वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टक्ष्मी शाक्यले विश्वासको मत लिनको लागि प्रदेश संसद्मा प्रश्ताव पेश गर्नुभएको छ । यही २४ गते बस्ने वाग्मती प्रदेशसभा बैठकमा प्रस्तावको रूपमा लैजान आज पत्र पेश गर्नुभएको छ । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८(२) बमोजिम दल विभाजन भएका वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था बमोजिम उक्त प्रस्ताव संसद्मा पेश पर्नुभएको बताउनुभयो ।
उहाँले नेतृत्व गर्नुभएको दल नेपाल कम्युनिष्ट पार्टी(एमाले) विभाजन भएर उक्त दलका १२ सांसदले नेपाल कम्युनिष्ट पार्टी(समाजवादी) रोजेपछि उहाँले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । यही २४ गते ११ बजेदेखि सुरु हुने वाग्मती प्रदेशसभाको बैठकमा उक्त प्रस्ताव पेश हुने वाग्मती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले पत्र बुझेपछी जानकारी दिनुभयो ।
यो पनि – लगानीकर्ताको सुरक्षा गर्न माग
अल नेपाल शेयरहोल्डर एशोसिएशनले सर्वसाधारण लगानीकर्ताको हकहितको सुरक्षा गर्न माग गरेको छ । नेपालको पूँजीबजार विकास र विस्तारमा नीतिगत कमजोरी रहेको र त्यसले सर्वसाधारण लगानीकर्तालाई असर गर्ने जनाउँदै धितोपत्र बोर्डले कुनै एक समूहलाई मात्र फाइदा हुने गरी बनाएको बुक बिल्डिङ निर्देशिकाबाट सर्वसाधारण तथा साना लगानीकर्तालाई फाइदा नपुग्ने हुनाले निर्देशिका खारेज गर्न माग गरेको छ ।
एशोसिएशनका अध्यक्ष अशोक उप्रेतीले आज विज्ञप्ति जारी गर्दै नियामक निकायले धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्तालाई नकारात्मक असर गर्ने कुनै किसिमको नीति बन्न नहुने जनाउनुभयो । त्यस्तै शेयरधनीले प्राप्त गर्ने कम्पनीका लाभांश पाँच वर्षसम्म बुझी नलिए नेपाल सरकारले सो रकम लगानीकर्ता संरक्षण कोषमा राख्ने र कोषमार्फत रकम सञ्चालन गर्ने प्रावधानले लगानीकर्ताको लाभांश प्राप्त गर्ने अधिकार हनन हुने जनाउँदै सो व्यवस्था संशोधन गर्न एशोसिएशनले आग्रह गरेको छ । “बजारप्रति अहिले सर्वसाधारणको चासो बढिरहेको छ, करिब ४५ लाख लगानिकर्ता रहेको पूँजी बजारमा बजारप्रति विश्वसनीयता बढाउन सम्बन्धित निकायले नीतिगत सुधार गर्नुपर्ने छ”, उप्रेतीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया