पशुपतिनगर नाकाबाट ८० लाखको औषधि बरामद

पशुपतिनगर नाकाबाट ८० लाखको औषधि बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम जिल्लाको पशुपतिनगर नाकाबाट लाखौँ मूल्य बराबरको औषधि बरामद गरिएको छ । जिल्लाको सूर्योदय नगरपालिका–३ पशुपतिनगरस्थित नेपाल–भारत सीमा लालीखर्क भन्ने स्थानबाट रु ८० लाख बराबरको औषधि बरामद गरिएको हो । नेपाल–भारत सीमावर्ती पशुपतिनगरको लालीखर्क भन्ने स्थानमा रहेको एउटा गोठमा भण्डार गरेर राखिएको औषधि सशस्त्र प्रहरी बल पशुपतिनगर (बिओपी)ले बरामद गरेको जनाइएको छ । अवैधरूपमा लाखौँ मूल्यको औषधि नेपाल आयात हुँदै गरेको सूचनाका आधारमा सशस्त्र प्रहरीको गस्ती टोलीले सोमबार राति १० बजे औषधि बरामद गरेको सशस्त्र प्रहरी बल पशुपतिनगरका प्रमुख नवीन खतिवडाले जानकारी दिनुभयो ।

चालिस वटा कार्टुन बरामद भएको सो औषधिको मूल्य ५० लाख भारु (नेपाली रुपैयाँ ८० लाख) बराबरको रहेको बताइएको छ । बरामद गरिएको औषधि आजै भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको औषधि नपाली बजारमा चलेको औषधि रहेको छ । अधिकांश औषधि बाथरोग, युरिक एसिड, ग्यास्ट्रिक र महिलाका लागि प्रयोग हुने किसिमको रहेको बताइएको छ ।

बरामद भएको औषधिमा नेपालमा प्रतिबन्धित औषधि भने नभएको बताइएको छ । ठूलो परिमाणमा औषधि बरामद गरिए पनि त्यो औषधि कसले, कहाँ लान लागेको भन्ने बारेमा खुल्न सकेको छैन । खुल्ला सिमानाको फाइदा उठाएर तस्करहरुले विगतमा लत्ताकपडा, खाद्य सामाग्री, मेसिनरी पार्टपूर्जा, मदिराजन्य पदार्थको तस्करी हुँदै आएको छ तर औषधिको तस्करी भने हालसम्म नभएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । यो घटनाले पूर्वी पहाडी जिल्लाबाट समेत औषधिको तस्करी उच्चरूपमा भइरहेको पुष्टि गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

यो पनि – बजार अनुगमनमा तीव्रता

जिल्ला प्रशासन कार्यालय हुम्लाले नजिकिँदै गरेको दसैँ तिहारलगायतका चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको छ ।चाडपर्वमा बढी सामानको माग र खपत हुने भएको हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्नेजस्ता समस्या नहोस् भन्ने उद्देश्यका साथ स्थानीय प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो ।

चाडपर्वमा सामानको माग र कारोबार पनि बढी हुने भएकाले मूल्य र सामानको गुणस्तरमा उपभोक्ता ठगीमा नपरोस् भन्दै अनुगमलाई तीव्र पारिएको बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राइले बताउनुभयो । उहाँका अनुसार दसैँ तिहारजस्ता चाडपर्वलाई लक्षित गरी आज बजार अनुगमन गरिएको हो । यसअघि गत भदौ ११ गते बजार अनुगमन गरिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी राईको संयोजकत्वमा गएको टोलीले आज बिहान ९ बजे जिल्लाका खुद्रा तथा मासु पसलको अनुगमन गरेको छ । अनुगमन गरिएका १० वटा खुद्रा तथा मासु पसलमध्ये नोबेल जनरल स्टोर तथा फ्रेस हाउस पसलमा म्याद गुज्रिएको तीन पाकेट बिस्कुटबाहेक अन्य कुनै पनि पसलमा अखाद्य बस्तु नभेटिएको अनुगमन समितिका संयोजक राईले बताउनुभयो ।

उहाँका अनुसार १० वटा पसल अनुगमन गर्ने क्रममा दुईवटा दर्ता नभएको, एउटा अनुमति प्रमाणपत्र नलिएको र एउटा नवीकरण नभएको पसल भेटिएको बताइएको छ । पसलेलाई पछिल्लो पटक अनुगमन गर्ने क्रममा यस्तो भेटिएमा कारबाहीसमेत हुने बताउनुभयो । सिमकोट बजारमा नियमितरुपमा बजार अनुगमन गर्दा चौथो पटकमा निकै सुधारन्मुख रहेको सहायक प्रमुख जिल्ला अधिकारी राईको भनाइ छ ।

अनुगमनमा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, सिमकोट गाउँपालिका, घरेलु उद्योग तथा हित संरक्षण कार्यालय, उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घ हुम्लाको समेत सहभागिता रहेको थियो । उक्त अनुगमन कार्य माथिल्लो गाउँमा रहेको तिन धारा र सञ्चार टोलका पसलमा गरिएको थियो ।