कांग्रेस बाजुराको सभापतिमा रावल विजयी

कांग्रेस बाजुराको सभापतिमा रावल विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनबाट सभापतिका उम्मेदवार रामसिंह रावल विजयी हुनुभएको छ । रावल ६०५ मत ल्याएर सभापतिमा विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी कविराज पण्डितभन्दा ३९ मतान्तरले रावल विजयी हुनुभएका निर्वाचन समितिले घोषणा गरेको हो । उपसभापतिमा पदम बडुवाल ७४८ र नारायण पाध्याय ७५६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत सन्तोष भण्डारीले बताउनुभयो । उहाँका अनुसार सचिवमा तिलकराज पुरी ५६५, भरतबहादुर रोकाया ५१४, सहसचिवमा कृष्णराज पाध्याय ४६६, सुरेन्द्रबादुर सिंह ३८० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो । पहिलो चरणको निर्वाचनमा तीन जना उम्मेदवारले कूल खसेको एक हजार २०५ मतको ५१ प्रतिशत नल्याउँदा बिहीबार दोस्रो चरणको मतदान गरिएको थियो ।

पहिलो चरणमा पण्डित, चक्रबहादुर शाह र रावलले सभापतिमा उम्मेदवारी दिनुभएको थियो । उहाँहरुले खसेको मतको ५१ प्रतिशत नल्याउँदा बिहीबार पुनः मतदान गरिएको थियो । सभापतिका उम्मेदवार शाहको समूहले रावललाई समर्थन गरेको थियो ।

यो पनि – मुलुकलाई सङ्कटबाट उतार्न कांग्रेस नेतृत्व आवश्यक : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकका हरेक सङ्कटमा नेपाली कांग्रेसमाथि थप जिम्मेवारी आउने गरेको बताउनुभएको छ ।नेपाली कांग्रेस पोखरा महानगर समितिले दसैँ, तिहार, नेपाल संवत्, छठ तथा इदको अवसरमा बिहीबार आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले गत चुनावमा कम्युनिष्टले दुईतिहाइ ल्याएपछि कांग्रेस निर्धक्कसँग प्रतिपक्षमा बसेको र उनीहरुबीचकै कलहले संवैधानिक सङ्कट निम्तिएपछि कांग्ेसले अघि सर्नुपरेको बताउनुभयो ।

उहाँले कांग्रेस प्रतिपक्षमा बस्दा पनि रचनात्मक भूमिका खेलेको स्मरण गर्नुभयो । विसं २०६४ को चुनावमा माओवादी ठूलो पार्टी बने पनि संविधानसभाले संविधान दिन नसक्दा कांग्रेसले नै अग्रसरता लिनुपरेको उल्लेख गर्दै उहाँले विगतका घटनाले आफूहरूलाई पाठ सिकाएको र विकास तथा समृद्धिका लागि कांग्रेसकै नेतृत्व आवश्यक पर्ने गरेको बताउनुभयो ।

कांग्रेस १४औँ महाधिवेशनमा लागिरहँदा वडा, पालिका र हिमाली जिल्लामा चुनाव भइसकेकाले उहाँले अब पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । पार्टीभित्र हुने आन्तरिक लोकतन्त्रका लागि चुनावी प्रक्रिया अपनाइए पनि यसलाई सहजरूपमा लिन उहाँले कार्यकर्तासँग आग्रह गर्नुभयो । नगर सभापति सुरेन्द्र बिजुक्छेले कांग्रेस संस्थापक बिपी कोइरालाले सुरु गर्नुभएको चियापान समारोहलाई जिल्ला र पालिकास्तरसम्म पनि निरन्तरता दिइएको बताउनुभयो । कांग्रेस कास्कीको चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा मन्त्रीद्वय कुमार खड्का, बिन्दुकुमार थापा, पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, शुक्रराज शर्मा, महादेव गुरुङ, कास्की सभापति कृष्ण केसीलगायतको उपस्थिति थियो ।

‘गाउँ–गाउँमा खेलकुदका पूर्वाधार’

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले प्रदेशभित्र गाउँ–गाउँमा खेलकुदका भौतिक पूर्वाधार विकास गर्दै खेलकुदलाई प्राथमिकता दिइने बताउनुभएको छ । युनाइटेड युथ क्लब रिसान थालाजुङ गोरखाद्वारा आयोजित शुभकामना आदानप्रदान तथा खुला फुटबल प्रतियोगिताको बिहीबार उद्घाटन गर्दै उहाँले मन्त्रालयले सबै विधाका खेलाडीलाइ प्रोत्साहन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडीले राम्रो नतिजा ल्याउन अभिप्रेरित गर्ने बताउनुभयो ।

प्रदेशभित्रका सम्पूर्ण गाउँका खेलमैदानको अवस्था निरीक्षण गरी भौतिक पूर्वाधार भत्केका, बिग्रेका र अहिलेसम्म प्रयोगमा आउन नसकेका खेलमैदानको पुनःनिर्माण गर्ने उहाँले बताउनुभयो । राम्रो खेलमैदान भएपछि खेलाडीलाई प्रोत्साहन हुने र यसले राम्रो नतिजा ल्याउने उहाँको भनाइ छ ।

मन्त्री गुरुङले खेलका लागि आवश्यक फुटबल, भलिबल, नेट जालीलगायतका सामग्री जिल्लाका विभिन्न क्लबका अध्यक्ष तथा खेलाडीलाई हस्तान्तरण गर्नुभयो । यही असोज २६ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा चितवन, काठमाडाँै, लमजुङ, तनहुँलगायत जिल्लाबाट २१ टोलीको सहभागिता रहेको युनाइटेड युथ क्लब रिसान थालाजुङका अध्यक्ष रामकुमार गुरुङले जानकारी दिनुभयो ।