प्रदेश नं १ सरकारको पहिलो संरचना प्रदेश भवनको निर्माण कार्य सम्पत्र भई आज उद्घाटन भएको छ । विसं २०७७ असोज १ गते शिलान्यास भएको सो भवन रु दुई करोड ५१ लाख ८१ हजारमा स्वामी नारायण निर्माण सेवा प्रालि धरानले बनाएको हो । भवनमा फर्निचरमा रु १६ लाख ६३ हजार, साउण्ड सिस्टममा रु १६ लाख ४३ हजार र आन्तरिक सजावटमा रु १७ लाख ७७ हजार थप खर्च भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । सातौँ अधिवेशन नयाँ भवनमा सञ्चालन गर्ने गरी तयार गर्न ठेक्का पाएको निर्माण कम्पनीद्वारा निर्मित सो भवनमा यही असोज २२ गतेदेखि प्रदेशसभा नवौँ अधिवेशन सञ्चालन हुन गइरहेको छ । करिब ३०० मानिस अट्ने क्षमता भएको सभाहल सुविधा सम्पन्न वातानुकूलित छ ।
प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेश सभाहलको उद्घाटन गर्दै संसद् जनताको आवाज बोल्ने थलो भएको बताउनुभयो । उहाँले जनताको आवाज र मागबारे जनप्रतिनिधि सांसदहरूले छलफल गर्ने थलो संसद् भवनले जनताको समस्या समाधान गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।मुख्यमन्त्री आचार्यले संविधानको प्रतिकूल हुने कुनै पनि काम नगर्ने भन्दै देश बनाउन र जनताको काम गर्न सहमतिको सरकार बत्रुपर्ने धारणा राख्नुभयो । उहाँले नेकपा एमाले पार्टीको आगाडि संसद्मा सबै दल होचै भएकाले लोकतन्त्रको सुदृढीकरण राष्ट्र सार्वभौमसत्ता रक्षा गर्न सबै एकजुट भएर लाग्नुपर्ने सुझाउनुभयो । सबै दलहरु अल्पमतमा नै रहेको बेलामा कसलाई नेतृत्व हस्तान्तरण गर्ने प्रतिप्रश्न गर्दै मुख्यमन्त्री आचार्यले लडाइँ झगडा गर्नुको साटो मिलेर गइयो भने देश र समाजको विकास गर्न सकिने कुरामा जोड दिनुभयो ।
सभामुख प्रदीपकुमार भण्डारीले विचार, कानून र बहस गर्ने संसद् भवनको निर्माणले यस प्रदेशमा सदन चलाउन सहज भएको बताउनुभयो । उपसभामुख सरस्वती पोखरलले संसद् भवनको अभावमा सभा सञ्चालन गर्न विगतमा भएका कठिनाइ दूर भएको विचार राख्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राई, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयराम यादव र प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले नयाँ भवनले सांसदलाई जनताको काम गर्न उत्साह र जाँगर प्रदान गर्ने बताउनुभयो । सोही अवसरमा जिल्ला समन्वय एकाइ मोरङका संयोजक नरेशकुमार पोखरेल र प्रदेशसभा सचिव गोपालप्रासद पराजुलीले पनि भवन उपादेयता बारेमा चर्चा गर्नुभएको थियो ।
यो पनि – खेल पर्यटनका माध्ययमबाट सुदूरपश्चिमलाई चिनाउँछौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खेल पर्यटनका माध्यमबाट सुदूरपश्चिमलाई चिनाउने बताउनुभएको छ । कैलालीको धनगढीमा आज सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले त्यसका लागि प्रदेश सरकार योजनाबद्ध रूपमा अघि बढेको बताउनुभयो । सरकार खेलाडीको सम्मान तथा खेलकुदको विकासका लागि अग्रसर रहेको बताउँदै उहाँले राष्ट्र तथा प्रदेशलाई चिनाउनका लागि अग्रसर रहेका खेलाडीको सम्मान र खेल क्षेत्रको विकासका लागि पूर्वाधारको व्यवस्थापनमा प्रदेश सरकारले कुनै कमी नगर्ने उल्लेख गर्नुभयो ।
सुदूरपश्चिम सरकारले खेलकुदको विकासका लागि कार्यकालको सुरुआतबाटै मुख्यमन्त्री कपको आयोजना गरेको बताउँदै उहाँले प्रदेशका ८८ वटै स्थानीय तहमा खेलकुद परिषद्को संरचनाको कामलाई तीव्रता दिएको बताउनुभयो । प्रदेश सरकारले खेलकुद प्रशिक्षणका गतिविधि र सबै जिल्लामा पूर्वाधारको विकासका लागि तीव्रताका साथ काम गरिरहेको उहाँको भनाइ छ ।
सो कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले प्रदेशको खेलकुद क्षेत्रलाई थप चलायमान बनाउन खेलकुद परिषद्लाई थप सक्रिय बनाउने काममा प्रदेश सरकार लागिपरेको बताउनुभयो । प्रदेशका नौ जिल्लाका टिमले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई नगद रु एक लाखसहित ट्रफी दिइने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहको भनाइ छ । उहाँका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद रु ५० हजारसहित ट्रफी दिइनेछ । प्रतियोगिताको सेमिफाइनल सम्म पुग्ने दुई टिमलाई रु २५÷२५ हजार नगदसहित ट्रफी दिइनेछ भने विभिन्न पाँच वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनमा झण्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ । जिल्लालाई टिम छनोटका लागि सुरुमा रु ५० हजार दिइएकामा जिल्लाले आफ्नो जिल्लाको टिम छनोट गरेका छन् । प्रतियोगितामा सहभागी सबै जिल्लाको टिमको यातायातदेखि खाने बस्ने सबै खर्च सुदूरपश्चिम खेलकुद परिषद्ले बेहोर्ने सदस्य सचिव सिंहले बताउनुभयो ।सुदूरपश्चिममै पहिलोपटक म्याटमा प्रतियोगिता सञ्चालन हुँदैछ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने सिंहले बताए । उनले ती खेलाडीलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ ।
ढाई वर्षपछि पाए पुरस्कार रकम
धनगढीमा २०७५ साल चैतमा सम्पन्न मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता च्याम्पियन टोली सुदूरपश्चिम प्रदेशका खेलाडीले ढाई वर्षपछि पुरस्कार रकम पाएका छन् । सुदूरपश्चिम खेलकुद परिषद्ले पुरस्कार रकम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीलाई दिएको हो ।ढाई वर्षसम्म सुदूरपश्चिम खेलकुद विकास समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त खातामा रहेको रकम बल्ल आएर खेलाडीलाई वितरण गरिएको हो । विभिन्न खेलमा पदक जितेका खेलाडीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नगद रकमसहित खेलाडीलाई सम्मान गर्नुभयो ।
उहाँका अनुसार व्यक्तिगततर्फ पहिलो हुनेलाई रु ३५ हजार दोस्रो हुनेलाई रु २५ हजार र तेस्रो हुनेलाई रु १५ हजार नगद दिइएको छ । त्यस्तै समूहतर्फ प्रथम हुने टिमलाई जनही रु २८ हजारका दरले रकम दिइएको छ । त्यस्तै तीन खेलका प्रशिक्षकले प्रतिव्यक्ति नगद रु ११ हजार दिइएको छ । प्रतियोगितामा आयोजक सुदूरपश्चिम प्रदेश तीन स्वर्ण, एक रजत र तीन कास्यसहित च्याम्पियन बनेको थियो । च्याम्पियन टोलीले १५ लाख नगदमा सरकारी कर कट्टा गरी रु ११ लाख २५ हजार रकमलाई वितरण गरिने भएको छ ।
ब्याडमिन्टनमा दुई स्वर्ण जित्ने देवराज राना र जेबी साउदले जनही रु ३५÷३५ हजार पाउँदा रजत जित्ने नीलिमा महारा र रोशन साउदले जनही रु २५÷२५ हजार पाउनुभयो । त्यस्तै कास्य पदक जित्ने रोशन साउद प्रियशु सिंह क्षेत्री, अमृत चौधरी, योगेश खड्का र एलिना तिरुवाले जनही रु १५÷१५ हजार पानुभयो । प्रशिक्षक मेघराज कठायतले नगद रु ११ हजार प्राप्त गर्नुभयो ।
सुदूरपश्चिमको पुरुष फुटबल र महिला क्रिकेट टोलीले पनि स्वर्ण जितेको थियो । टोलीका सदस्यले जनही रु २८÷२८ हजार पाएका छन् । क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र क्षेत्रीले नगद रु ११ हजार पाउँदा १४ जना खेलाडीले रु २८ हजारका दरले रकम पुरस्कार प्राप्त गर्नुभयो । पुरस्कार पाउनेमा कविता कुँवर, कविता जोशी, विन्दु रावल, ईश्वरी विष्ट, जानकी भट्ट, सुमन विष्ट, डल्ली भट्ट, रेवती धामी, निशा भट्ट, मञ्जु बोगटी, लक्ष्मी साउद, रुवी पोदार, सम्झना खड्का र शोभा रोकाया रहेका छन् ।
पुरुष फुटबलमा प्रशिक्षक रोहित भण्डारीले रु ११ हजार पाउँदा टोलीका १८ जना सदस्यले रु २८ हजारका दरले रकम पुरस्कार प्राप्त गर्नुभयो । पुरस्कार पाउनेमा गजेन्द्र शाही, माधव भण्डारी, राकेश हमाल, नरेन्द्र चौधरी, कमल देउवा, सन्दीप कुँवर, भगेन्द्र चौधरी, अमानत सेख, जीवन चौधरी, चेतमान कठायत, हिक्मत खत्री, उनेश रेग्मी, टीका थापा, सुनिल धामी, सुनिल शाह, सुरेन्द्र राना, वीर धामी र प्रवीन दाहाल रहेका छन् ।



प्रतिक्रिया