उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढ्यो

उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । वाग्मती प्रदेशमा १३ जिल्ला छन् । काठमाडौँ उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो । उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्म रु २३, १५ किलोमिटरसम्म रु २७, २० किलोमिटसम्म रु ३० र २० किलोमिटरभन्दा माथि रु ३५ भाडादर कायम गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विसं २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट विसं २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताउनुभयो । ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने उहाँको भनाइ थियो ।

यो पनि – बजार अनुगमन दुई पसललाई जरिवाना

दसैँ नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा आज भएको बजार अनुगमनमा दुई पसललाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर भक्तपुर, सूर्यविनायक नगरपालिका, घरेलु तथा साना उद्योग, स्थानीय तह, खाद्य कार्यालय, नाप तौल कार्यालयलगायतका प्रतिनिधि सम्मिलित अनुगमन टोलीले सूर्यविनायक र मध्यपुरथिमिका विभिन्न पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा कालो बजारी गर्ने दुई पसललाई कारबाही गरी २० हजार जरिवाना लगाइएको अनुगमन टोलीका सहभागी एवं सूर्यविनायक नगरपालिकाका अनुगमन अधिकृत सुरज पौडेलले जानकारी दिनुभयो ।

त्यसैगरी म्याद नाघेको घ्यू, विभिन्न ब्राण्डका पेय पदार्थ, दही, बिस्कुट, क्यान जुस, जाम, अचार गरी रु १६ हजार बराबरको नष्ट गरिएको छ । त्यस्तै भक्तपुर नगरपालिकाले आज गरेको मासु पसल अनुगमनमा अधिकांश मासु पसल झिङ्गा भन्केको, बासी र गन्हाउने मासु बिक्री गरेको पाइएको छ ।

भनपाको ब्रह्मायणी र तुमचो दुगुरे आवास क्षेत्रमा रहेको अनुगमनमा पशु बधशाला र मासु पसल न्यूनतम मापदण्ड पनि पूरा नभएको, दर्ता नगरेको, गन्हाउने मासु र सुकाएको मासु एकै ठाउँमा राखेर बिक्री गरेको पाइएको अनुगमन निरीक्षक रामप्रसाद प्रजापतिले जानकारी दिनुभयो ।