श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको काममा ढिलासुस्ती नगर्न तनहुँका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ । मन्त्रीमा नियुक्त भएर गृहजिल्ला आएको अवसरमा जिल्ला समन्वय समितिमा आज आयोजित कार्यालय प्रमुखसँगको बैठकमा श्रेष्ठले सेवाग्राहीलाई सरल तरिकाले सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
कर्मचारी भनेको स्थायी सरकार भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “लोकतन्त्रका लागि सुशासन पहिलो प्राथमिकता हो, कार्यालयले प्रवाह गर्ने सेवा सुशासनमुखी हुनुपर्छ ।” मन्त्री श्रेष्ठले सरकारी कार्यालयमा ढिलासुस्ती नगर्न कार्यालय प्रमुखको ध्यानाकर्षण गराउनुभयो । “निर्धक्क भई आफ्नो काम, कर्तव्य पूरा गर्नुहोस्, कसैको दबाबमा काम नगर्न र आफू पनि लज्जित हुने काम नगरी कुनै राजनीति नगर्न निर्देशन दिन्छु”, मन्त्री श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाको शान्ति सुरक्षा र समग्र वस्तुस्थितिका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनुभयो । सो क्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखको सहभागिता थियो ।
यो पनि – वाग्मती प्रदेशसभाको बैठक : परम्परागत शैली जोगाएर संस्कृति रुपान्तरण गर्न आवश्यक
वाग्मती प्रदेशसभाको आज बसेको नवौँ अधिवेशन बैठकमा विभिन्न राजनीतिक दलका नेताले राष्ट्रिय सरोकारको विषयलगायत प्रदेश सरकारले जनहितका लागि गरिएको कार्यको लागि आलोचनासहित आ–आफ्नो टिप्पणी प्रस्तुत गर्नुभएको छ । उक्त बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विगतको तुलनामा सांस्कृतिक पर्वमा हुने गरेको विभेदलाई हटाउँदै परम्परागत शैलीलाई जोगाएर सांस्कृतिक रुपान्तरण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले दलहरूले राष्ट्रको सार्वभौम, राष्ट्रियताको सम्वद्र्धन गर्ने र जनताको बृहत हित र मानव अधिकारको संरक्षणको लागि प्रमुख एजेण्डा बनाइ अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो । मुख्यमन्त्री शाक्यले दलका शीर्ष नेताले पद, प्रतिष्ठाभन्दा नेपाल र नेपालीलाई केन्द्रविन्दुरमा राखेर विकासको लागि राजनीति गर्दा संविधानको भविष्य जीवन्त हुने विश्वास व्यक्त गर्नुभयो ।
सो बैठकमा सत्तारुढ नेकपा (एमाले) संसदीय दलका सचेतक दीपक निरौलाले प्रदेशका सबै धर्म संस्कृति समुदायका व्यक्तिलाई प्रदेश सरकारले समान धारणाका साथ आफ्नो स्रोत र साधनअनुसार, सेवा सुविधा उपलब्ध गराउँदै आएको चर्चा गर्नुहुँदै वर्तमान सरकारलाई सबै दलले विश्वासको मत प्रदान आग्रह गर्नुभयो । सो बैठकमा बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्मकट्टेलले संविधानले परिकल्पना गरेको प्रजातान्त्रिकको व्यवस्थालाई जीवन्त तुल्याउनुको सट्टा मुख्यमन्त्री र मन्त्री पद प्राप्तिका लागि आफ्नो सिद्धान्त, निष्ठा र जनताप्रति जिम्मेवार हुनुपर्ने दृढतालाई त्याग्दा प्रजातन्त्र माथि नै सङ्कट आइपरेको बताउनुभयो ।
उक्त अवसरमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सबै नेपालीलाई दिगो शान्ति, मानव अधिकारको संरक्षण गर्न विगतको सङ्घीय र प्रदेश सरकारले सकारात्मक भूमिका खेल्न नसकेकामा चिन्ता व्यक्त गर्नुहुँदै संविधानको संरक्षण गर्न र प्रदेशमा जनतालाई आधारभूत विकासप्रति आत्मनिर्भर तुल्याउन वर्तमान प्रदेश सरकार परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई दरिलो बनाउन राजनीतिक दलका नेताहरूले आफूलाई व्यावहारिक र पद प्राप्तिको होडबाजीलाई त्यागेर जनता र राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर राजनीति गर्नुपर्ने धारणा व्यक्त गर्नुहुँदै प्रदेशको वर्तमान सरकारले कुनै किसिमको प्रभावकारी भूमिका खेल्न नसकेकाले आफ्नो दलको तर्फबाट विश्वासको मत नदिने बताउनुभयो ।
उक्त बैठकमा साझा विवेकशील दलका नेता रमेश पौडेल, नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र राज गोरसाईं, राप्रपाका रिता माझी र जसपाका नेता प्रेम तामाङले राजनीतिक दलका शीर्ष नेताहरूले आफूलाई व्यावहारिक र पार्टीप्रति निष्ठा राखेर अघि बढेको खण्डमा देशमा स्थायी शान्त्ति र प्रजातन्त्रको सुदृढीकरणको लागि एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुहुँदै देश र पार्टीभन्दा मुख्यमन्त्री र मन्त्री पद प्यारो ठान्दा राष्ट्रले विकासको फड्को मार्न नसकेको उल्लेख गर्नुभयो ।



प्रतिक्रिया