सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार तीन सय ६२ जनाको नमूना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर बिधिमार्फत परीक्षण गरिएकामध्ये सेती प्रादेशिक अस्पतालमा दश, जिल्ला अस्पताल बैतडीमा पाँच, महाकाली र डडेल्धुरा अस्पतालमा दुई/दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै एन्टिजेन विधिमार्फत परीक्षण गरिएकामध्ये कञ्चनपुरमा पाँच र दार्चुलाका दुई जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै सो अवधिमा प्रदेशभर २६ जनाले कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ९० र ७० वर्षीय पुरुष छन् । यसअघि बिहीबार यस प्रदेशमा ३५ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ भने ३९ जना सङ्क्रमणमुक्त भएका छन् ।
यो पनि – एक हजार ६६ सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ३६८ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १८ हजार ११५ जना पुगेको छ । नेपालमा सङ्क्रमण दर १८.९ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १९ छन् । सो अवधिमा ९३८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६६ हजार ६९६ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ ।
यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १४८ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३५४ सघन उपचार कक्ष (आइसीयू), ११६ भेन्टिलेटर, १६ हजार ८८१ होम आइसोलेशन, एक हजार २३४ संस्थागत आइसोलेशन र २४२ जना क्वारेन्टिनमा रहेका छन् ।आज दुई लाख १७ हजार ३९१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ७६ लाख ३१ हजार १८८ जनाले पहिलो मात्रा र ६३ लाख २८ हजार ३२७ पूर्णमात्राको खोप लगाएका छन् ।



प्रतिक्रिया