यातायातका विचौलिया पक्राउ

यातायातका विचौलिया पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुर महनगरपालिका–१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् । उनीहरुले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिससमेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै लाइनमा बसेका सर्वसाधारणलाई सास्तीसमेत दिने गरेका थिए ।

तीनै जनालाई यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ । सोही क्रममा उनीहरु पक्राउ परेका र हाल थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा बुझाइएको महाशाखाले जनाएको छ ।

यो पनि – विपद्बाट दाङमा १३ जनाको मृत्यु, २०० भन्दा धेरै घरमा क्षति

प्राकृतिक विपद्मा परेर जनधनको क्षति हुने गरेको छ । अविरल वर्षाले होस् या खोला वा नदी तर्दा बगेर बर्सेनि धरै मानिसको ज्यान जाने गरेको छ । गत असार २४ गते घोराही–१७ क्वाडीमा अविरल वर्षाका कारण मनिषा चौघरीको घर भत्किँदा उहाँकी तीन महिनाकी छोरीको घटनास्थलमै मृत्यु भयो । सो घटनामा मनिषा र उहाँकी अर्की छोरी घाइते भइन् ।

असार ९ गते लमही नगरपालिका–३ फलकापुरका ३० वर्षीय मणिराम चौधरीको स्थानीय खहरे खोलाले बगाएर मृत्यु भयो । खेतमा काम गरेर घर फर्कंदै गर्दा चौधरीलाई खोलाले बगाएको थियो । यो त उदाहरण मात्रै हो जिल्लामा विपद्मा गरेर ज्यान गुमाउनेहरु धेरै छन् ।यही भदौ १७ गते नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–२४ च ४४४० नं को कार घोराही–४ सिस्ने खोलामा आएको बाढीले बगाउँदा गाडीमा सवार चार महिलाको मृत्यु भएको थियो । चालक भने घाइते अवस्थामा फेला परेका थिए ।

दाङमा चालु आर्थिक वर्षको हालसम्म विभिन्न विपद््का घटनामा परी १३ जनाको मृत्यु भएको छ । विपद्बाट करिब रु साढे तीन करोड बराबरको क्षति भएको जिल्ला आपत्कालीन कार्य सञ्चलन केन्द्रले जनाएको छ ।केन्द्रका सूचना व्यवस्थापक अधिकृत विश्वप्रकाश अर्यालका अनुसार घर भत्किएर, खोला तथा नदीले बगाउँदा १२ जनाको मृत्यु भएको हो । एक जना अझै बेपत्ता रहेका छन् । त्यस्तै अविरल वर्षाका कारण २०५ वटा घर भत्किएका छन् ।

यसैगरी विपद्बाट १०० भन्दा बढी पशुचौपाया मरेको अधिकृत अर्यालले जानकारी दिनुभएको छ । उहाँका अनुसार हालसम्म घर भत्किएका परिवार तथा मृतकका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिबाट रु ५२ लाख ७५ हजार राहत वितरण गरिएको छ ।घर भत्किएका परिवारलाई रु १५ देखि २० हजार र मृतकका परिवारलाई रु दुई लाख राहत दिने गरिएको अर्यालले बताउनुभयो । विपद्का कारण सबैभन्दा बढी घोराही उपमहानगरपालिकाका नागरिकले ज्यान गुमाएका छन् । त्यस्तै, तुलसीपुर, शान्तिनगर, बङ्गलाचुली, दङ्गीशरण, गढवा र लमही नगरपालिका नागरिकले ज्यान गुमाएका छन् ।दाङमा गत आर्थिक वर्षमा विपद्का घटनामा परेर ४९ जनाको मृत्यु र २६ जना घाइते भएका थिए । तीमध्ये १४ महिला र ३५ पुरुष रहेको केन्द्रले जनाएको छ ।