नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका जमुनाह आजदेखि पूर्णरूपमा खुला भएको छ । सरकारद्वारा भएको भारतसँगको नाका खोल्ने औपचारिक निर्णयलाई कार्यान्वयन गर्दै आजदेखि नेपालगञ्जस्थित जमुनाह नाका पूर्णरूपमा खुला गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर आवागमनका लागि नाका पूर्णरूपमा खुला गरिएको छ । कोरोनापूर्वकै अवस्थामा नाकालाई सञ्चालनको निर्णय गरिए पनि स्वस्थ मापदण्डमा भने कडाइ नै रहनेछ । कोरोना सङ्क्रमण बढेपछि भारतीय सवारी नेपाल प्रवेश र नेपाली सवारी भारत प्रवेशमा रोक लगाउँदै आइएको थियो । विगतमा खाद्यान्नलगायत सामग्री बोक्ने सवारी साधन निर्वाधरूपमा सञ्चालन भए पनि निजी गाडी नेपाल प्रवेशमा भने रोक लगाइएको थियो ।
भारतले पनि नेपाली निजी सवारी साधन प्रवेशमा रोक लगाउँदै आएको थियो । यसअघि नाकामा पैदलयात्रुलाई मात्र आउजाउ गर्न दिइएको थियो । भारतीय सुरक्षा बल एसएसबीले पनि नाकामा सवारीसाधन चल्न दिने भनेर माथिल्लो तहबाट निर्देशन आइसकेको जानकारी दिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो ।
मन्त्रिपरिषद्को बैठकले विभिन्न मापदण्ड पूरा गरेर भारतीय निजी सवारीलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयानुसार जमुनाह नाका भएर सवारी साधन सञ्चालन भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो ।
यो पनि – सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या बढ्यो
सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चौबीस घण्टामा एक हजार ५७० को नमूना परीक्षण गरिएको थियो । प्रदेशमा हाल सक्रिय सङ्क्रमित ३५३ छन् । कोरोना भाइरस फैलिएयता हालसम्म प्रदेशमा एन्टिजेन परीक्षण एक लाख ४५ हजार २७५ र पीसीआर परीक्षण दुई लाख छ हजार ९५४ समेत जम्मा तीन लाख ५२ हजार २२९ जनाको नमूना परीक्षण भइसकेको छ । नमूना परीक्षण भएकामध्ये ४७ हजार २९८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।
सङ्क्रमित हुनेमध्ये हालसम्म ४६ हजार ५९८ जना सङ्क्रमणमुक्त भएका छन् । पाँच सय ९७ सङ्क्रमितको मृत्यु भएको छ । स्वाथ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले अवस्था जटिल बनेपछि मात्र सङ्क्रमितलाई अस्पताल पु¥याउने वा सङ्क्रमित व्यक्तिमा कुनै दीर्घ रोगी भएर नै मृत्युदर बढेको हुनसक्ने बताउनुभयो ।
पछिल्लो एक हप्तामा उपचाररत पाँच सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । अघिल्लो हप्ता मृत्युदर योभन्दा कम थियो । पछिल्लो हप्तामा २०० सङ्क्रमित थपिँदा २५५ जना सङ्क्रमणमुक्त भएका छन् ।
गएको २४ घण्टामा डडेलधुरा जिल्लाका ७० वर्षीय एक पुरुषको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गएको शुक्रबार मात्रै कैलाली जिल्लाका ९० वर्षीय र ७० वर्षीय गरी दुई पुरुष सङ्क्रमितको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो ।



प्रतिक्रिया