अठार वर्षदेखि भाडामा यातायात कार्यालय

अठार वर्षदेखि भाडामा यातायात कार्यालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आफ्नै भवन नहुँदा मुलुककै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ । हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्यकक्ष (कोठा) नहँुदा सेवाप्रवाहमा समस्या भएको कार्यालयले जनाएको छ । कार्यालयका लागि आवश्यक कोठा नहँुदा साँघुरो भवनबाट सेवाप्रवाह गर्दै आइरहेको वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) का निमित्त प्रमुख कुशेश्वर शाहले जानकारी दिनुभयो ।

“निमित्त कार्यालय प्रमुखका लागिसमेत छुट्टै कोठा छैन”, निमित्त कार्यालय प्रमुख शाहले भन्नुभयो, “ म पनि फाँटमा बसेर काम गर्दै आएको छु ।” दैनिक एक हजारको हाराहारीमा यस कार्यालयमा विभिन्न कामका लागि सेवाग्राही आउँछन् । बल्लतल्ल सेवाप्रवाह पु¥याएको कार्यालयको दाबी छ । दुईवटा भवनमा रहेको यस कार्यालयको मासिक भाडा रु ८४ हजार तिर्नुपर्छ । विसं २०६० माघ १ गतेदेखि साविकको संरचनाअनुसार यातायात व्यवस्था कार्यालयको रुपमा यस कार्यालय स्थापना भएको थियो । स्थापना भएको १८ वर्ष बितिसक्दा पनि कार्यालय भवन निर्माण हुन नसक्दा साँघुरो गरी सेवाप्रवाह गर्दै आएको कार्यालयले जनाएको छ ।

यो पनि – ट्राफिक प्रहरीको नयाँ कार्यालय भवन

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन निर्माण भएको छ । प्रदेश नम्बर १ सरकारको आर्थिक सहयोगमा अढाइ तले पक्की भवन रु एक करोड ८८ लाख ८५ हजार ५७७ को लागतमा निर्माण भएको हो । विर्तामोड नगरपालिका–५ मा ट्राफिक प्रहरी कार्यालयको नाममै रहेको छ कट्ठा जग्गामा सो भवन बनेको हो । सो जग्गा सडक विभागको यान्त्रिक कार्यालयको थियो । यान्त्रिक कार्यालय हटेसँगै ट्राफिक प्रहरीको नाममा लालपुर्जा आएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निशेष चापागाईले बताउनुभयो । विसं २०७६ जेठ ९ गते शृङ्खला निर्माण सेवा प्रालि नुवाकोटसँग सम्झौता गर्दै ट्राफिक प्रहरीका लागि भवन निर्माण अघि बढाइएको थियो । हाल बिर्तामोडस्थित मुक्ति चोक उत्तर सानो र साँघुरो घरबाट ट्राफिक प्रहरीले सेवा दिँदै आएको छ । सो भवनको तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलान्यास गर्नुभएको थियो ।

आधुनिक र सुविधा सम्पन्न ट्राफिक प्रहरीको भवन निर्माण गर्ने उद्देश्यअनुसार अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको हो । भवन निर्माण प्रदेश १ सरकारको आर्थिक सहयोगमा सम्पन्न भए पनि कम्पाण्ड वाल भने स्थानीयवासी, व्यापारी, व्यवसायीको आर्थिक सहयोगमा निर्माण भइरहेको प्र नि चापागाईले बताउनुभयो । निर्माण सेवा कम्पनीले दसैँअघि नै ट्राफिक प्रहरी कार्यालयलाई भवन हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ ।

जन्मोत्सवमा ई–लाइब्रेरी र प्रेस क्लबमा सहयोग

मेचीनगर नगरपालिका–६ काँकडभिट्टाका कृष्णप्रसाद उप्रेतीले आफ्नो ८३ औँ जन्मोत्सवमा दुई वटा संस्थालाई रु एक लाख ११ हजार प्रदान गर्नुभएको छ । उहाँले भानु साहित्यिक प्रतिष्ठानको ई–लाइब्रेरी निर्माणका लागि नगद रु एक लाख एक हजार र मेचीनगर प्रेस क्लबलाई रु १० हजार प्रदान गर्नुभएको हो ।

प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका उहाँले पुस्तकालय जस्तो पुण्य क्षेत्र र आमनागरिकलाई सुसूचित गराउने पत्रकारको संस्था प्रेस क्लबलाई आफ्नो जन्मदिनमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आइतबार रकम हस्तान्तरण कार्यक्रममा ८३ वर्ष प्रवेश गर्दाको अवस्थामा समेत युवा अवस्थामा झैँ सामाजिक कार्यमा सदैव सक्रिय रहने उप्रेतीको सामाजिक जीवनको चर्चा गर्नुभएको थियो । उप्रेतीले आफ्नो र दिवङ्गत श्रीमतीको नाममा यसअघि नै कृष्ण पवित्रा प्रतिष्ठान स्थापना गरेर विभिन्न विधाका व्यक्तित्वलाई पुरस्कृतसमेत गर्दैै आउनुभएको छ ।