख सिंहले जानकारी दिनुभयो । सप्तरीपछि सिरहाका विभिन्न स्थानमा रहेका होटलमा समेत स्टिकर टाँस गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।