महाकाली राजमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करिब १ बजेतिर दुर्घटना हुँदा सो ट्र्याक्टरका चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिनुभयो ।

मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा रहेको बुझिएको छ । योगेशको उपचारका क्रममा जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सोही ट्र्याक्टरमा सवार डिलासैनी–३ कै राकेश कोलीले हामफालेर ज्यान जोगाएका छन् । उनी सामान्य घाइते छन् । दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि – छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु
महोत्तरीको दुई स्थानमा भएको मोटरसाईकल दुर्घटनामा परी एक महिलासहित तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार पूर्व पश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा मन्दिर जाने सडक नजिकै दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१ का २८ वर्षीय विजयकुमार महतो र महतोत्तरीको बर्दिबास नगरपालिका–३ का २७ वर्षीय सुुरज तामाङ रहेको प्रहरीले जनाएको छ । महतो सवार भई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१–००२प ०५९७ नंको मोटरसाइकल गए राति करिब ९ बजे विपरीत दिशाबाट बर्दिबास नगरपालिका–३ का २७ वर्षीय सुुरज तामाङ र २२ वर्षीय सोनु सिंह सवार ज.१२ प.२९६१ नंको मोटरसाइकल आपसमा ठक्कर खाएर दुर्घटना हुँदा दुबै जनाको मृत्यु भएको हो ।
महतोको उपचारका क्रममा बर्दिबासको शुभ स्वस्तिक अस्पतालमा र तामाङको उपचारकै क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा गए राति नै मृत्यु भएको हो । सोही घटनामा सोनु सिंह गम्भीर घाइते भई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि जनकपुर लगिएको र अहिले थप उपचारका लागि काठमाडौँ पठाएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया