बलबहादुर माझीको माछा पोखरी सपना…

बलबहादुर माझीको माछा पोखरी सपना…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलबहादुर माझी ६५ वर्षका हुनुभयो । उहाँले जाँन्दाको दिनदेखि नै काम भनेको माछा मार्ने र मजदूरी गर्ने भन्ने सिक्नुभयो । बागलुङ नगरपालिका–१ को कालीगण्डकी किनारमा बस्ने परिवारले उहाँलाई वर्षाको भेल होस् वा हिउँदको चिसो, कालीगण्डकीसँग पौँठेजोरी खेल्न सिकायो । पढाइ, सीप, ज्ञान सबै कालीकिनारका वरिपरिको वातावरण हो, बलबहादुरको । त्यहीँ जन्मनुभयोे, त्यहीँ हुर्कनुभयो र घरजम गर्नुभयो । अहिले बुढ््यौली पनि त्यहीँ बिसाइरहनुभएको छ । विसं २०४८ मा बागलुङ पोखरा सडक निर्माणका क्रममा माझी बस्ती विस्थापित भयो ।

बागलुङ नगरपालिकाकै बाङ्गेचौरमा अस्थायी बसोबास थाल्नुभएका बलबहादुरको बास फेरियो तर कर्म फेरिएन । झण्डै २७ वर्षपछि पुरानै ठाउँमा बस्ती बनाएर फर्किएपछि पनि उहाँको कर्म उही हो । बलबहादुरले सन्तानलाई भने दुःखै गरेर भए पनि पढाउनुभयो । अहिले छोराछोरी जागिर गर्छन् तर उहाँलाई भने आफ्नै पुख्यौलीमा सुधार गर्न मन लागेको छ ।

बलबहादुर मात्रै होइन माझी बस्तीका सबैको कथा व्यथा उस्तै हो । बलबहादुर अहिले आफ्नो कर्ममा सुधार खोजीरहनुभएको छ । माछासँग जोडिएको माझीको जीवन पद्दतिमा सुधारको महसुस नयाँ र पुराना पुस्ताले गर्न थालेका छन् । “यतैकतै सरकारी जग्गामा माछाको पोखरी भए खोलामा माछा मारेर परिवार पाल्नुपर्ने बाध्यता अन्त्य हुन्थ्यो”, बलबहादुर भन्नुहुन्छ, “नदीमा जाँदाको जोखिम कम हुन्थ्यो, पेसा उही तर सुरक्षित होइन्थ्यो ।” आफ्नो जग्गा नभएकाले माझी समुदायका लागि आफ्नो माछा पोखरी बनाउन समस्या छ ।

आयस्रोतले दैनिकी मात्रै चल्ने भएकाले लगानी गर्न समस्या छ । माझी समुदायले दैनिकी परिवर्तनका लागि व्यावसायीक हुन चाहन्छन् तर समस्याका चाङ छन् । “सरकार र हाम्रो बारेमा सोच्नेलाई भन्ने गरेको छु, पोखरीको व्यवस्था गरिदिनुस्”, बलबहादुरले सुनाउनुभयो “अब कालीगण्डकीमा होइन आफ्नै माछा पोखरीमा माछा हुर्केको हेर्न मन छ ।” उहाँले नजिकै कालीगण्डकी रहेकाले पानीको समस्या नहुने बताउँनुहुन्छ । माझी समुदायको बसोबास रहेको बस्तीलाई लायन्सले नमूना बस्ती घोषणा गरेको छ । यो बस्तीमा माछाको पोखरी, मौरी र बाख्रापालन तथा तरकारी खेती लगाउने योजना छ ।

“मैले समुदायका कुरा सुने, सीप सिकाउने र पोखरी बनाउने कामका लागि पहल थालेको छु”, गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले भन्नुभयो, “सीपसँग जोडेर आयआर्जन गर्ने दिगो योजना चाहिन्छ ।” सडक निर्माण पश्चात विस्थापित भएका माझीका लागि एकीकृत बस्ती निर्माण गरेको बागलुङ नगरपालिकाले पनि समुदायको माग अनुसारको उद्यमका लागि सहयोग गर्ने नगरप्रमुख जनकराज पौडेल बताउनुहुन्छ ।

शिक्षा, स्वास्थ्य र रोजगारीमा विस्तारै अघि बढिरहेका माझी समुदायका लागि स्वरोजगारमूलक व्यवसाय उत्तम हुने उमा माझीले बताउनुभयो । यो बस्तीमा १७ परिवार माझी स्थायी रुपमा बस्दै आएका छन् भने केही अन्यत्रबाट आएका समेत यहाँ बस्छन् ।