महोत्तरी जिल्लाको जलेश्वर–रौजा सडकखण्डमा पर्ने बजराही गाउँबाट आज प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका–८ बजराही गाउँको भित्री सडकबाट नम्बर नबुझिएको ग्ल्यामर मोटरसाइकलमा जाँदै गरेको अवस्थामा रु १० लाख चार हजार ५०० सहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जिल्लाकै मनरासिस्वा नगरपालिका–५ बस्ने मोटरसाइकल चालक ३४ वर्षीय दिपेन्द्रकुमार साह र सोही मोटरसाइकलमा पछाडि सवार भङ्गहा नगरपालिका–७ बस्ने १८ वर्षीया विन्दाकुमारी साह रहेका छन् ।
रकम बोकी दुवै जना मनरासिस्वा नगरपालिका–५ कटैया गाउँबाट धनुषाको जनकपुर जाँदै गरेको अवस्थामा प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले संयुक्तरूपमा जलेश्वर–८ स्थित बजराही गाउँको भित्री सडकमा जाँच गर्दा उनीहरु रकमसहित पक्राउ परेका हुन् ।आज पक्राउ परेका दुवैलाई रकमसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
यो पनि – अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो
अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि भएको छ । दैनिक ४५ लाख हाराहारी उत्पादन हुने अण्डा अहिले घटेर ३५ लाख हाराहारीमा झरेसँगै मूल्य बढेको हो । नेपालमा दुई हजार ७०० हाराहारी पोल्ट्री फर्म छन् । नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार नोक्सान बढेपछि धेरै किसान विस्थापित भएसँगै उत्पादन घटेको हो । उहाँले भन्नुभयो, “साना किसान विस्थापित भएका छन् ठूला स्थापित हुँदैछन् ।” अण्डा उत्पादन क्षेत्रमा मात्रै ४० हजार हाराहारीले रोजगारी पाएको उहाँको भनाइ छ । नेपालमा अण्डामा आत्मनिर्भर छ । ठूला फर्म सञ्चालनमा आएसँगै साना विस्थापित हुँदासमेत मागलाई जेनतेन धान्दै आएका छन् ।
आज नेपालमा विश्व अण्डा दिवस मनाइएको छ । यसै सन्दर्भमा पोल्ट्री व्यवसायी मञ्चले सन्देश प्रवाह गर्दै अण्डाको उपभोग बढाउन आह्वान गरेको छ । सन्देशमा अण्डामा पाइने एन्टी अक्सिडेनटले बुढ्यौली र हृदयघात रोक्न मद्दत गर्ने जनाइएको छ । आँखाको शक्ति बढ्ने र मोतीयाविन्दुको रोकथाम हुने, प्रशस्त मात्रामा पाइने क्याल्सियम फस्फोरसबाट हड्डी र दाँत मजबुत बनाउने, रक्त अल्पताबाट बचाउने, रोग प्रतिरोधी क्षमता, जवानीपन र स्मरण शक्ति बढाउने र अधिक तौल (मोटोपना) घट्न गइ फुर्तिलो बनाउन सहयोग गर्ने जनाइएको छ । मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेद्वारा जारी सन्देशमा स्वास्थका लागि अत्यावश्यक, पूर्णपाचनशिल, सन्तुलित, उच्च गुणस्तरको प्रोटिन र एमिनो भण्डार अण्डा बालकदेखि वृद्धवृद्धासम्मका लागि उत्तम प्रोटिनको स्रोत भएको उल्लेख छ ।
विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै विश्वभरका पोल्ट्री व्यवसायीको सन् १९९६ मा इन्टरनेशनल एग कमिशन स्थापना भएको र हरेका अक्टुवर महिनाको दोश्रो शुक्रबार विश्व अण्डा दिवस मनाउने परम्परा रही आएको छ ।
यो पनि – गरिबको छाप्रोमा आएन दसैँ
म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका आइते दर्जी दृष्टिविहीन हुनुहुन्छ । शारीरिक रूपमा कमजोर जन्मदेखि नै दृष्टिविहीन दर्जीको जिम्मेवारी भने थेगिनसक्नुको छ । हुर्केका दुई छोरा बेरोजगार छन् भने कमाइखाने जग्गा जमिन नहुँदा आफूले गिट्टी गुट्ने र श्रीमतीले दैनिक ज्याला मजदुरी गरेर साँझ बिहानको गर्जो टार्दै आउनुभएको छ ।
उहाँको दयनीय अवस्था देखेर देशविदेशमा रहेका केही व्यक्तिहरूको सहयोगबाट निर्माण गरिएको सानो घरमा बस्दै आउनुभएका दर्जीलाई अघिपछि त खासै नियास्रो लाग्दैन । तर जब चाडपर्व आउँछन् तब आफ्नो अवस्था र गरिबीलाई धिक्कार्न मन लाग्छ । अहिले हुनेखाने र शारीरिक रुपमा सबल व्यक्तिलाई दसैँंको रौनकले छोएको छ । देश विदेशमा रहेका परिवारका सदस्य जमघट हुने, मिठामिठा परिकार खाएर रमाउने, आपसमा खुशी साट्ने गरिरहँदा आइते दर्जी जस्तै अत्यन्त विपन्न परिवारलाई भने ‘साँझ खाए बिहान के खाउँ’ भन्ने चिन्ताले पिरोलिरहेको छ ।
बेनी नगरपालिका–५ पुलाचौरको पुरण्यका गणेश दर्जीको अवस्था पनि आइतेको भन्दा कम दयनीय छैन । शारीरिक रूपमा सबल भए पनि गणेश दर्जीलाई भाग्यले भने कहिल्यै साथ दिएन । आफ्नो बुबाको जग्गा जमिन अर्कैले रजिष्ट्रेशन पास गराएर हडपेपछि सुकुम्वासी बनेका ४२ वर्षीय गणेशले बाल्यकालदेखि अहिलेसम्म कहिल्यै पनि सुखको सास फेर्न सक्नुभएन ।
दुई छोरी र आमा गरी पाँच जना परिवारको जिम्मेवारी एउटै व्यक्तिको काँधमा आउँदा जग्गा जमिन र नियमित आम्दानीको कुनै स्रोत नभएका गणेश सधैँ के खाने र कसरी आङ छोप्ने भन्ने पिरलोले नै रन्थनिने गर्नुहुन्छ । यी दुई जना दर्जी बन्धुहरूका जस्तै अवस्था भएका धेरै व्यक्ति हुनुहुन्छ । जसलाई न चाडवाडको रमाइलोले छुन्छ न त दसैँ तिहारजस्ता पर्व आउनु र नआउनुमा कुनै फरक नै पर्छ ।
वडादसैँमा हुनेका लागि किनमेल सुरु भइसकेको छ । फापरखेतका आइते र पुरण्यका गणेशजस्तै म्याग्दीका धेरै विपन्न परिवारका सदस्यलाई भने दसैँंको कुनै माहोल लागेको छैन । छरछिमेकी दसैँको जोहो गर्नतिर लागेका छन् । घरमा परिवार जम्मा भएका छन् । गरिबको घरमा दसैँको लागि केही सोचिएकै छैन । गरिब र विपन्न वर्गको उत्थानका लागि सरकारले दिने सहुलियत र सुविधा पनि वास्तविक गरिब र विपन्न वर्गको पहुँचसम्म पुग्न सकेको देखिँदैन । राजनीतिक रुपमा पहुँच भएका, टाठाबाठाले नै गरिबको नाममा आएको सहुलियत र सुविधा दुरुपयोग गर्ने गरेको बेनी नगरपालिका–५ पुरण्यका यामबहादुर दर्जीले बताउनुभयो ।
“हामीलाई त केही छैन, अलिअलि भए पनि खेतवारी छ, झुपडी नै भए पनि आफ्नै जग्गामा बसेका छौँ, हातगोडा सबल छन्, परिश्रम गरेर खान्छौँ, चाडपर्व मनाउँछैँ”, यामबहादुरले भन्नुभयो, “गणेशजस्ता निरिह, केही नभएका र बोल्न सक्ने ल्याकत पनि नभएका अति पीडित र विपन्नको नाउँमा आउने सुविधा र सहुलियत त सम्बन्धित व्यक्तिले पाए उनीहरूको अवस्था केही सुधार हुन्थ्यो होला नि ।”
त्यसैगरी ज्यामरुककोटकी ६९ वर्षीया गङ्गादेवी सार्कीका श्रीमान् १० वर्षदेखि बेपत्ता हुनुहुन्छ । उहाँ अहिले सेउली बजारको सुकुम्वासी जग्गामा बसोबास गर्दै आउनुभएको छ । उहाँको नाममा जग्गा जमिन केही छैन । ज्यामरुककोट फापर खेतकै पतिराम सार्की बेसाहारा हुनुहुन्छ । उहाँका न सन्तान छन् न सम्पत्ति नै । त्यस्तै ४० वर्षीया तुलसी सार्की एकल महिला हुनुहुन्छ । उहाँको पनि सम्पत्तिको नाउँमा तिल राख्ने ठाउँ नभएको उहाँ बताउनुहुन्छ । त्यस्तै घरबार बिग्रेर माइतै बसी, अरुको घरमा निमेक गरेर दुई बालबच्चा हुर्काइरहेकी फापरखेतकै ४५ वर्षीया बैरी सर्किनीको अवस्था पनि अत्यन्तै कहाली लाग्दो छ । यी सबै व्यक्तिलाई दसैँंको कुनै पनि रौनक र रमाइलो छैन । रात दिन गरिबीमा पिल्सनु र आधा पेट खाएर साँझ बिहान घचेट्नुबाहेक अर्को उपलब्धी अहिलेसम्म जीवनमा प्राप्त नभएको उहाँहरूको भनाइ छ ।
“सबैको घरमा दसैँं आएको छ तर हाम्रो घरमा निराशा लागेको छ”, फोनमा कुरा गर्दै गणेशले भन्नुभयो, “छोरीहरूले नयाँ कपडा र मीठो खानेकुरा चाहियो भन्छन्, आफूलाई साँझ बिहानको गाँस जुटाउनै धौँधौँ परेको छ, कहाँबाट ल्याउनु नयाँ कपडा र मीठो खानेकुरा ।” दसैँ हुनेखाने र भए खाने वर्गको बीचमा ठूलो खाडल बनेको यहाँका वुद्धिजीवी बताउँछन् । हुनेखानेले जति महँगो भए पनि रामै्रसँग दसैँं मनाउँदा नहुनेको मनमा खिन्नता उत्पन्न हुन्छ ।



प्रतिक्रिया