बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याजदरमा समेत वृद्धि भइरहेकामा नेपाल उद्योग परिसङ्घले ध्यानाकर्षण भएको जनाएको छ । तरलता र ब्याजदरमा परेको चापप्रति सरकार र नेपाल राष्ट्र बैंकले चनाखो हुने हो भने यो समस्या समाधान हुने परिसङ्घको बुझाइ छ । बैंक तथा वित्तीय संस्थाले हाल तरलताको चाप देखिनुको मुख्य कारण कर्जा स्रोत परिचालन अनुपात हटाई कर्जा–निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुलाई मानेको भन्दै परिसङ्घले चाडपर्वका समयमा नयाँ मुद्रा निकाल्ने प्रचलनलेसमेत तरलतामा चाप परेको स्पष्ट पारेको छ । समस्या समाधानका लागि कर्जा–निक्षेप अनुपात तत्काल ९० प्रतिशतमा कायम गर्दा उत्पन्न समस्यालाई आगामी पुस मसान्तसम्ममा ९५ प्रतिशत अनुपात कायम भए हुने तथा आगामी असार मसान्तभित्र क्रमशः ९० प्रतिशतसम्ममा ल्याउनुपर्ने गरी निर्देशन जारी हुनुपर्ने परिसङ्घको भनाइ छ ।
तरलताको चाप रहने आँकलन गरिएका आगामी दुई महिनाका लागि संस्थागत निक्षेपकर्ता तथा बैंक तथा वित्तीय संस्थालाई संयमता अपनाउन परिसङ्घले आग्रह गरेको छ । अधिक ब्याज पाउने नाममा छिटोछिटो निक्षेप नसार्न संस्थागत निक्षेपकर्तालाई परिसङ्घले अनुरोध गर्दै छोटो अवधिको निक्षेप स्वीकार गर्दा ब्याजदर बढ्ने जोखिमप्रति बैंक तथा वित्तीय संस्थासमेत जिम्मेवार बन्नुपर्ने परिसङ्घको ठहर छ ।
यो पनि – कांग्रेसको प्रतिनिधिमण्डल र भाजपाका अध्यक्षबीच नयाँदिल्लीमा भेटवार्ता
भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच आज साँझ भेटवार्ता भएको छ ।नेपाली कांगे्रसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताको टोलीले आज साँझ भाजपाका अध्यक्षसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले जानकारी दिनुभयो ।सो भेटका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा कुराकानी भएको थियो । नेपाली प्रतिनिधिमण्डल र भाजपा अध्यक्षसहितको सो प्रतिनिधिमण्डलबीच भएको सो छलफलमा दुवै पार्टीको सङ्गठन गर्ने शैलीका साथै अन्य साङ्गठनिक आदानप्रदानका बारेमा कुराकानी भएको सहमहामन्त्री डा महतले बताउनुभयो ।
भेटका क्रममा अध्यक्ष नड्डाले भारत र नेपालबीचको सदियौँ पुरानो सम्बन्धको प्रसङ्ग उल्लेख गर्दै भारतले नेपाललाई कहिल्यै पनि ठूलो दाजुको मानसिकताबाट नहेरेको र हेर्न नहुने स्पष्ट गर्नुभएको सहमहामन्त्री डा महतले जानकारी दिनुभयो ।समयसमयमा हुने यस्ता प्रकारका भ्रमण र भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न र कतिपय संवेदनशील विषयको बुझाइ र समझदारीमा पनि सहयोग पुग्ने धारणा अध्यक्ष नड्डाले राख्नुभएको पनि डा महतले जानकारी दिनुभयो ।
उहाँले भारतीय जनता पार्टी तथा भारत सरकारले नेपाली नागरिकको भावनाको सदैव सम्मान गर्ने भन्दै दुवै देशका नागरिकको भावना बुझेर जनताजनताबीचको सम्बन्धलाई थप विकसित गर्ने पक्षमा भाजपा र नेपाली कांग्रेस लाग्नुपर्ने पनि बताउनुभएको थियो ।भेटका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाजपा अध्यक्ष नड्डालाई दिनुभएको नेपाल भ्रमणको निमन्त्रणा आफूले हस्तान्तरण गरेको जानकारी पनि डा महतले दिनुभयो ।
उक्त द्विपक्षीय भेटमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि हुनुहुन्थ्यो । पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका सहमहामन्त्री डा महतको निमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आउनुभएको थियो । त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा डा महत नेतृत्वको टोली आज भारत पुगेको हो । सो टोलीले पाँच दिनको भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया