अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सा दोभानकी दिलकुमारी रोका मगर (घर्ती)लाई पाल्पामा सम्मान गरिएको छ । वुमन वल्र्ड समिट फाउन्डेसन (डब्लुडब्लुएसएफ) जेनेभा, स्विट्जरल्यान्डले हरेक वर्ष प्रदान गर्ने एक हजार डलर राशिको अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न उहाँ सफल हुनुभएको थियो ।
पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा च्याउ उत्पादन गर्ने र अन्य महिलाहरूलाई च्याउ खेतीमा आकर्षित गर्ने घर्तीले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको हो । डब्ल्युडब्ल्युएसएफले २०२१ का लागि विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने साहसी र अग्रणी सिर्जनशील १० महिलाहरूको सूचीमा घर्तीको पनि नाम सार्वजनिक गरेको थियो । पुरस्कार प्राप्त गर्ने साहसिक महिला घर्तीले आफूले प्राप्त गरेको पुरस्कार आफ्नो नभई सबैको साझा पुरस्कार भएको बताउनुभयो ।
तिनाउ गाउँपालिकाभित्र सङ्घसंस्थाको पहलमा आज सम्मान निम्ति आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री कुलप्रसाद केसीले उहाँले प्राप्त गरेको अन्तर्राष्टिय पुरस्कारले प्रदेशकै नाम चिनाउन सफल हुनुभएको बताउनुभयो । उहाँले नेपालको ग्रामीण क्षेत्रलाई चिनाउन सफल हुनुभएको र यस्ता सफल उद्यमी महिलाले सञ्चालन गरेको अभियानलाई मिसनका रुपमा सञ्चालन गर्ने र गरिबी हटाउने बताउनुभयो ।
च्याउ उत्पादन गरी देश तथा विदेशमा आफ्नो नाम कमाउन सफल घर्ती मगरले रुपान्तरणका लागि अहम् भूमिका खेल्नुभएको छ । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले च्याउ उत्पादन गरी श्रीमतीको नामबाट श्रीमान् चिनाउने महिला बन्नुभएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रका महिलाहरूले पनि गरिबी हटाउने अभियान सक्रियता देखाएको यो नमूना काम भएको उहाँले बताउनुभयो । एउटा महिलाको प्रयासले समाज रुपान्तरण हुनु राम्रो पक्ष भएको र अन्य महिलाहरु पनि घर्तीको अभियान लाग्नुपर्ने बताउनुभयो ।
ग्रामीण क्षेत्रमा बसोबास गरी निरक्षर तथा साक्षर महिलालाई च्याउ खेतीमा आकर्षित गरी स्वरोजगार बनाउन घर्तीको भूमिका महत्वपूर्र्ण रहेको छ । उत्पादक समूह, सहकारी समूह र साना किसान कृषि सहकारीबाट ५५० महिलालाई सङ्गठित नेतृत्व गर्न घर्ती सफल हुनुभएको हो ।
घर्ती नेकपा (माओवादी)मा विसं २०५३ देखि २०६३ सम्म दस वर्ष भूमिगत जीवन बिताउने साहसिक महिला हुनुहुन्छ । च्याउ उत्पादन गरी विश्वमा नाम राख्न सफल घर्तीले आफ्ना अनुभव सुनाउनुभयो । आफूले प्राप्त गरेको पुरस्कारबाट अन्य महिलालाई आर्थिक सामाजिक रुपमा सबल बनाउनका लागि प्रतिष्ठान स्थापना गर्ने उहाँले घोषणा गर्नुभयो ।



प्रतिक्रिया