नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले राजनीतिलाई विकास र आर्थिक उन्नतिसँग जोड्नुपर्ने बताउनुभएको छ । दोधारा चाँदनीमा आज नेपाली कांग्रेसको निवर्तमान नगर समितिको सम्मान एवं परिचयात्मक कार्यक्रममा उहाँले चुनाव जित्नका लागि मात्रै राजनीति गर्नु नहुने बताउनुभयो । राजनीतिलाई देशको समृद्धिसँग जोड्नुपर्ने उहाँको भनाइ थियो । “कांगे्रस हार्दा विकास हार्दोरहेछ तपार्इंहरुले देखिसक्नुभयो, हामी हारेकामा चिन्ता छैन । विकास हारेकामा चिन्ता छ”, उहाँले भन्नुभयो, “दोधारा चाँदनीका जनतासमक्ष जुन प्रतिबद्धता गरेका थियौँ, त्यो पूरा गरेर देखाएका छौँ, अस्पताल, पुल, सडक, महाकाली नदीमा तटबन्ध र जगबुढा नदीमा तटबन्ध लगायतको कार्य गरेका छौँ । गर्नुपर्ने अझै धेरै छ । त्यो पनि पूरा गर्छौं । जे बोल्छौँ । त्यो पूरा गरेर छाड्छौँ ।”
सुक्खा बन्दगाह, चारलेनको पुल निर्माणको कार्यले गति लिएको उल्लेख गर्दै उहाँले सुक्खा बन्दरगाह जोड्ने सडकलाई महाकाली राजमार्गसँग जोडेर सुदूरपश्चिम क्षेत्रले आर्थिक विकासमा फड्को मार्ने बताउनुभयो । दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह बनेपछि यो क्षेत्र ठूलो नाकाका रूपमा विकसित हुने उहाँले बताउनुभयो । विगतको सरकारले संविधान भत्काउने, प्रतिनिधिसभा विघटन गर्ने र देशलाई अस्थिरतातर्फ लैजाने कार्य मात्रै गरेको उहाँले बताउनुभयो । विकास र समृद्धिका नारा दिइए पनि कुनै पनि देश निर्माणका कार्यहरु अगाडि बढ्न नसकेको उहाँको भनाइ थियो ।
यो पनि -कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख
सशस्त्र प्रहरी बल अस्पतालले नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेकोे जनाएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गरी उहाँ यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाका लागि उपचाररत रहनुभएको जनाएको छ । अस्पतालले उहाँको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको रिपोर्ट बारेमा अवगत गराएको हो ।
यो पनि – वन ऐनसम्बन्धी समस्या निराकरण गरिनेछ : मन्त्री थापा
गण्डकी प्रदेशका वन वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले वन ऐनसम्बन्धी रहेका समस्यालाई निराकरण गरिने बताउनुभएको छ । आज डिभिजन वन कार्यालय तनहुँका कर्मचारीसँगको छलफलमा जुट्दै मन्त्री थापाले फिल्डमा गएर प्रत्यक्ष जनसमुदायमा पुग्ने, अनुगमन गर्ने, अध्ययन गर्ने स्वयं कर्मचारी विज्ञ हुने भएकाले कर्मचारीको सुझाव लिएर राष्ट्रिय योजना आयोग र वन मन्त्रालय अघि बढ्ने बताउनुभयो ।
नीति योजना तर्जुमा गर्ने राष्ट्रिय योजना आयोगको सुझाव सल्लाह लिएर अघि बढ्न सजिलो हुने भएकाले कर्मचारीसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिएको उहाँले बताउनुभयो । सङ्घ, प्रदेशको क्षेत्राधिकार, अग्रपङ्क्ति र कार्यान्वयन पक्ष रोकिएकाले उक्त विषयलाई अघि बढाउन आवश्यक रहेको मन्त्री थापाले बताउनुभयो ।
डिभिजन वन कार्यालयले पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पर्यटन क्षेत्रमा गरेको विकासका कार्य देख्दा आफू त्यसबाट प्रभावित भएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयबाट पर्यापर्यटनमार्फत पर्यटक आकर्षण गरी स्थानीयवासीलाई स्वरोजगार बनाउन पर्यटकीय क्षेत्रमा काम गर्दै आएको डिभिजन प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।
गत वर्षको तुलनामा यस वर्ष अति न्यून बजेट विनियोजन गरिएकाले वन सम्वद्र्धन, गरिबी न्यूनीकरण र पर्यटन प्रवद्र्धनलगायतका कार्यक्रम गर्न कठिनाइ भएको उहाँले सो अवसरमा बताउनुभयो । बजेट कमीका कारण गत वर्ष गरिएका कार्यहरुलाई निरन्तरता दिन नसक्ने देखिएकाले बजेटमा प्राथमिकता दिन अनुरोध गर्नुभयो ।
सो अवसरमा डिभिजन वन कार्यालय र सबडिभिजन वन कार्यालयमा कार्यरत कर्मचारीले गण्डकी प्रदेश सरकारबाट बजेट न्यून विनियोजन गरिएकाले काम गर्न कठिनाइ भएको गुनासो राखेका थिए । कुनै सबडिभिजन भवन बाढीपहिराले जोखिममा परेको, खानेपानी नभएको, न्यून कर्मचारी, सवारी र इन्टरनेटको पहुँच नहुँदा कार्यसम्पादन कार्यमा कठिनाइ भोग्नुपरेको भन्दै मन्त्री थापासमक्ष आफ्ना गुनासाहरु राखेका थिए ।



प्रतिक्रिया