स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा भक्तपुरका तीन अस्पतालको निरीक्षण

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा भक्तपुरका तीन अस्पतालको निरीक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रको निरीक्षण एवं अवलोकन गर्नुभएको छ । आज मन्त्री श्रेष्ठले भक्तपुरका तीन सरकारी अस्पतालले प्रवाह गरेको सेवाका बारेमा जानकारी लिँदै उहाँले अस्पतालहरुलाई जनताका लागि सहज र गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले भक्तपुर अस्पताल एउटा इतिहास बोकेको ११८ वर्ष पुरानो अस्पताल भएको भन्दै २०० शय्या सञ्चालनको लक्ष्य लिएकाले अस्पतालले जनतालाई निजी अस्पतालमा जानु नपर्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ सोमबार भक्तपुर अस्पताल निरीक्षण गर्दै। तस्वीर ः रमेश गिरी, रासस

भक्तपुर अस्पताल यहाँको शहरको मुख्य अस्पताल भएकाले गुणस्तरीय सेवाबाट माथि जानुपर्नेमा जोड दिँदै अस्पतालको स्तरोन्नति गर्नुपर्ने र अस्तव्यस्त देखिन नहुने औँल्याउनुभयो । सरकारी अस्पतालको अवस्था, सेवा प्रवाह कस्तो रहेको छ, के कस्ता समस्याहरु छन् भन्ने जानकारी लिन साताव्यापी अस्पताल निरीक्षणको अभियान सुरु गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले अस्पतालको अवस्था जानकारी लिएपछि मात्रै योजना बनाउन र कार्यान्वयनमा सहज हुने बताउनुभयो ।

गाउँगाउँको अस्पतालमा जाने आफ्नो योजना रहेको भन्दै उहाँले भन्नुभयो, “स्वास्थ्यको क्षेत्रमा केही गरौँ भनेर सरकारी अस्पतालको अवस्था हेर्ने अभियान सुरु गरेको छु, हिजो मानसिक अस्पतालमा पुग्दा छक्क परेँ, त्यहाँ १७ वर्ष भएछ, कोही मन्त्री नगएको, अनि कसरी थाहा हुन्छ अस्पतालको अवस्था ।”

अस्पताललाई दिनुपर्ने बीमाको पैसा अब सरकारले नरोक्ने बताउँदै राज्यमन्त्री श्रेष्ठले भन्नुभयो, “बीमाका कारण गरिब जनताले निःशुल्क उपचार पाएका छन्, प्राविधिक कारणले बीमाको रकम भुक्तानीमा केही ढिला हुन गएको हो, अब बीमाको पैसा रोकिँदैन, दसैँअगाडि नै सबै सरकारी अस्पतालमा बीमा बापतको बाँकी रकम हामी पठाउँछौँ ।”

कार्यक्रममा भक्तपुर अस्पतालका मेसु डा सुमित्रा गौतमले अस्पतालले दिँदै आएको सेवाका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आफू अस्पतालमा आएदेखि नै अस्पतालको सेवा विस्तारमा लागेको बताउँदै कोभिड–१९ को सुरुआतदेखि अहिलेसम्म गरेका कामको प्रगति बताउनुभएको थियो ।

राज्यमन्त्री श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालको निरीक्षण गर्नुभयो । उहाँले अस्पतालले राष्ट्रियरूपमा कोभिडको बेलामा पनि ठूलो योगदान पु¥याएको चर्चा गर्दै पब्लिक अस्पताललाई गुणस्तरीय स्वास्थ्य सेवा दिने संस्थाका रूपमा विकास गर्ने बताउनुभयो ।

अस्पतालको समस्या र यहाँको अवस्थाका बारेमा उहाँले जानकारी लिनुभएको थियो । मन्त्री श्रेष्ठलाई अस्पतालका निर्देशक डा विष्णु पौडेलले अस्पतालको समग्र अवस्था र सेवा प्रवाहका बारेमा जानकारी गराउनुभएको थियो ।

त्यसैगरी शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रको अवलोकन गर्दैै उहाँले मिर्गौैला प्रत्यारोपणमा देखिएको भयावह अवस्थाले आफूलाई चिन्तित बनाएको बताउनुभयो । यो अस्पताललाई नमूनाका रूपमा अगाडि बढाउन निर्देशन दिँदै उहाँले सरकारले मिर्गौला, क्यान्सर, मुटु जस्ता सेवालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री श्रेष्ठलाई अस्पतालका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अस्पतालका बारेमा जानकारी गराउनुभएको थियो ।

अस्पताल निरीक्षणका क्रममा मन्त्री श्रेष्ठसँगै रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह तथा प्रमुख विशेषज्ञ सल्लाहकार महेश्वर श्रेष्ठले भक्तपुर अस्पताल र क्यान्सर अस्पतालको सेवाका बारेमा चर्चा गर्नुभएको थियो । नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले भक्तपुर अस्पताल विगतमा भन्दा धेरै राम्रो भएको चर्चा गर्दै क्यान्सर अस्पतालको समस्या सुल्झाउनुपर्नेमा जोड दिनुभयो ।