साकेला गाउँपालिकाले शिविर सञ्चालन गरेर गाउँपालिकाभित्रका सबै लक्षित वर्गलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराएको छ । नेपाल एसबीआइ बैंक र गाउँपालिकाले सञ्चालन गरेको शिविरमा ४७२ लक्षित वर्गलाई उनीहरुको वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । गत असोज १७ गतेबाट सुरु गरिएको शिवर आइतबार सम्पन्न भएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले बताउनुभयो । गाउँपालिकाले वडा नं १ च्यानडाँडामा सञ्चालन गरेको शिविरमा १४५, वडा नं २ रतन्छामा सञ्चालन गरेको शिविरमा १२५, वडा नं ३ खिदिमामा सञ्चालन गरेको शिविरमा ४४, वडा नं ४ मात्तिममा सञ्चालन गरेको शिविरमा ४४ र वडा नं ५ मात्तिम बिर्तामा सञ्चालन गरेको शिविरमा ८३ जनाले भत्ता बुझेका छन् ।
कर्मचारीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दा ठूलो मात्रामा आर्थिक अनियमितता भएकाले त्यसलाई रोक्न बैंकिङ प्रणाली लागू गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “बैंकमार्फत वितरण गर्दा यसअघि वितरण गरिँदै आइएको रकममा आधा घटेको छ”, उहाँले भन्नुभयो, “बैंकमा आएर भत्ता बुझ्न लक्षित वर्गलाई समस्या हुने भएकाले उनीहरुको सहजताका लागि उनीहरुको टोलमै शिविर सञ्चालन गरेर वितरण गरिएको हो ।”
साकेला गाउँपालिकामा यसअघि सामाजिक सुरक्षाभत्ता वितरणमा आर्थिक अनियमितता भएको पाइएको थियो । सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमा लैजानुअघि वडा सचिवले घरघरमा वा कम्तीमा टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएका थिए । साकेला गाउँपालिकामा भएको सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी अनियमितताका विषयमा गृहमन्त्रालयले समेत चासो व्यक्त गरेको थियो ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरे पनि गाउँमै पुगेर भने वितरण गरेको छैन । गाउँ तथा टोलमा लगेर भत्ता वितरण नगर्दा अशक्त वृद्धवृद्धा र पूर्ण अपाङ्गता भएका व्यक्तिलाई समस्या देखिएको छ ।
यो पनि – सनातन विद्वत् परिषद्को अध्यक्षमा दीर्घराज
सनातन विद्वत् परिषद्को अध्यक्षमा प्रा डा दीर्घराज घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । विसं २०७३ मा अनौपचारिक मञ्चका रुपमा काम सुरु गरेको परिषद् गत वर्ष जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सामाजिक एवं आध्यात्मिक संस्थाका रुपमा विधिवत् दर्ता भएपछि नवरात्रको अवसर पारेर पहिलो साधारणसभा गरिएको हो । साधारणसभाले नेपाल संस्कृत विश्वविद्यालयमा लामो समय सेवा गर्नुभएका घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो ।
परिषद्को उपाध्यक्ष त्रयमा प्रा डा भवानीप्रसाद खतिवडा, प्रा डा देवमणि भट्टराई र सहप्राध्यापक माधवप्रसाद पाण्डेय पनि निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी सचिवमा डा रुद्रानन्द ब्रह्मचारी, सहसचिव उपप्राध्यापक सुदर्शन नेपाल, कोषाध्यक्षमा प्रा डा आनन्दप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । परिषद्को सदस्यमा डा गोविन्दशरण उपाध्याय, डा कान्ता भट्टराई, उपप्राध्यापक वैकुण्ठ घिमिरे, उपप्राध्यापक उपेन्द्र दाहाल, आचार्य विष्णुप्रसाद पोखरेल र रामकृष्ण उपाध्याय निर्वाचित हुनुभएको छ ।
परिषद्ले वैदिक सनातन हिन्दू धर्मको संरक्षण र सम्वद्र्धनमा काम गर्दै आएको छ । संस्थाले धर्म, संस्कृतिका विभिन्न विषयमा हुने विवादलाई शास्त्रीय प्रमाणका आधारमा शास्त्रार्थका माध्यमबाट निष्कर्षमा पु¥याउँदै आएको छ । वैदिक सनातन धर्मावलम्बीले मनाउने चाडपर्वका विषयमा विभिन्न समयमा उठ्ने प्रश्नका बारेमा पनि परिषद्ले नेपाल पञ्चाङ्ग निर्णायक समितिसँगको सहकार्यमा काम गर्दै आएको छ ।



प्रतिक्रिया