विश्व शिक्षक दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको उपयोगसहित शिक्षण क्रियाकलापमा शिक्षकको भूमिकाबारे छलफल गर्दै नेपालमा पनि दिवस मनाइएको छ । महिला शिक्षक समाज केन्द्रीय समितिको आयोजना तथा युनेस्को काठमाडौँको प्राविधिक सहयोगमा भर्चुअलरूपमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले शिक्षकको सूचना तथा सञ्चार प्रविधि सीप र शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिका विषयमा गुरुयोजना बनाएर काम गर्ने बताउनुभयो । उहाँले विषम स्थितिमा पनि शिक्षकहरूले सिकाइ निरन्तरतामा दिएको योगदानको प्रशंसा गर्दै आफ्नो पेशाप्रति जिम्मेवार हुन आग्रह गर्नुभयो ।
मन्त्रालयका सहसचिव डा हरि लम्सालले शिक्षकलाई सरकारी स्तरबाट तालिम तथा परामर्शको कमी भए पनि आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा पूरा गर्ने गरेको र गुरुयोजना लागु भएपछि शिक्षकलाई थप सहजीकरण हुने बताउनुभयो । युनेस्को काठमाडौंका शिक्षा प्रमुख डा.बलराम तिमल्सिनाले कोरोना कहरमा विद्यालय शिक्षामा सूचना र सञ्चारको प्रयोग विषयमा शिक्षकहरू जिम्मेवार र सक्रिय भएमा विद्यार्थीले लाभ लिन सक्ने जनाउनुभयो ।
युनेस्को प्रस्तावमा सन् १९६६ देखि हरेक अक्टोबार ५ लाई विश्व शिक्षकका रुपमा मनाइँदै आएको छ । यस वर्षको दिवसको नारा ‘शिक्षकहरू शैक्षिक सुधारको मुटु हुन्’ रहेको छ । समाजका अध्यक्ष डा जानुका नेपालले आधुनिक परिवेशमा शिक्षकको भूमिका परिवर्तन भएकाले शिक्षकले आफ्नो काममा आफू जागरुक तुल्याई विद्यार्थीको सिकाइमा सहजकर्ताका रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
यो पनि – बाल शिक्षिका र कर्मचारीको तलबमा वृद्धि
पर्वतको कुश्मा नगरपालिकाले बाल शिक्षिका, विद्यालयका कर्मचारी तथा कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ । नगर कार्यपालिकाको आज बसेको बैठकले उनीहरुको तलब वृद्धि गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीका अनुसार बालविकास सहजकर्तालाई रु १५ हजार ५००, विद्यालयका कार्यालय सहयोगीलाई रु १५ हजार र विद्यालयका कर्मचारीलाई रु २० हजार ५०० मासिक तलब तोकेको हो । शिक्षक दिवसकै अवसरमा नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
सङ्घीय सरकारले घोषणा गरे पनि कुश्मा नगरपालिकाले तलब सुविधा नबढाएको भन्दै बाल शिक्षिकाको निरन्तरको आन्दोलनपछि आज बसेको कार्यपालिकाको बैठकले तलब सुविधा वृद्धि गर्ने निर्णय गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । यसरी तलब वृद्धि गर्दा नगरपालिकालाई वार्षिक रु एक करोड ५० लाख दायित्व बढ्ने भएको छ । कुश्मा नगरपालिकाभित्रका बिद्यालयमा ७० जना बालबिकास सहजकर्ता, १८ जना विद्यालय कर्मचारी र ६५ जना विद्यालय सहयोगी रहेका छन् ।
नगरप्रमुख रामचन्द्र जोशीले शिक्षकको माग सम्बोधन गर्नुपर्छ भन्नेमा आफू सकारात्मक भएर निर्णय गरेको बताउनुभयो । सङ्घीय सरकारले बजेटमा तलब बढाउने घोषणामात्र गरेको तर स्रोत सुनिश्चितता नगरपालिका आफैँले गर्नुपर्दा केही दिन अन्योल भए पनि अब शिक्षकले आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य भएको जोशीले बताउनुभयो । बैठकले सवारी चालक, स्वास्थ्य केन्द्रका कार्यालय सहयोगीको पनि तलब सुविधा वृद्धि गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया