भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका सबै सरकारी कार्यालयलाई तत्काल सूचना अधिकारी तोक्न निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज प्रजिअ शर्माको नेतृत्वमा सरकारी कार्यालयका सूचना अधिकारी, प्रतिनिधि र सञ्चारकर्मीबीच भएको छलफलमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
आफू प्रजिअ भएर आएकै भोलिपल्ट भक्तपुर जिल्ला प्रशासन कार्यालयको जीर्ण बोर्ड परिवर्तन गर्नुको साथै उहाँले आजै कार्यालयमा नेपालको झण्डा फेर्नु भएको छ । उहाँले जिप्रका भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी सीता परियारको बोर्ड सबैले देख्ने ठाउँमा राखेर सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन र जिल्लाका अरु सरकारी कार्यालयलाई पनि तत्काल सूचना अधिकारी तोक्न निर्देशन दिनुभएको हो ।
प्रजिअ शर्माले भन्नुभयो, “सबै कार्यालयले तत्कालै सूचना अधिकारी तोक्न, सूचना अधिकारीलाई सूचनाको हकसम्बन्धी अधिकार दिन र सूचना अधिकारी तोक्न बाँकी भएको कार्यालयमा तत्काल सूचना अधिकारी तोकेर सर्वसाधारणलाई सूचना उपलब्ध गराउने व्यवस्था गर्नुहोस् ।” सूचना अधिकारी तोकेर सेवाग्राहीले सजिलै देख्ने ठाउँमा फोटो, इमेल, फोन नम्बरसहितको बोर्ड राख्नसमेत उहाँले निर्देशन दिँदै सूचना अधिकारीलाई व्यक्तिगत नम्बर नभइ कार्यालयले छुट्टै नम्बर उपलब्ध गराउनसमेत निर्देशन दिनुभयो । सूचना अधिकारीलाई कार्यालयको सबै सूचना उपलब्ध गराउने र सबै नागरिकमा सूचनाको पहुँच पु¥याउने गरी सेवाग्राहीले सूचना आवश्यक र ऐनले व्यवस्था गरेको दायराभित्र रहेर सूचना प्रवाह गर्न उहाँले निर्देशन दिनुभयो ।
सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा ३ र ४ को सूचनाको हकसम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम प्रत्येक तीन महिनामा प्रकाशित गरी विवरण आ–आफ्नो कार्यालयको वेभसाइटमा राख्ने तथा सूचना पाटी, बुलेटिनमार्फत प्रकाशन गर्ने र उक्त विवरण जिल्ला प्रशासन कार्यालयमा नियमितरुपमा पठाएर प्रशासनको एकीकृत विवरणसमेत वेभसाइटमा राख्ने व्यवस्था गर्ने निर्णय भएको छ । संस्था दर्ता ऐन २०३४ बमोजिम दर्ता भएका संस्थाले पनि अब अनिवार्यरुपमा सूचना अधिकारी तोक्ने निर्णय गरेको छ । कार्यालयले गरेको कामको विवरणसमेत सञ्चारमाध्यमलाई उपलब्ध गराउन सबै सरकारी कार्यालयलाई उहाँले निर्देशन दिनुभएको छ ।



प्रतिक्रिया