नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७८५ सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार १९५ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको हो ।
थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १४ हजार ७८७ जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । सङ्क्रमण दर १८.७ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा ८८८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७६ हजार ८३१ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको छ । सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २४३ जनाको निधन भइसकेको छ ।
आज एक लाख २७ हजार ५३२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८३ लाख १७ हजार ९०२ पहिलो मात्रा र ६४ लाख ६२ हजार ७७६ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
यो पनि – सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम
नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । आइतबार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण गर्दा ५९६ जनामा सङ्क्रमण देखिएको थियो ।

उहाँका अनुसार हिजोको सङ्क्रमण दर कोरोना भाइरसको दोस्रो लहरको शुरुवात पछिकै सबैभन्दा कम हो । पछिल्लो एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको छ । मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ सक्रिया सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको हो ।
कोरोना भाइरस विरुद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्न देखाएको तदारुकता र महामारी नियन्त्रणमा नेपाल सरकारले अख्तियार गरेको नीतिका कारण सङ्क्रमण घट्दै गएको देखिएको छ । उहाँका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्या १५ हजार ९४२ पुगेको छ । सङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताइएको छ ।
यस्तै काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई खोप लगाइएको छ ।
यो पनि – सिड्नीमा १०६ दिनपछि लकडाउन अन्त्य
२५ असोज (रासस÷एएफपी) ः अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको छ ।कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै चार महिनापछि अन्त्य गरिएको अधिकारीहरुले जनाएका छन् ।
अहिले महामारीको असर र खतरा कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुको भनाई छ ।
देशको सवैभन्दा ठूलो शहर मानिने सिड्नीमा झण्डै ५० लाख मानिस बसोबास गर्दछन । यति धेरै मानिस प्रभावित हुनेगरी सिड्नीमा लामो समयसम्म लकडाउन लगाइएको भन्दै विरोध समेत भएको थियो । सिड्नी समेत पर्ने न्यु साउथ वेल्स प्रदेशमा सोमबार मात्रै ४९६ जना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । ती मध्ये ७० प्रतिशतभन्दा बढीले दुवै खोप लगाएको पाइएको पनि अधिकारीहरुले जनाएका छन ।
झण्डै चार महिनापछि लकडाउन अन्त्य भएको पहिलो दिनलाई कतिपयले स्वतन्त्रता दिवसको संज्ञा पनि दिएका छन् । उनीहरुले लकडाउन अन्त्य भएपछि धेरै खुशीयाली र स्वतन्त्रताको अनुभूति भएको बताएका छन् ।लकडाउन अन्त्य भएसँगै पसलहरु खुल्न थालेकाले अधिकांशले पसलमा किनमेल गर्ने मौकाको रुपमा पनि लिएका छन् । त्यसैगरी व्यापार गर्नेहरुले पनि आफ्नो व्यापार गर्ने मौकाको रुपमा प्रयोग गरेको देखिएको छ ।
गत जुनदेखि सिड्नीका पसल, विद्यालय, सैलुन र कार्यालयहरु बन्द भएका थिए । अत्यावश्यक सेवा भने सञ्चालिन नै थिए । त्यसैगरी अत्यावश्यक सामग्री किनमेल गर्नका लागि पनि घरदेखि पाँच किलोमिटर भन्दा टाढा जान नपाइने व्यवस्था गरिएको थियो । महामारी नियन्त्रणका लागि अष्ट्रेलियाको केन्द्रीय र प्रदेश सरकारहरुले पनि सिमानाका बन्द गर्ने, लकडाउन गर्ने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र तिव्र रुपमा कोरोना परीक्षण गराउने लगायतका कार्य गर्दै आएका थिए ।



प्रतिक्रिया