पहिरोले अवरुद्ध सडक तीन महिनापछि खुल्यो

पहिरोले अवरुद्ध सडक तीन महिनापछि खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मिसेरा सडक अवरुद्ध भएको तीन महिनापछि खुलेको छ । बागलुङ नगरपालिका–१० दब्लाङमा गत असारमा गएको ठूलो पहिरोले उक्त सडक खण्डसहित कालीगण्डकी करिडोरसमेत अवरुद्ध बनेको थियो । सडक नियमित गर्ने प्रयास गरिए पनि पहिरो झर्ने जोखिमका कारण दक्षिण क्षेत्रका नागरिकले तीन महिनायता सास्ती खेप्नु परेको थियो । सडक खुलेसँगै दसँैमा घर जान आउन सहज भएको छ । निरन्तरको दबाबपछि दुई साता अघि मर्मत सुरु गरिएपनि वर्षा भएका कारण सडक पहिरोले बगाएपछि सडक सुचारु गर्न केही ढिलाइ भएको मालढुङ्गा कुश्मिसेरा सडक मर्मत समितिका अध्यक्ष यादव शर्माले जानकारी दिनुभयो ।

सरोकारवाला निकायले पटक–पटक निरीक्षण गरेपनि भौगोलिक अवस्थाका कारण सडक नियमित गर्न कठिनाइ भएको थियो । बागलुङ नगरपालिकाको जनश्रमदानसहित रु २० लाख ९३ हजार विनियोजन गरी मर्मतको काम अगाडि बढाइएको थियो । उपभोक्ता समितिमार्फत सडक मर्मत गरी तत्कालका लागि एकातर्फी रुपमा भएपनि गाडी सञ्चालनमा ल्याइएको उपभोक्ता समितिका अध्यक्ष शर्माले जानकारी दिनुभयो । सरोकारवाला निकायले अनुगमन गर्दा लागत अनुमान धेरै भएपनि अहिले तत्कालै जनताले पाएको दुःखलाई मध्यनजर गर्दै नगरपालिकाको विपद् व्यवस्थापनबाट केही रकम छुट्याएर काम अगाडि बढाइएको बागलुङ नगरपालिका– १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले बताउनुभयो ।

लामो समयदेखि जिल्लाको दक्षिणी भेग तथा बागलुङ नगरपालिकाको बलेवा क्षेत्र सडक सम्पर्कविहीन बनेपछि सहज होस् भनेर मर्मत सुरु गरिएको हो । नगरपालिकाले जनश्रमदान बाहेक रु १६ लाख ६० हजार उक्त सडकलाई छुट्याएको उपभोक्ता समितिका सचिव ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो । सडक बन्द हुँदा भकुण्डे, रायडाँडा, बलेवा क्षेत्र जैमिनी र बरेङ गाउँपालिकाका यात्रुले सास्ती खेप्नु परेको थियो ।

यो पनि – डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् । बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

डेल्धुराको अमरगढी नगरपालिका –१०, केआइसिंह राजमार्गअन्तर्गत राईबजार नजिकै मङ्गलबार बिहान दुर्घटनाग्रस्त भएको ना७ख १७४ नम्बरको बस । तस्बिर ः करन ताम्राकार÷रासस

यो पनि – घान्द्रुक जीप दुर्घटना अपडेट : जीप चालकसहित आठको मृत्यु, एकको सकुशल उद्धार

पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री हुनुहुन्छ ।

यसैगरी अन्य मृतकमा जीपमा सवार काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भई हाल काठमाडौँ गोङ्गबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

घटनामा काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट लागेको र अस्पताल जानुपर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । भीरमा अड्किएको अवस्थामा उहाँलाई प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेकोे प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुर्घटनामा परेका काठमाडौँबाट घुम्नका लागि पोखरा आएको बताइन्छ । पोखराबाट घान्द्रुकतर्फ जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अन्दाजी १ः३० बजेको समयमा हुदुस्थित सडकबाट आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

पोखरा घान्द्रुक कच्ची सडकखण्डको कलडाँडा भिरको घुम्ती सडकबाट अन्दाजी २०० मिटर तल सडकमा जीप खसेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उहाँका अनुसार उकालो बाटोमा जीप ‘ब्याक’ भएर दुर्घटनामा परेको हो । मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो पनि – घान्द्रुक जाँदै गरेको जीप दुर्घटना

पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ ।पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी ११० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जीपमा चालकसहित १० यात्रु सवार रहेका र आठ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । स्थानीयवासीका अनुसार एक जनाको उद्धार गरिएको र अधिकाँसको मृत्यु भएको छ । एक जनाको उद्धार जारी रहेको बताइन्छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दुर्घटनामा परेर केहीको मृत्यु भएको भन्ने जानकारी आएको छ, हामी घटनास्थलतर्फ जाँदैँछौँ, अस्पताल ल्याएपछि मात्र अवस्था थाहा होला ।” घटनाको विस्तृत विवरण आउन बाँकी छ । स्थानीय प्रहरी तथा स्थानीयवासीले घाइतेको उद्धार गरी अस्पताल ल्याउँदै गरेको अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङले जानकारी दिनुभयो । जीप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटक दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।