वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो । बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी पुनः बोलपत्र गर्ने तयारी थालेको निर्देशक जगदीश ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार परेको लागत अनुमानभन्दा बढी रकमको बोलपत्र परेकाले सो बोलपत्र रद्द गर्नुपरेको थियो ।
लागत अनुमानभन्दा २९दशमलव८३ प्रतिशत बढीको प्रस्ताव बोलपत्रदाताले पेस गरेका कारण रद्द गर्नु परेको निर्देशक ढुङ्गानाको भनाइ थियो । यसका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न गरी दसैँ अगाडि नै बोलपत्र आह्वान गर्न मन्त्रालयसँग सहकार्य भइरहेको छ । पहिले नै आह्वान गरिएको लागत मूल्यमा ३० विद्युतीय बस र १५ चार्जर खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिने उहाँले जानकारी दिनुभयो ।हालै मन्त्रालयमा भएको सचिवको हेरफेरले यो काम केही दिन पर सरेकामा अब केही दिनमै बोर्डको बैठक बसेर निर्णय हुने र प्रक्रिया सुरु गरिने निर्देशक ढुङ्गानाले बताउनुभयो ।
बस सञ्चालनका लागि आवश्यक चार्जिङ स्टेशन निर्माणको प्रक्रियासमेत अघि बढाइनाका साथै मन्त्रालय र बोर्डका प्रतिनिधिले संयुक्त रूपमा विभिन्न जिल्लाको स्थलगत अवलोकन गरेका थिए । बस सञ्चालन हुने मार्गका केही स्थानमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया सुरु गरिएकोे छ । बोर्डले काठमाडौंको गोङ्गबु बसपार्क, हेटौंडा बसपार्क, भरतपुरको पारस बसपार्क, धादिङको गजुरी, काभ्रेको धुलिखेल र नुवाकोटको बट्टार तथा विदुर बसपार्कमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया अघि बढाएको हो ।
यो पनि – सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारी खुसी
मुलुकै ठूलो नाकामध्येको एक पर्साअन्तर्गत वीरगञ्जको रक्सौल नाकाबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै व्यापारीमा खुसी छाएको छ । कोभिड–१९ को असहज स्थितिका कारण अत्यावश्यकबाहेक अन्य भारतीय सवारी साधनले लामो समयदेखि नेपाल प्रवेश पाएका थिएनन् । यही असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको भारतीय सवारी साधनले प्रवेश पाउने निर्णय कार्यान्वयनमा आएसँगै व्यापारीमा खुसी छाएको हो ।
भारतीय सबै खाले सवारी साधनले नेपाल प्रवेश पाएपछि नेपाल र भारत दुवै देशमा व्यवसाय क्षेत्र फस्टाउनेमा आशा पलाएको उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष गोपाल केडियाले जानकारी दिनुभयो । कोभिड–१९ का कारण लामो समयदेखि नेपाल र भारत दुवै देशमा व्यावसायिक कारोबार प्रभावित बनेका थिए ।
रक्सौल नाकाबाट भारतीय निजी सवारी साधनले नेपालमा आवागमन पाएपछि दुवै देशका व्यवसायी थप उत्साही बनेको होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तले बताउनुभयो । सवारी साधन आवतजावतले दुई देशबीचको सम्बन्ध थप बलियो बन्दै जाने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो
स्रोत नखुलेको रकमसहित तीन पक्राउ
भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार र दुई भारतीयसहित तीनजनालाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी निवासी २९ वर्षीय मुकेश पटेल र पर्साको धोबिनी गाउँपालिका–३ निवासी २३ वर्षीय बलिराम पटेल रहेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पर्साको छपकैया–सिर्सिया नाकाबाट तीन मोटरसाइकलमा सवार भई नेपालतर्फ आउँदै गरेको अवस्थामा नगदसहित उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकालाई बैंक तथा वित्तीय ऐनसम्बन्धी कसुरअन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ । उनीहरु हुण्डी कारोबारमा संलग्न व्यक्ति रहेको प्रहरीको अनुमान छ । साथै उनीहरु सवार ना६०प ५९९८, ना४१प १०४८ र ना६४प ८३५९ नम्बरका तीन मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो ।



प्रतिक्रिया