परोपकारी संस्था बुद्ध फाउण्डेशन बेलायतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको थप पर्यटन प्रवद्र्धन र संरक्षण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ । सन् २०१७ मा सो संस्था यहाँ दर्ता भएको थियो । लण्डनस्थित नेपाली दूतावासमार्फत हालै सरकारलाई एक ज्ञापनपत्र बुझाउँदै फाउण्डेशनले बुद्धजन्मस्थलका बारेमा अन्तर्राष्ट्रियस्तरमा थप प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो । यहाँस्थित राजदूत लोकदर्शन रेग्मीलाई फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठसहित कार्यसमितिका पदाधिकारीले ज्ञापनपत्र बुझाउनुभएको थियो । ज्ञापनपत्रमा विश्वमा अहिंसा र शान्तिको सन्देश दिने गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई थप प्रवद्र्धन गर्न र राहदानीमा लुम्बिनीलाई समावेश गराउन भनिएको छ ।
यो पनि – चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला
चितवन, १७ असोज (रासस) ः चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष कोभिडका कारण वैशाखयता बन्द भएको गतिविधि खुला भएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जभित्र र बाहिरका सबै पर्यटकीय गतिविधि खुला गरिएको जानकारी दिनुभयो । निकुञ्जभित्रका बाटो मर्मत सकिएसँगै जीप सफारी सुरु गरिएको उहाँले बताउनुभयो । यससँगै निकुञ्जमा पैदलयात्रा हुने गर्दछ । निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा जीप र पैदलसँगै हात्ती सफारी पनि हुने गर्दछ । सामुदायिक वनमा निर्माण गरिएका टावरमा रात बिताउने व्यवस्थासमेत रहेको छ । निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा डुङ्गा सफारी हुने गर्दछ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार अब सौराहा आउने पर्यटकले निकुञ्जका सबै गतिविधिमा सहभागी हुन पाउने भएका छन् । निकुञ्ज बाहिर रहेका कुमरोज, बाघमारा र चित्रसेन सामुदायिक वनभित्रको मुख्य भागमा रात बिताउन मिल्ने गरी टावर रहेका छन् । ती टावरमा बस्न रुचाउनेका लागि पनि गतिविधि खुला भएको उहाँले जानकारी दिनुभयो ।
निकुञ्जका गतिविधि खुला भएसँगै पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । चाडपर्व सुरु भएकाले आन्तरिक पर्यटक क्रमशः बढ्दै गएको उहाँले बताउनुभयो । फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेका छन् । निकुञ्जका प्रवेश गर्ने क्षेत्र सौराहा, पटिहानी, जगत्पुर र मेघौलीमा यतिबेला साना सभा, सम्मेलन, गोष्ठीलगायतका कार्यक्रम भइरहेका छन् । कतिपय होटलमा माडवारी समुदायका विवाहका कार्यक्रम बुक हुन थालेका छन् ।
चितवन आउने पर्यटक मुख्यरूपमा निकुञ्जभित्रका पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । निकुञ्जमा मुख्यरूपमा एकसिङ्गे गैँडा, पाटेबाघलगायतका वन्यजन्तु, चराचुरुङ्गी, घडियाल गोही हेर्न पर्यटक आउने गर्दछन् ।
यो पनि – हात्तीले धानबाली नोक्सान, वडाध्यक्ष रातभर जाग्राम !
कञ्चनपुर, १७ असोज (रासस) ः शुक्लाफाँटा नगरपालिकाका बासिन्दा जङ्गली हात्तीको बथान भगाउनका लागि रातभर जाग्राम बस्ने गरेका छन । पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पु¥याउन थालेपछि उनीहरु चिन्तित भएका हुन् । नगरपालिकाको चुरे क्षेत्र फेदीका धान बालीमा हात्तीको बथानले बढी नोक्सानी पु¥याउन थालेको छ । ट्र्याक्टरको ठूलो आवाज निकालेर, आगो बालेर, पटाका पड्काएर, उज्यालो गरेर र होहल्ला गरेर हात्तीको बथान भगाउँदै आएको नगरपालिकाको वडा नं ८ का अध्यक्ष बहादुरसिंह महराले जानकारी दिनुभयो ।
“दर्जनौँको सङ्ख्यामा साँझ नपर्दै खेतबारीमा हात्तीको बथान पस्ने गरेको छ”, उहाँले भन्नुभयो, “स्थानीय बासिन्दा हात्ती भगाउनका लागि एक हप्तादेखि राति सुत्न पाएका छैनन् ।” स्थानीयवासीले हात्ती धपाउन रातमा पालैपालो पहरा दिने गरेका छन । वडाध्यक्ष महराका अनुसार जङ्गली हात्तीले स्थानीय किसानको छ बिघा बढी जग्गामा लगाएको धान बाली खाएर सखाप पारिसकेको छ । बेलडाँडी, पारिफाँटा, पिल्लरीफाँटा, कसरौल, गर्जुमनी, खजुवा, पिपलाडीलगायतका क्षेत्रमा हात्तीले बढी क्षति पु¥याएको हो ।
साँझपख कुन ठाउँमा हात्ती आउन थालेका छन् । त्यसबारे एक गाउँका बासिन्दाले अर्को गाउँका बासिन्दालाई जानकारी दिई सजग बनाउने कार्यसमेत गर्दै आएका छन् । सोहीअनुसार सतर्कता अपनाइ हात्तीलाई भगाउने गरिएको स्थानीयवासी मदन धामीले बताउनुभयो । उहाँका अनुसार हात्तीकै डरले धेरै किसानले पाक्न नपाउँदै धान बाली काटेर चुट्ने कार्यसमेत गरेका छन् । हात्तीको बथान विगत सात वर्षदेखि निरन्तररूपमा यस क्षेत्रमा आउने गरेको छ ।
बथानले खेतमा लगाएको धान बालीसँगै घरभित्र राखेको अन्न खाने र घर नै भत्काइदिने गरेकाले स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । दुई वर्षअघिमात्रै नगरपालिकाको वडा नं १ बन्साहका एक व्यक्तिको हात्तीको आक्रमणमा परेर मृत्युसमेत भएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र चुरे फेदीका बस्तीमा हात्तीले बढी क्षति पु¥याउँदै आएको छ । यसैगरी हात्तीले बेदकोट र भीमदत्त नगरपालिका तथा लालझाडी गाउँपालिकाका किसानले खेतमा लगाएको धान बालीमा समेत नोक्सन पु¥याउँदै आएको छ । हात्ती भगाउनकै लागि सुरक्षा निकायसमेत परिचालन हुने गरेको छ ।



प्रतिक्रिया