कोरोना विशेष अस्पताल बेलझुण्डीलाई आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सारिएकोे छ । भौतिक संरचना निर्माण सम्पन्न भएपछि अस्पताललाई तुलसीपुरमा सारिएको होे । तुलसीपुरमा कोरोना छुट्टै इकाइको स्थापना गरी सो अस्पताललाई हस्तान्तरण गरिएको छ । सो कोरोना एकाइको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्नुभयो ।
कोभिडको सम्भावित तेस्रो भेरियन्टलाई मध्यनजर गरेर बालबालिका उपचार इकाइसहित, आइसियु, एनआइसियु, अक्सिजन प्लान्टसहित कोरना उपचार सेवा सुरु गरिएको उहाँले बताउनुभयो । नगरप्रमुख पाण्डेले अब कोरोनाको सबै उपचार यहीबाट हुने उल्लेख गर्दै कोरोना उपचारमा अहोरात्र खट्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक र नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय आयुर्वेदिक चिकित्सा अध्ययन संस्थानलाई बेलझुन्डीलाई कोरोना विशेष अस्पताल सञ्चालनमा सहयोग गरेको धन्यवाद व्यक्त गर्नुभयो ।
भौतिक संरचना अभावका कारण लुम्बिनी प्रदेश सरकारले बेलझुन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद चिकित्सा अध्ययन संस्थानको भवनमा गत वर्ष कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको थियो । साविकका राप्ती पाँच जिल्लाका नागरिकलाई लक्षित गरी स्थापना गरिएको सो अस्पतालबाट दैनिक दुई हजार बढी कोरोनाका बिरामीले सेवा पाएका थिए ।
यो पनि – उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप
नेपालमा कोरोना भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाइएको छ । असोजमसान्तमा कुल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यअनुसार हालसम्मको तथ्याङ्कअनुसार सो लक्षित जनसङ्ख्यालाई खोप लगाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले देशभर पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको छ । उहाँका अनुसार पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १६४ जनालाई खोप लगाइएको छ । अठार वर्ष भन्दामाथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ ।
यस्तै काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार १७ लाख ४५ हजार ५७० जना र पूर्णमात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ वर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् ।
यो पनि – पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना संक्रमित, १० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ७६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० हजार ६८८ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित सङ्ख्या १५ हजार ६१४ रहेका छन् । पाँच सय बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० बढी सङ्क्रमित भएका जिल्ला २० छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् । सङ्क्रमण दर १८.७ प्रतिशत छ । सो अवधिमा एक हजार ३३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ७४ हजार १७३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ ।
यस्तै सङ्क्रमणबाट आज १० जनाको मत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २१० जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३१३ जना सघन उपचार कक्ष (आइसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार ४६१ जना होम आइसोलेसन, एक हजार १५३ जना संस्थागत आइसोलेशन र २४१ जना क्वारेन्टिनमा छन् । आज ४३ हजार ९४१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८० लाख ४१ हजार ५९४ पहिलो मात्रा र ६४ लाख ४१ हजार ६३२ पूर्णमात्राको खोप लगाइसकेका छन् ।



प्रतिक्रिया