सभापतिमा उम्मेदवारी दिन्छु ः कांग्रेस नेता सिंह

सभापतिमा उम्मेदवारी दिन्छु ः कांग्रेस नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । कांग्रेस नागार्जुन नगरसमितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको हो ।

विसं २०७२ मा भएको पार्टी १३औँ महाधिवेशनमा आफू सभापतिमा नउठेर नेताद्वय रामचन्द्र पौडेल र शशाङ्क कोइरालालाई सभापति र महामन्त्रीमा सघाएको उल्लेख गर्दै भन्नुभयो, “अहिलेसम्म काठमाडौँबाट को पार्टी सभापति भएको छ ? के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने ?” उहाँले नेता पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको धारणा व्यक्त गर्दै नेताहरुले कार्यकर्ताको अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो । नेता सिंहले पार्टीमा गुटउपगुटको अन्त्य गरी संस्थागत गर्नुपर्ने बताउँदै १४औँ महाधिवेशनपछि जनताले खोजेजस्तो कांग्रेस बन्ने विश्वास व्यक्त गर्नुभयो ।आफूलाई नेता तथा कार्यकर्ताले सभापतिका लागि अगाडि बढ्न सुझाव दिएको बताउँदै उहाँले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

यो पनि – पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्छ ः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट कांग्रेसलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिका नवनिर्वाचित पदाधिकारीको आज ‘बधाई तथा सम्मान’ कार्यक्रममा बोल्दै उहाँले नयाँ युगमा पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको हो । “स्थानीय तहदेखि नै कार्यक्रम बनाएर पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीको १४औँ महाधिवेशनपछि आर्थिक रुपमा जनतालाई बलियो बनाउने गरी कांग्रेसले कार्यक्रम अगाडि सार्नुपर्ने उल्लेख गर्दै आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एकपटक कांग्रेस नेतृत्व गर्ने अवसर पाउनुपर्ने बताउनुभयो । प्रजातन्त्र जोगाउन र पार्टीलाई संस्थागत गर्नका लागि आफू सभापतिमा लड्न लागेको उहाँको भनाइ छ । “बुबा गणेशमानले राजनीतिमा त्याग गरे भनेर छोराले त्याग गर्नुपर्छ भन्ने छैन”, नेता सिंहले भन्नुभयो । उहाँले राजनीतिलाई सेवाको रुपमा लिनसमेत सबैलाई आग्रह गर्दै अब कांग्रेसमा नेतृत्व गर्ने पालो काठमाडौँको भएको बताउनुभयो ।