सरकारले कानूनी विधि र प्रक्रियाभन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानूनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत कसैको बहकाउमा परी त्यस्ता गैरकानूनी कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ । मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले जारी गर्नुभएको विज्ञप्तिअनुसार नेपालको संविधान र कानूनमा रहेको व्यवस्थाअनुसार सरकारले गत भदौ २९ गते नै राष्ट्रिय भूमि आयोग गठन गरी कामकाजसमेत सुरु भइसकेको छ ।
यसअघि गठन भएको भूमिसम्बन्धी समस्या समाधान आयोगले स्थानीय तहमार्फत गरेको भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने उद्देश्यले काम भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न विशिष्ट कानूनी व्यवस्था गरी प्रक्रिया अगाडि बढाइएको र कोही छुटेको भए सम्बन्धित स्थानीय तहमा अझै नाम दर्ता गर्न सकिने व्यवस्था रहेको विज्ञप्तिमा भनिएको छ ।
नेपालको संविधानको मौलिक हकमा रहेको आवासको हक, भूमिहीन दलितको हक र राज्यको नीतिमा उल्लिखित भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबास र जीविकोपार्जनका लागि कृषियोग्य जमिन व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । आइतबार रुपन्देही जिल्लाको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मनत्रालयले सो घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
यो पनि – बजारमा अधिकांश सामान र कुहिएको मासु बिक्री, टोलीद्वारा नष्ट
दसैँ नजिक आएसँगै भक्तपुर नगरपालिकाले आज पनि बजार अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज वंशगोपाल क्षेत्रमा रहेका पसल एवं मिनिमार्टहरुको अनुगमन गर्दा दसैँको मौकामा म्याद गुज्रेका खाद्य सामगीहरु बिक्रीका लागि राखेको पाइएको छ ।अनुगमनमा अजिमा स्टोर मार्केटमा म्याद नाघेको र लेबल नभएको १६ प्रकारका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
त्यस्तै राज्य स्टोर, कमलविनायक मिनिमार्ट, के.एम.मार्टमा मिति र लेबल नभएको खाद्य पदार्थ बिक्रीमा राखेको, म्याद गुज्रेका खाद्य वस्तु बिक्रीमा राखेको, कुहिएको सामान पनि बिक्री गर्ने सामानसँगै राखिएको पाइएपछि करिब १७ प्रकारका म्याद नाघेका खाद्य पदार्थ जफत गरी नष्ट गरिएको छ । अधिकांश पसलमा लेबल नभएको प्याकेजिङ सामानहरु खाद्य अनुज्ञापत्र नलिएको, लेबल नराखेको, तराजु नापतौल विभागमा नवीकरण नगरेको र म्याद गुज्रेकै सामान बिक्री गरेको पाइएको छ ।
त्यस्तै मासु संसारमा बिक्रीका लागि राखेको बिग्रेको मासु २४ किलो जफत गरी नष्ट गरिएको उहाँले जानकारी दिनुभयो । मासु पसल, फ्रिज फोहोर भएको, बिग्रेको मासु फ्रिजमा राखेको, पसल तथा ढक तराजु नवीकरण नगरेकाले तराजु जफत गरी दसैँलगत्तै कार्यालयमा उपस्थित हुने निर्देशन दिएको छ ।



प्रतिक्रिया