अमेरिकी दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने घोषणा

अमेरिकी दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ । अमेरिकका दुई वैज्ञानिक डेभिड जुलियस र आर्डेम पाटापौटियनलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय भएको नोबेल पुरस्कार छनौट समितिले जनाएको छ ।उहाँहरूले हाम्रो शरीरले कसरी घामको न्यानो वा माया गर्ने मानिसको अङ्गालोको न्यानोपना महसुस गर्छ भन्ने बारेमा अध्ययन गर्नुभएको थियो ।

शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्ने बारेमा उहाँहरूले गरेको अध्ययन दुखाइसम्बन्धी समस्या समाधान गर्ने उपचारका लागि उपयोगी हुने बताइएको छ । नोबेल पुरस्कार कमिटीका सदस्यहरूले मानव जीवनका लागि ठूलो योगदान हुने भएकाले यस अध्ययनका लागि पुरस्कार दिने निर्णय भएको बताएका छन् ।

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियसले पिरो खुर्सानी खाँदा पोलेको महसुस गराउने रसायनका बारेमा अध्ययन गर्नुभएको थियो ।त्यस्तै पाटापौटियनले गरेको अध्ययनबाट फरक खालका तर कुनै भौतिक दबाव वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लागेको थियो ।दुवै जनालाई पुरस्कारस्वरूप आठ लाख ४५ हजार पाउन्ड रकम प्रदान गरिने नोबेल कमिटीले जनाएको छ । कमिटीले कोरोनाभाइरुसको महामारीका कारण यसवर्षको नोबेल पुरस्कार विजेताहरूलाई सम्बन्धित देशहरूबाटै प्रदान गर्ने योजना बनाएको छ ।

यो पनि- जापानका नवनियुक्त प्रधानमन्त्रीद्वारा आम निर्वाचनको तयारी

जापानका नवनियुक्त प्रधानमन्त्री फुकिओ किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी थाल्नुभएको छ ।उहाँले देशको १००औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिनुभएको हो ।उहाँले यही अक्टोबर ३१ का दिन निर्वाचन गराउने तयारी गर्नुभएको जनाइएको छ । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उहाँले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको तयारीमा लग्नुपरेको हो ।

निर्वाचन गराउनका लागि उहाँले यही अक्टोबर १४ तारिखका दिन तल्लो सदन विघटन गर्ने योजना पनि बनाउनुभएको जनाइएको छ ।प्रधानमन्त्री किशिदाका अनुसार नयाँ संसद्का लागि निर्वाचित हुन चाहने उम्मेदवारहरूले यही अक्टोबर १९ देखि मात्रै प्रचारप्रसार अभियान सुरु गर्न पाउने छन् ।