वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले तराईको मरुभूमिकरण रोक्न चुरे क्षेत्रको संरक्षण अपरिहार्य भएको बताउनुभएको छ । मन्त्रालयको आज जिम्मेवारी सम्हालेपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले तराई मधेश अन्नको भण्डार भएकाले यसको दिगो संरक्षणका लागि चुरेको संरक्षण आवश्यक रहेकामा जोड दिनुभयो ।
वन मन्त्रालय जनताको जीवनसँग जोडिएको महत्वपूर्ण मन्त्रालय भएको बताउँदै मन्त्री यादवले सरकारको साझा न्यूनतम कार्यक्रमअनुसार मन्त्रालयका नीति तथा योजना अघि बढाउने धारणा व्यक्त गर्नुभयो । सोही कार्यक्रमअनुसार चुरे क्षेत्र उत्खनन गरी ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने कार्य रोक्ने उहाँको भनाइ थियो । जैविक विविधताविरुद्ध भइरहेका अनावश्यक गतिविधि नियन्त्रण गर्न सरोकारवाला सबै निकाय सक्रियरूपमा लाग्नुपर्नेमा जोड दिँदै उहाँले जलवायुका क्षेत्रमा भइरहेका परिवर्तनले हुने क्षति रोक्न नेपालले अन्तर्राष्ट्रियस्तरमा सशक्तरूपमा कुरा उठाउनुपर्ने बताउनुभयो ।
उहाँले वन तथा वतावरणका क्षेत्रमा नकारात्मक प्रभाव पार्ने गतिविधि नियन्त्रण गर्न मन्त्रालयले महत्वपूर्ण भूमिका खेल्ने र यसका लागि कर्मचारीलाई थप प्रयत्न गर्न आग्रह गर्नुभयो । साथै उहाँले मन्त्रालयका चुनौती र समस्याको समाधानका लागि आफूले आवश्यक नीति निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।कार्यक्रममा मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेलले मन्त्रीको कार्यकाल सफल बनाउन कुनै कसर बाँकी नराख्ने बताउँदै विज्ञ कर्मचारी परिचालनका लागि नेतृत्वको प्रभावकारी भूमिकाको अपेक्षासमेत गर्नुभयो ।
सो अवसरमा मन्त्रालयका सहसचिव शिव वाग्लेले मन्त्रालयका गतिविधि, साङ्गठनिक संरचना, नीति कानूनलगायत विषयमा जानकारी गराउनुभएको थियो । आजै मन्त्रीको सपथ लिनुभएका मन्त्री यादवले नेपालको वन तथा वातावरण क्षेत्र सुधारको रणनीतिक कार्ययोजनामा हस्ताक्षर गरी पहिलो निर्णय गर्नुभएको थियो ।



प्रतिक्रिया