अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ । कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको खुलेको छ । आयोगले सवइन्जिनियर केसीलाई कार्यालय परिसरबाटै आज पक्राउ गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । आरोपी केसीको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यो पनि – ३३ किलो सुन काण्ड: गोरेसहित छ जनालाई जन्मकैदको फैसला
जिल्ला अदालत मोरङले आज सनम शाक्य ह.त्याका.ण्ड र ३३ किलो सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका चुडामणि उप्रेती भन्ने गोरेसहित छ जनालाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको छ ।जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाउनुभएको छ भने अन्य दुईमध्ये एक जनालाई तीन वर्ष र अर्कालाई छ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिनुभयो ।
गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो । अदालतले राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई छ महिना कैद सजायको फैसला गरेको स्रेस्तेदार राणाले बताउनुभयो । मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन् भने २१ जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला अदालत मोरङमा विसं २०७५ वैशाख १९ गते ‘आ.पराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अ.पहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो ।
यो पनि – बैंंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ
नेपाल प्रहरीले अदालतबाट रु २० लाख जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २० लाख जरिवाना गरेपछि फरार रहेका सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ घर भई हाल महाराजगञ्ज बस्ने ३० वर्षीय सुजन तामाङलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ पुस ६ गतेको फैसलापछि आठ दिन कैद र बिगोबमोजिम रु २० लाख जरिवानापछि फरार रहेका तामाङलाई महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।पक्राउ परेका तामाङले आफ्नो ग्लोबल आइएमई बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।
यो पनि – सङ्गठितरुपमा सहकारी ठगीको आरोपमा १२ पक्राउ
एक सहकारीका सञ्चालक तथा कर्मचारीले सङ्गठितरुपमा नै सहकारी ठगी गरेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) काअनुसार सहकारी ठगी गरेको आरोपमा प्रहरीले पूर्वकर्मचारीसहित विभिन्न पदमा कार्यरत १२ जनालाई पक्राउ गरेको छ । उनीहरुले काठमाडँैँको सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा भएको रकममा ठगी गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष इच्छाराज तामाङ, हालका सञ्चालक समिति अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक सहजकर्ता भगवानबहादुर सिंह, जुनियर असिष्टेन्ट म्यानेजर मायोनानी महर्जन र एलिना तुलाधर रहेका छन् ।यस्तै जुनियर अधिकृत शङ्करप्रसाद पाठक, असिसटेन्ट सङ्गीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर साहयक प्रबन्धक बुद्धराज तामाङ र कौस्तुभकेतन ढुङ्गाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्वलेखा समिति सदस्य हरिहर लामिछानेलाई पनि पक्राउ गरिएको ब्यूरोले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।
उक्त सहकारीका सदस्यले बचत तथा मुद्दती खातामा जम्मा भएको रकम निकाल्न पटकपटक ताकेता गर्दा उपलब्ध नगराई ठगी गरेकोसमेत अनुसन्धानमा खुलेको छ । उनीहरुले बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्रावधानविपरीत एकै व्यक्ति संस्थापक रहेको विभिन्न परियोजनामा लगानी गरेको र वेथिति बढ्दा उक्त लगानीबाट लाभसमेत प्राप्त गर्न नसकेको ब्यूरोले जनाएको छ ।
कर्जा लगानी भई सम्पन्न गरिएका विभिन्न परियोजनाबाट निर्माण गरिएका संरचना बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशमा लगेर सम्पत्ति शुद्धीकरणको कसुर गरेको आशङ्का पनि गरिएको छ । प्रहरीका अनुसार उनीहरुले सहकारी ऐन २०७४ को दफा (१२२) बमोजिमको कसुर गरेको देखिन आएकाले बचतकर्ताको निक्षेपसमेत जोखिममा परेको छ । यसरी १३७ बचतकर्ताले उक्त को–अपरेटिभको बचत तथा मुद्दती खातामा रहेको कूल रु ७० करोड ८७ लाख १३ हजार ८३१ सङ्गठितरुपमा सहकारी ठगी गरेको प्रहरीले मुद्दा अघि बढाइएको छ ।
ब्यूरोले अन्य निक्षेपकर्ता तथा सर्वसाधारणलाई पनि उक्त को–अपरेटिभबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानुनबमोजिम आवश्यक थप कारवाहीको लागि सम्पर्क गर्न अनुरोध गरेको छ ।



प्रतिक्रिया