चन्द्रागिरि केबुलकार दसैँ, तिहारमा पनि खुल्ने

चन्द्रागिरि केबुलकार दसैँ, तिहारमा पनि खुल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रागिरि केबुलकार दशैँ तिहारमा पनि खुल्ने भएको छ । चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दसैँ तथा तिहारमा पनि केबुलकार खोल्ने निर्णय गरेको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले दसैँ तथा तिहारमा चन्द्रागिरि घुम्न जाने पाहुनालाई लक्षित गरेर दसैँ तथा तिहारका सबै दिन केबुलकार तथा रिसोर्ट सञ्चालन गर्न लागेको राससलाई जानकारी दिनुभयो । हाल चन्द्रागिरि हिल्समा केबुलकारमार्फत एक हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्दै आएका छन् । ९० कोठा रहेको चन्द्रागिरि रिसोर्टसमेत दैनिक ६० प्रतिशत बुकिङ हुँदै आएको महाप्रबन्धक शाहले बताउनुभयो ।

चन्द्रागिरि हिल्सले दोस्रो चरणको कोरोना सङ्क्रमणको समयको सदुपयोग गर्दै भालेश्वर मन्दिरदेखि खेलमैदानसम्म १०० मिटर लामो जिपलाइनसमेत सञ्चालनमा ल्याएको छ । उक्त जिपलाइनको मज्जा लिनका लागिसमेत दैनिक सयौँ पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन् ।

यो पनि – अन्तिम चरणमा पुग्यो नयाँ बानेश्वरमा आकासे पुल

सडक वारपार गर्ने यात्रुको चाप बढी भएको चोकमा पर्ने नयाँ बानेश्वरमा आकासे पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । थोरै काम मात्रै बाँकी भएकाले केही दिनमा नै पुल प्रयोगमा ल्याउन सकिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । पुलको मुख्य काम भइसकेकाले माथिल्लो भागमा बारको काम मात्रै बाँकी रहेको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै काम मात्रै बाँकी भएकाले दुईचार दिनमा नै सकिनेछ ।”

उपत्यकामा अहिले भइरहेका आकासे पुलभन्दा आकर्षक बत्तीका कारण यो पुल सुन्दर देखिनेछ । दसैँपहिले नै सो पुल सञ्चालनमा आउने डिभिजन प्रमुख नेपालीले बताउनुभयो । संरचनालाई लैङ्गिक समता र सामाजिक न्याय (जिइएसआई) मानिएको छ । बत्तीको उज्यालोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई रातको समयमा समेत हिँड्न सजिलो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अँध्यारो हुँदा महिला हिंसाको जोखिम भए पनि पुलमा उज्यालो हुँदा त्यो कम हुनेछ ।”

यो पुलको लम्बाइ ३८ मिटर रहेको छ । विसं २०७६ वैशाखमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । कोभिडका कारण गत वर्षहरुमा काम हुन नसक्दा तोकिएको अवधिभन्दा ढिला भएको हो । सुरुमा डिजाइनमा नै ढिला भएको र काम सुरु भएपछि कोभिडले गर्दा सरासर काम गर्न नसकिएको उहाँले बताउनुभयो । त्यसका लागि चाहिने सामग्रीको कारखाना सञ्चालन हुन सकेको थिएन । विशेष सीप भएका थोरै जनशक्ति आवश्यक हुने भए पनि तिनैलाई सङ्क्रमण भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यी सबै समस्याका बाबजुद अहिले सम्पन्न हुन लागेको छ ।”

झन्डै एक दशकभन्दा लामो समयदेखि नयाँ बानेश्वरमा पुल निर्माण गर्नुपर्ने भन्दै आवाज उठिरहे पनि बन्न सकेको थिएन । हाल संसद् भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) नजिकै भएकाले निर्माण अघि बढ्न सकेको थिएन । विभागले जडीबुटीसँगै सो चोकमा समेत ‘फ्लाई ओभर’ आवश्यकता भएको बताउँदै आएको छ ।