प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउनुहुने भएको छ । पोखरामा उहाँ गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै पार्टीका कार्यक्रममा सहभागी हुनुहुनेछ । कार्यक्रम अनुसार १०.३० बजे पोखरा विमानस्थल आएसँगै प्रधानमन्त्रीले पोखरा महानगरपालिका–९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा सो मन्त्रालयद्वारा निर्मित साक्षर गण्डकी प्रदेशको स्तम्भ अनावरण गर्नुहुनेछ ।यसपश्चात् पोखरा सभागृहमा साक्षर गण्डकी प्रदेश घोषणा समारोहको प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।
ती कार्यक्रमपछि नेपाली कांग्रेसका सभापति देउवा कांग्रेस पोखरा महानगरपालिका–१७ इकाइ समितिको आयोजना हुने विजयादशमी तथा दिपावली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुहुने कांग्रेस कास्कीका सचिव सुदिपमोहन भट्टराईले जानकारी दिनुभयो ।
यो पनि – कँडेल र न्यौपानेलाई छन्दसाधना पुरस्कार
छन्द–तरङ्ग, काठमाडौँले कवि चन्द्रप्रसाद न्यौपानेलाई ‘छन्दसाधना पुरस्कार–२०७७’ र कवि घनश्याम कँडेललाई ‘छन्दसाधना पुरस्कार–२०७८’ बाट पुरस्कृत गरेको छ ।
कविद्वय डा रामप्रसाद ज्ञवाली र डा देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष रु पच्चीस हजारसहितको छन्दसाधना पुरस्कार प्रदान गर्दै आएको छ । शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पुरस्कार प्रदान गर्दै कँडेल र न्यौपाने दुवै स्रष्टाले नेपाली छन्दकवितालाई माथि उठाउनमा विशेष भूमिका खेलेको हुनाले योग्य व्यक्तिलाई नै योग्य पुरस्कार दिइएको विचार व्यक्त गर्नुभयो ।
सोही अवसरमा कुलपति उप्रेतीले कवि कँडेलद्वारा लिखित ‘सम्यक् सम्बुद्ध’ महाकाव्य र कवि न्यौपानेद्वारा लिखित ‘चन्दयुग ः चन्दशास्त्र पर्व’ दुई कृतिको विमोचन गर्नुभएको थियो । प्राज्ञ प्रा डा हेमनाथ पौडेलले विमोचित दुवै कृतिका बारेमा बोल्दै कँडेलमा उच्च कवित्व प्रवाह रहेको र न्यौपाने नेपाली कविताका क्षेत्रमा प्रतिभा रहेको विचार व्यक्त गर्नुभयो भने प्राज्ञ माया ठकुरीले छन्द–तरङ्गले कविहरूलाई उच्च सम्मान दिनु सन्देशप्रद भएको बताउनुभएको थियो ।
–––



प्रतिक्रिया