विजयादशमीमा पनि यहाँका केही विद्यालयमा बिदा नहुने भएको छ । दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने जनाएको छ । गत विगतका वर्षमा विजयादशमीका अवसरमा एक महिनासम्म बिदा दिइने भए पनि दुवै गाउँपालिकाले सूचना जारी गर्दै छ दिनबाहेक दसैँ बिदाको समयमा पनि सबै विद्यालय खुला रहने जनाएका हुन् । दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पन्तका अनुसार यही असोज २६ गते फूलपातीका दिनदेखि असोज ३१ गतेसम्म मात्र बिदा हुने र आगामी कात्तिक १ गतेदेखि नियमितरुपमा पठनपाठन हुनेछ । डिलाशैनी गाउँपालिकाले पनि असोज २६ देखि असोज ३१ गतेसम्म बिदा हुने जनाएको छ ।
कोरोना महामारीका कारण गत महिनादेखि मात्रै र पठनपाठन प्रभावित भएकाले दसैँ बिदा छोट्टयाएको छ । लामो समयदेखि बन्द रहेका यहाँका विद्यालय गत भदौ अन्तिम साताबाट स्वास्थ्यका मापदण्ड पालना गर्दै सञ्चालनमा आएका थिए । यहाँ कूल ५६२ विद्यालय छन् । त्यसमध्ये २४ संस्थागत र बाँकी सामुदायिक विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
यो पनि – दशैँ बिदामा विद्यालय खुल्ने
जिल्लाको पूर्वीक्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले यस वर्षको दसैँ बिदा घटाएर पालिकाभरिमा रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दसैँ बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक खेमबहादुर साउँदले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो वर्ष यहाँका सामुदायिक विद्यालयमा विगतका वर्ष जस्तो दसैँ बिदा नदिइने र दसैँ बिदा असोज २६ गतेदेखि ३१ सम्म मात्र बिदा दिइने छ । जिल्लामा दसैँ बिदा घटाएर विद्यालयमा नियमित पठनपाठन सुचारु गर्न पत्राचार गर्ने बोगटान फुड्सिल गाउँपालिका पहिलो गाउँपालिका रहेको भन्दै यहाँका अभिभावक तथा विद्यार्थी निकै खुशी भएको स्थानीय प्रकाश बमले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीले विद्यालय बन्द हुँदा पढाइ भएको थिएन, अझ दसैँमा पनि धेरै बिदा दिएको भए विद्यार्थी पढाइ नै बिर्सिने सम्भवना थियो, पालिकाले दसैँ बिदामा पनि पढाइ सुचारु गर्न पत्र पठाएको छ, यो राम्रो कुरा हो ।”
यो पनि – डोटी र बाजुरका शिक्षकलाई विपद् जोखिम न्यूनीकरण तालिम
सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले डोटी र बाजुराका गरी कूल २५ विद्यालयका सम्पर्क शिक्षकका लागि तीनदिने ‘विपद् जोखिम न्यूनीकरण’ तालिमको आयोजना गरेको छ । उक्त संस्थाको सामुदायिक उत्थानशीलता सुदृढीकरण परियोजनामार्फत सम्पर्क शिक्षकका लागि विपद् जोखिम न्यूनीकरण बृहत् विद्यालय सुरक्षा कार्य ढाँचा तथा जलवायु परिवर्तनसम्बन्धी तालिमको दीपायलमा आयोजना गरिएको हो ।
तालिममा जिल्लाका बोगटान फुड्सिल र जोरायल गाउँपालिका तथा छिमेकी जिल्ला बाजुराको बूढीगङ्गा नगरपालिकाका २५ माविका विपद् जोखिम न्यूनीकरण सम्पर्क शिक्षक सहभागी भएको परियोजनाका अनुगमन मूल्याङ्कन जवाफदेही अधिकृत मायाकुमारी बमले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त तालिममा विद्यालयमा हुने प्राकृतिक विपद् तथा जोखिमबाट बच्नका लागि गर्न सकिने कार्यको अवलम्बन गर्न तथा क्षमता विकासलगायत विषयमा जानकारी दिइने भएको छ ।
उक्त तालिम समापनपश्चात् विद्यालय सुरक्षा योजना निर्माण गरी कार्यान्वयन गरिने लक्ष्य लिइएको सामुदायिक विकास मञ्चका अध्यक्ष खडकराज शर्माले बताउनुभयो । तालिममा सहभागी शिक्षकहरुले विद्यालयले तयार गर्ने विद्यालय सुरक्षा योजनामा सहयोग गर्ने उहाँको भनाइ छ । उक्त तालिमको सहजीकरण देवेन्द्र गुरुङ र सामुदायिक उत्थानशीलता सुदृढीकरण परियोजनाका संयोजक विवेक गौतमले गर्नुुभएको छ ।
यो पनि – ‘सुशासन तथा भ्रष्टाचर निवारण अध्ययन’ मा विषय स्नातकोत्तर तह सञ्चालन
त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचर निवारण अध्ययन’ विषयमा स्नातकोत्तर तह सञ्चालनमा ल्याएको छ ।मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनैती, तथ्याङ्क विधि, विकास र भ्रष्टाचार, भ्रष्टाचारविहीन कानुन र संयन्त्र, नैतिकता र भ्रष्टाचार, भ्रष्टाचारको सामाजिक तथा सांस्कृतिक पक्षलगायत पठनपाठन हुनेछ । दुई वर्षको समयअवधि तथा चार सेमिष्टर रहने उक्त अध्ययनमा अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिसमेत पाठ््यक्रममा छ ।
यहाँ आज आयोजित कार्यक्रममा डिन प्राडा कुसुम शाक्यले मुलुकको विकास तथा समृद्धिमा भ्रष्टाचार बाधक तत्वका रुपमा रहेको बताउँदै यसको न्यूनीकरणका लागि यो क्षेत्रको अति आवश्यक रहेको बताउनुभयो । सहायक डिन प्रा ताराप्रसाद अर्यालले यसको अध्ययनबाट भ्रष्टाचर निवारणका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम संयोजक डा योगेश रञ्जितले सुशासन अभिवृद्धि गरी आर्थिक पारदर्शी कायम गर्न सकिने त्यसले भ्रष्टाचर अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । साहित्यकार एवं अभियन्ता भरत जङ्गमले यस किसिमको अध्ययन शुरुआत भएकामा खुसी व्यक्त गर्दै आफू विगत पाँच दशकदेखि भ्रष्टाचर निवारणका क्षेत्रमा क्रियाशील रहेको बताउनुभयो । एन्टी क्रप्सन ऐकेडेमीका अध्यक्ष अनुप जङ्गमले आफ्नो संस्थाले प्रत्येक सेमिष्टरमा पहिलो हुने विद्यार्थीलाई रु ३६ हजार, दोस्रो र तेस्रोलाई १८÷१८ हजार छात्रवृत्ति प्रदान गर्ने जानकारी गराउनुभयो ।
यो पनि – दूध र कुखुराबाट मासिक पाँच लाख आम्दानी
गलेश्वर, १५ असोज (रासस) ः प्रायः नेपाली युवा रोजगारीका लागि विदेश जान मरिहत्ते गर्छन् । उनीहरुको पहिलो रोजाइ बैदेशिक रोजगारी नै हुने गर्दछ ।म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका युवा सुरेश ढुङ्गानाले आफ्नै पौरखले गाई, भैँसीको गोठ र कुखुराको खोर बनाउनुभएको छ । दशवर्ष अरबको खाडीमा पसिना बगाएका ३७ वर्षीय उहाँले पेशा परिश्रम र पैसालाई जीवनसँग जोडेर सम्पन्नता र प्रशन्नताको महक प्राप्त गर्ने ज्ञान अरबको खाडीबाट प्राप्त गर्नुभयो । “ मैले खाडीमा जीवनको महत्व र स्वदेशको सम्भावनालाई बुझेँ”, उहाँले भन्नुभयो ।
स्वदेशमै सम्भावना देखेर गाउँ फर्किएका उहाँलाई गाउँ आएपछि साथीले अमेरिका आग्रह समेत गरे । उहाँले अमेरिका जाने होइन गाउँमै अमेरिकामा भन्दा बढी कमाउने र गाउँमै रमाउने योजना सुनाउनुभयो ।साथीहरुले उहाँका विचारलाई उडाए । बुद्धि नभएको भने उहाँ आफ्नो निर्णयमा अडिग रहनुभयो । अनि सुरु गर्नुभयो भैँसीपालन व्यवसाय । यो आठ वर्ष पहिलेको कुरा हो । यसबीचमा उहाँको जीवनमा पनि धेरै आरोहअवरोह आए । अनेकौँ घुम्ती र मोड आए र गए । उहाँले आठ वर्ष अगाडि ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ स्थापना गरेर व्यवसाय सुरुआत गर्नुभयो । त्यही फार्ममा अहिले २२ मुर्रा जातका भैँसी र दुई जर्सी गाई दुहुना छन् ।
उहाँ अहिले दैनिक १५० लिटर दूध सदरमुकाम बेनीबजारमा बिक्री गर्नुहुन्छ । दुई भैँसीबाट सुरु गरेको व्यवसायबाट अहिले उहाँले मासिक रु पाँच लाख आम्दानी गर्नुभएको छ । सबै खर्च कटाएर मासिक करिब दुई लाखको हाराहारीमा बचत हुने उहाँको भनाइ छ । फार्ममा अहिले रु ५० लाख जति लगानी भइसकेको उहाँले बताउनुभयो । भैँसीलाई चाहिने घाँसका लागि सार्वजनिक पाखो भाडामा लिनुभएको छ ।
“बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म भैँसी गोठ र कुखुराको खोरमा नै व्यस्त हुन्छु । समय गएको पत्तै हुँदैन । साँझपख बजारमा दूध पु¥याएउन जान्छु । सदरमुकाम बेनीबजारको न्यूरोडमा रहेको धवलागिरि डेरी उद्योगमा दैनिक १५० लिटर दूध पु¥याएपछि बल्ल शरीरमा फूर्ति आउँछ”, उहाँले भन्नुभयो ।प्रतिलिटर रु ९० मा दूध बिक्री हुने गरेको उहाँले बताउनुभयो । व्यवसायी ढुङ्गानाले साँझ र बिहान गरी दिनमा दुईपटक मोटरसाइकलबाट बेनीमा दूध पु¥याउनुहुन्छ । “बजारको अभाव छैन, जति पनि बिक्री हुन्छ तर गुणस्तरलाई खस्कन दिनुहुँदैन”, ढुङ्गानाले भन्नुभयो ।
पशुपालन व्यवसायमा परिश्रम गर्नसके विदेशमाभन्दा राम्रो कमाइ गर्न सकिने अनुभव उहाँले सुनाउनुभयो । उहाँले पाँच रोपनी जग्गामा फार्म बनाउनुभएको छ भने फार्ममा दुई जनालाई रोजगारीसमेत दिनुभएको छ ।भैँसीको स्याहार सुसारदेखि दूध दुहुने काममा आफैँ खटिने ढुङ्गानले विदेशमा गएर अरुको अधिनमा रही दुःख गर्नुभन्दा आफ्नै गाउँमा समयानुकूल व्यवसाय गर्ने हो भने मनग्ये कमाइ गर्न सकिने बताउनुहुन्छ ।
उहाँको सफलताको कथा यत्तिकैमा सकिदैन । भैँसीपालनसँगै उहाँले कुखुरापालन पनि सुरु गर्नुभएको छ । अहिले उहाँका फार्ममा दुई हजार ३०० ब्रोइलर कुखुरा बिक्रीका लागि तयारी अवस्थामा छन् । दूध र कुखुरा दुवैबाट हुने आम्दानी जोड्ने हो भने उहाँको मासिक रु आठ लाख पुग्ने जनाइएको छ ।



प्रतिक्रिया