कोभिडका कारण लामो समय बन्द रहेको मनकामना केवुलकारमा यति बेला यात्रुको चाप बढ्दै गएको छ । गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको केवलकारमा नौरथा लागेसँगै यात्रुको चाप बढेको हो । मनकामना दर्शन प्रालिका सहायक महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार बिहीबार केवलकार यात्रा गर्नेको सङ्ख्या दुई हजार ३०० रहेको थियो । खुलेको पहिलो दिन भदौ २३ गते ५०० हाराहारी रहेको सङ्ख्या क्रमशः बढ्दै गएको हो । गएको वैशाख १६ गतेदेखि केवलकार बन्द रहेको थियो ।
कोभिडका कारण ठूलो नोक्सान बेहोर्नुपरेको शेरचनले बताउनुभयो । विगतका वर्षमा यात्रुको चाप हुँदै गर्दा एकै दिन आठ हजार ८०० सम्म यात्रुले केवलकार चढेको तथ्याङ्क छ । चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारस्थित चेरेसमा केवलकारको मुख्य स्टेशन छ । त्यहाँबाट गोरखाको मनकामनामा केवलकार चढेर मन्दिरको दर्शन गर्न भक्तजन जाने गर्दछन् । भारतीय पर्यटक आइनसकेकाले सङ्ख्या धेरै बढेको छैन । भारतीय पर्यटक आएसँगै यो सङ्ख्या बढेर जाने शेरचनले बताउनुभयो ।
यो पनि – सामुदायिक विद्यालयका शिक्षकले तलब पाएनन्
सल्यानका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतमा पढाइरहेका शिक्षकले तलवसुविधा नपाएको गुनासो गरेका छन् । भैरवी आधारभूत विद्यालयमा विगत १२ वर्षदेखि निजीस्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएकोले दैनिक गुजारा गर्न निकै समस्या भएको बताउनुभयो । “विगत झैँ यो वर्षको चाड खल्लो हुने भयो । पारिश्रमिक आउने निश्चित नहुँदा थप अन्यौल थपिएको छ”, बुढाले भन्नुभयो ।
विज्ञान विषय पढाउँदै आउनुभएका बर्दियाका युवराज विष्टले दुई वर्षको पारिश्रमिक नपाएपछि विद्यालयबाट राजीनामा दिएर घर फर्किएको बताउनुभयो । आफँुसँगै तीन शिक्षकले तीन वर्षदेखि तलव नपाएको उहाँको दुखेसो छ । विगतमा नियमित पाउँदै आएको तलबभत्ता विगत एक वर्षदेखि रोकिएको जय नेपाल आधारभूत विद्यालयका शिक्षक तिलक बुढाले बताउनुभयो । तलव नपाएपछि धेरै शिक्षकले छाडेर गएको भएपनि स्थानीय भएकाले विद्यार्थीको भविष्य हेरेर आफूले छोड्न नसकेको उहाँको भनाइ छ । “छोडेर जाने हो विद्यार्थीको भविष्य अन्योलमा पर्ने, नछोडौँ आफ्नो भविष्य अन्योलमा परी रहेको छ”, बुढाले भन्नुभयो ।
विद्यालय समुदायको स्वैच्छिक शुल्क र अन्य स्रोतबाट सञ्चालन भइरहेकाले निजी स्रोतमा पढाउने शिक्षक तलब बिहीन बन्नु परी रहेको प्रधानाध्यापक रामप्रसाद शर्माले जानकारी दिनुभयो । नगरपालिकामा धेरै पटक अनुदानको व्यवस्था गरिदिन आग्रह गरेपनि सुनुवाइ नभएको उहाँको भनाइ छ । “विद्यालय नै बन्द गर्ने अवस्था आयो भन्दा पनि विद्यालय बन्द गर्न नदिने तर सहयोग पनि आइरहेको छैन”, शर्माले भन्नुभयो ।
बनगाड कुपिण्डेमा सञ्चालन भएका अधिकांश आधारभुत विद्यालयमा पढाइ रहेका निजी स्रोतका शिक्षकले वषौंदेखि पारिश्रमिक पाएका छैनन् । जिल्लामा विद्यार्थी अनुसारका दरवन्दीमा शिक्षक नहँुदा विद्यालयले न्यूनतम पारीश्रमिकमा शिक्षक भर्ना गरेर पठनपाठन सञ्चालन गर्दै आएका छन् । तर विद्यालयमा आर्थिक स्रोत अभावका कारण निजी स्रोतका शिक्षकलाई तलव उपलव्ध गराउन नसक्दा शिक्षक मर्कामा पर्दै आएका छन् ।



प्रतिक्रिया