आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ । कर छलेको सामान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजस्व कार्यालयले मङ्गलबार साँझ सप्लायर्समा छापा हानेको हो । कार्यालयले कर छलेर ल्याएको २६१ प्याकेट झुम्का सुपरपावर र १४८ प्याकेट बल्ब छाप भएको सुर्तीसमेत बरामद गरेको कर अधिकृत खडानन्द खत्रीले जानकारी दिनुभयो ।
कर छली गरी अवैध बाटोबाट सुर्खेत भित्र्याइएको ४०९ प्याकेट सुर्तीजन्य पदार्थ बरामद गरिएको कार्यालयका कर अधिकृत खत्रीले बताउनुभयो । “विशेष सूचनाका आधारमा सप्लायर्समा छापा हान्दा हामीले राजस्वको स्टिकर टाँसेको भेटेनौँ”, कर अधिकृत खत्रीले भन्नुभयो, “नियन्त्रणमा लिइएको सामानबमोजिम आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउँछौँ ।” उहाँका अनुसार बरामद सामानको अनुसन्धान गर्नुको साथै थप छानबिनका लागि सञ्चालक लक्ष्मीप्रसाद भुसाललाई (आज) बुधबार कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।”
उक्त पसलमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले समेत छापा हानेको थियो । छापा हान्दा ३१ बोरा म्याद सकिएको म्याङ्गो चक्लेट जफत गरेको प्रशासकीय अधिकृत पदमलाल लामिछानेले बताउनुभयो । राजस्व कार्यालयले दोस्रो चरणको निषेधाज्ञामा समेत सप्लायर्सले अवैध सुर्ती बिक्री गरेको भेटिएपछि मुद्दा नै चलाइएको जनाएको छ । आन्तरिक राजस्व कार्यालयका अनुसार नेपाल प्रहरीको सहयोगमा गत आर्थिक वर्षमा अवैध सुर्ती जफतबाट झण्डै रु ६० लाख राजस्व सङ्कलन गरिएको थियो ।
यो पनि – ‘रेबिजमुक्त काभ्रे’को प्रतिबद्धता
काभ्रेपलाञ्चोक, २० असोज (रासस) : एक महिनाको अवधिमै प्राणघातक रोग रेबिजबाट जिल्लामा एक बालकसहित तीनको मृत्यु भएपछि यहाँका जनप्रतिनिधिले रेबिज रोगमुक्त जिल्ला बनाउने प्रतिबद्धता जनाउनुभएको छ । कुकुरको टोकाइबाट हुने रेबिजबाट मानवीय क्षति शून्य बनाउन जिल्लाका १३ स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
पशु सेवा विभागका महानिर्देशक दमयन्ती श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले रेबिजमुक्त जिल्ला बनाउन स्थानीय जनप्रतिनिधिलाई प्रेरित गर्नुभएको थियो । प्रतिबद्धतापत्रमा रेबिज नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत, साधन, खोप, जनशक्ति तथा प्रविधिको प्रयोग, घरपालुवा कुकुरको दर्ता, बन्ध्याकरण र फोहरमैला व्यवस्थापनलगायत कार्यबाट सामुदायिक कुकुरको सङ्ख्या नियन्त्रण गर्ने, रेबिज नियन्त्रणका लागि तीन तहका सरकारबीच समन्वय गरी सहयोग आदानप्रदान गर्ने तथा जनचेतनामूलक कार्य प्रभावकारीरूपमा सञ्चालन गर्न सञ्चारमाध्यमको अधिकतम् उपयोग गर्ने उल्लेख गरिएको छ ।
रेबिजलाई शून्य बनाउन प्रतिबद्धता जनाइएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले बताउनुभयो । “यसमा सबैको उल्लेख्य भूमिका रहनुपर्दछ”, उहाँले भन्नुभयो । घरमा कुकुर पाल्दा अपनाउनुपर्ने सावधानीले रेबिजजस्तो प्राणघातक रोगको शिकार बन्नु नपर्ने पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “छरछिमेकमा हिँड्ने कुकुरको अवस्थाबारे समाजका अगुवासमेत सचेत रहनुपर्दछ, अनिमात्रै कुकुरको टोकाइबाट हुने रेबिजबाट मानवीय क्षति शून्य बनाउन सकिन्छ ।”
शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट गत आर्थिक वर्ष २०७७÷७८ मा एक महिनाको अवधिमा जिल्लाको चौँरीदेउराली गाउँपालिका–६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय वृद्ध तेजप्रसाद पन्तको मृत्यु भएको थियो । पहरीको वैशाख १० गते र अन्य दुईको गतसाल चैत २९ गते उपचारका क्रममा मृत्यु भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्र प्रमुख डा मोगलप्रसाद साहका अनुसार सबैलाई मृत्युको करिब एक महिनाअघि कुकुरले टोकेको थियो । रेबिज लागेको कुकुर तथा अन्य जनावरले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ ।
यस्तै अघिल्लो आर्थिक वर्षअन्तर्गत २०७६ माघ १७ गते धुलिखेल नगरपालिका–४ का २२ वर्षीय राधाकृष्ण मगरको रेबिज रोगबाट मृत्यु भएको शाहले जानकारी दिनुभयो । मगरले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज देखिएको थियो । मृत्यु भएका चारैलाई कुकुरले टोकेको कारण रेबिज रोग लागेको थियो । रेबिजका कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईको समेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेको थियो ।
दुई महिनाअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरमा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । साथै केन्द्रले चौँरीदेउराली गाउँपालिकामा तीनको मृत्यु भएपछि, बनेपा नगरमा गत साल पुस तथा धुलिखेल नगरमा यही असार ८ गते सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षण गरेको थियो । नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा यसविरुद्धको २०० भ्याक्सिन पठाइएको थियो ।
केन्द्रले प्राणघातक रोग रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका प्रमुख नगर बनेपा, धुलिखेल र पनौतीमा गरेको सर्भेबाट सात हजार ५०० सामुदायिक तथा छाडा कुकुर रहेको जनाएको छ । यसमध्ये तीन हजार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउँदै स्थायी बन्ध्याकरण गरिएको साहले बताउनुभयो । उहाँले भन्नुभयो, “तीन नगरको बाँकी कुकुरलाई क्रमशः भ्याक्सिन लगाउँदै बन्ध्याकरण गरिनेछ ।” उहाँका अनुसार जिल्लाको १३ स्थानीय तहमा ककुकुरको सर्भे गर्दै भ्याक्सिन तथा बन्ध्याकरण कार्यक्रम विस्तार गर्दै लगिनेछ । सम्भावित जोखिम न्यूनीकरण गर्न हाल दुई हजार भ्याक्सिन केन्द्र राखिएको छ ।
केन्द्रले बागमती प्रदेशस्थित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालाय हेटौँडाको सौजन्य तथा नेपाल एमिल बेलफेयर एण्ड रिसर्च सेन्टर (नार्क)को प्राविधिक सहयोगमा समयसमयमा सामुदायिक तथा छाडा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्ता कार्यक्रममा सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिजविरुद्धको खोप तथा स्थायी बन्ध्याकरण गर्ने गरिएको छ । साथै सामुदायिक र छाडा कुकुरलाई रेबिजविरुद्धको खोप र स्थायी बन्ध्याकरण तथा रोगबारे जनचेतना फैलाउँदा रोगको न्यूनीकरण गर्न सकिने जनाइएको छ ।
चिकित्सकका अनुसार सुरुमा घरपालुवा वा अन्य जनावरको ¥यालमा रहेका रेबिज भाइरस टोकाइबाट शरीरमा प्रवेश गर्दछ । भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्ने गर्दछ । मानिसमा यो रोग लागेपछि ढिलोचाँडो मृत्यु निश्चित हुने गर्दछ ।
स्वास्थ्य तथ्याङ्कअनुसार नेपालमा वर्षेनी २०० बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको छ । प्राणघातक रेबिज रोग नियन्त्रणका लागि अन्तर्राष्ट्रियरूपमा जनचेतना जगाउन तथा सरोकारवालाबीच ऐक्यबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रूपमा मनाउने गरिएको छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्यसमेत लिइएको छ ।



प्रतिक्रिया