यहाँका अधिकांश मासु पसल विना दर्ता सञ्चालनमा रहेका पाइएको छ । भक्तपुर नगरपालिकाद्वारा गठित बजार अनुगमन समितिले आज गरेको अनुगमनका क्रममा ती पसलमा फोहरमा मासु बिक्री गरेको पाइएको जनाएको छ ।
समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा ब्रम्हायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेका मासु पसलको अनुगमन गर्दा यहाँका सबै मासु पसल दर्तानै नगरी सञ्चालन गरेको पाइएको छ । साथै पसलमा फोहर, झिङ्गा भन्किएको, मासु सफा गर्ने ठाउँनै फोहर रहेको, फोहर पानीले मासु पखालेको, फ्रिज सफा नगरेको पाइएको छ समितिले जनाएको छ । यसैगरी सरसफाइमा ध्यान नदिएको, भुई, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल नराखेको, तराजु दर्ता तथा नवीकरण नगरेको, मासु सफा गरेको पानी सजिलै जान सक्ने व्यवस्था नभएको, सेतो एप्रोनको प्रयोग नगरेको, मासु काट्ने औजार र भाँडा नराखेको पाइएको निरीक्षक प्रजापतिले बताउनुभयो । बजार अनुगमन गर्दा मासु पसलले न्यूनतम मापदण्ड पालना नगरेको पाइएको छ । दर्ता नभएकालाई अनगुमनकै क्रममा दर्ता गराइएको छ ।
यो पनि – बजार अनुगमन ः चार पसललाई जरिवाना
चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिएको जिल्ला अनुगमन समिति झापाले चार वटा पसललाई जरिवाना गरेको छ भने रु २२ हजार बढीका खाद्य सामग्री जफत गरी नष्ट गरेको जनाएको छ । पन्ध्र दिनदेखि अनुगमनमा निस्किएको समितिले जिल्लाका १० वटा पालिकाको अनगुमन गरिसकेको जनाएको छ । अनुगमनकै क्रममा मूल्य सूची नराखेका, नक्कली बिल प्रयोग गर्ने र बढी मूल्यमा सामान बिक्री गर्ने अर्जुनधारा नगरपालिकाका चार वटा किराना पसललाई रु पाँच हजारको दरले जरिवाना गरिएको समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालले बताउनुभयो ।
उहाँले अनुगमनका क्रममा दैनिक उपभोग्य खाद्य वस्तु खाने तेल, भूजिया, बिस्कुट, घीउलगायतका सामग्री भ्याट गुज्रिएको पाइएकाले जफत गरी नष्ट गरिएको बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको टोलीले दैनिक बजार अनुगमन गरिरहेको छ ।
“कोभिड–१९ का कारण बजार भर्खर खुलेको छ, लामो समय पसल बन्द हुँदा कतिपय खाद्य सामग्रीको म्याद गुज्रिएको पाइयो”, उहाँले भन्नुभयो, “तर मूल्यमा भने खासै अन्तर देखिएन ।” बजारमा समितिले अनुगमन नगरेर औपचारिकताकै लागि मात्र हिँडिरहेको उपभोक्ताले आरोप लगाएका छन् ।मेचीनगर नगरपालिका– १० का उपभोक्ता हिमाकुमारी राईले पसलैपिच्छे सामानको मूल्य फरक हुने गरेको पाइए पनि अनुगमन समितिले केही नगरेको गुनासो गर्नुभयो । उहाँका अनुसार बजारमा अन्य सामानको तुलनामा चिनी व्यापारीले मनपरी मूल्य अर्थात प्रतिकेजी रु ८८ देखि १०० सम्ममा बेचिरहेको छन् ।
“बजारमा चिनीको मूल्य पसलैपिच्छे फरक छ”, उहाँले भन्नुभयो,“अनुगमन समितिले वास्तै गर्दैन यसो हेरे जस्तो गरेर फर्कन्छ । अनुगमन गरे जस्तो गरेर उपभोक्ताको आँखामा छारो हाल्ने काम भइरहेको छ ।” समितिका संयोजक तथा सहायक प्रजिअ रिमालले बजारमा चिनीको मूल्य उपभोक्ताले आरोप लगाए जस्तो धेरै फरक नपाइएको बताउनुभयो । उहाँले बजार अनुगमनका क्रममा प्रतिकेजी रु ८८ देखि रु ९० मा चिनी बेचबिखन भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई एउटा मूल्य भन्ने तर उपभोक्तासँग अर्को मूल्य लिन्छन् भने थाहा भएन । छड्के अनुगमन गरेर त्यस्तो पाइएमा व्यापारीलाई कारवाही गर्छौं ।”



प्रतिक्रिया