भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग

भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जनाएको हो । भारतबाट बैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद रहेको भन्दै सङ्घले नेपालमै उत्पादित केरालाई प्रथामिकता दिनुपर्ने जनाएको हो । सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा चितवनसहित विभिन्न जिल्लाका किसानले उत्पादन गरेको केरा खेतमै तयारी अवस्थामा रहनु तर विदेशी केराले बजार ओगट्नु दुःखद रहेको जनाइएको छ ।

देशका ठूला बजारमा रहेका थोक केरा व्यापारी, खुद्रा व्यापारी र केही ठूला फलफूल व्यापारी मिलेर बजारलाई नियन्त्रणमा लिन खोजिएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, “नेपाली किसानको उत्पादनलाई कमभन्दा कम दरमा खरिद गरी मार्ने काम भएको छ, यसलाई रोक्न भारतीय केरा आयातमा तत्काल रोक लागउन हामी माग गर्दछौ ।”

नेपाली केरा किसान भारतीय आयातित केराका कारण विस्थापित हुने अवस्थामा पुग्दासमेत सम्बन्धित निकायले ध्यान दिन नसकेको सङ्घले जनाइएको छ । नेपालको चेक पोस्टमा भारतीय केराको विषादी कडाइका साथ जाँच गर्र्न, आयात हुने केराको भन्सारदर वृद्धि गरी अंकुश लगाउनाका साथै नेपाली केराको उत्पादन वृद्धि र बजार व्यवस्थापन गर्न पनि अनुरोध गरिएको छ । भारतीय केरा आयातमा रोक नलगाए सम्पूर्ण केरा किसान आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा जनाइएको छ । चितवनमा हाल ७१२ व्यावसायिक किसानले केरा खेती गर्दै आएका छन् । जिल्लामा तीन हजार ५० विघा जमिनमा केराखेती हुँदै आएको छ ।

यो पनि- बजार अनुगमन ः चार पसललाई जरिवाना

चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिएको जिल्ला अनुगमन समिति झापाले चार वटा पसललाई जरिवाना गरेको छ भने रु २२ हजार बढीका खाद्य सामग्री जफत गरी नष्ट गरेको जनाएको छ । पन्ध्र दिनदेखि अनुगमनमा निस्किएको समितिले जिल्लाका १० वटा पालिकाको अनगुमन गरिसकेको जनाएको छ । अनुगमनकै क्रममा मूल्य सूची नराखेका, नक्कली बिल प्रयोग गर्ने र बढी मूल्यमा सामान बिक्री गर्ने अर्जुनधारा नगरपालिकाका चार वटा किराना पसललाई रु पाँच हजारको दरले जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले बताउनुभयो ।

उहाँले अनुगमनका क्रममा दैनिक उपभोग्य खाद्य वस्तु खाने तेल, भूजिया, बिस्कुट, घीउलगायतका सामग्री भ्याट गुज्रिएको पाइएकाले जफत गरी नष्ट गरिएको बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको टोलीले दैनिक बजार अनुगमन गरिरहेको छ ।

“कोभिड–१९ का कारण बजार भर्खर खुलेको छ, लामो समय पसल बन्द हुँदा कतिपय खाद्य सामग्रीको म्याद गुज्रिएको पाइयो”, उहाँले भन्नुभयो, “तर मूल्यमा भने खासै अन्तर देखिएन ।” बजारमा समितिले अनुगमन नगरेर औपचारिकताकै लागि मात्र हिँडिरहेको उपभोक्ताले आरोप लगाएका छन् ।मेचीनगर नगरपालिका– १० का उपभोक्ता हिमाकुमारी राईले पसलैपिच्छे सामानको मूल्य फरक हुने गरेको पाइए पनि अनुगमन समितिले केही नगरेको गुनासो गर्नुभयो । उहाँका अनुसार बजारमा अन्य सामानको तुलनामा चिनी व्यापारीले मनपरी मूल्य अर्थात प्रतिकेजी रु ८८ देखि १०० सम्ममा बेचिरहेको छन् ।

“बजारमा चिनीको मूल्य पसलैपिच्छे फरक छ”, उहाँले भन्नुभयो,“अनुगमन समितिले वास्तै गर्दैन यसो हेरे जस्तो गरेर फर्कन्छ । अनुगमन गरे जस्तो गरेर उपभोक्ताको आँखामा छारो हाल्ने काम भइरहेको छ ।” समितिका संयोजक तथा सहायक प्रजिअ रिमालले बजारमा चिनीको मूल्य उपभोक्ताले आरोप लगाए जस्तो धेरै फरक नपाइएको बताउनुभयो । उहाँले बजार अनुगमनका क्रममा प्रतिकेजी रु ८८ देखि रु ९० मा चिनी बेचबिखन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई एउटा मूल्य भन्ने तर उपभोक्तासँग अर्को मूल्य लिन्छन् भने थाहा भएन । छड्के अनुगमन गरेर त्यस्तो पाइएमा व्यापारीलाई कारवाही गर्छौं ।”