दसैँमा मदिरा बिक्री बन्द

दसैँमा मदिरा बिक्री बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुरमा स्थानीय प्रशासनले दसैँमा जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले दसैँको समयमा कुनै पनि आपराधिक गतिविधि नहोस् भनेर मदिरा बिक्रीमा रोक लगाइएको बताउनुभयो । त्यसका साथै प्रहरी जिल्लाभर चाडपर्व लक्षित सुरक्षा योजनासहित शान्ति सुरक्षामा खटिएको उहाँले बताउनुभयो ।

यहाँ लुकिछिपी जुवा खेल्ने समूहलाई समेत प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरिरहेको छ । प्रहरीले मदिरा बिक्री वितरण बन्द गर्न जिल्लाभरिका प्रहरी कार्यालय र चौकीहरुलाई निर्देशन दिइसकेको छ । त्यसैगरी मदिरा नियन्त्रण अनुगमन समिति कञ्चनपुरका अध्यक्ष भगवती थापाले आफूहरु जिल्लामा मदिरा न्युनीकरण र नियमनका लागि २०६३ सालदेखि सक्रिय रहेको बताउनुभयो । “चाडपर्वमा हिंसात्मक घटना, चोरी डकैती बढ्ने भएकाले हामीले हरेक ठुला चाडपर्वमा मदिरा बिक्रीमा रोक लगाउन पहल गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय प्रशासन र सम्बन्धित व्यापारीहरुबाट पनि सहयोग भएकाले यो सम्भव भएको हो ।”

यो पनि – कैलालीका खसी बोकाको माग पोखरा र काठमाडौँमा

सुदूरपश्चिम, २८ आसोज (रासस) : कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापाले यसपालि आफ्नै खोरमा पालेका नौ गोटा खसी र १२ बोका बिक्री गर्नुभयो । काठमाडौँ र पोखराबाट आएका व्यापारीसँग खोरमै उचित मूल्यमा खसी बोका बेच्न पाउँदा उहाँ खुशी मुद्रामा हुनुहुन्थ्यो ।“पछिल्ला वर्षमा माग बढेसँगै पोखरा र काठमाडौँका व्यापारीले खोरमै पुगेर खसी बोका खरिद गरेर लैजान थालेका छन्”, धनगढीमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिनुभएका थापाले भन्नुभयो, “यसले बाख्रापालन गर्ने किसानमा यो व्यवसायप्रति हौसला बढेको छ ।”

चुरे गाउँपालिकामा एउटै खोरबाट कम्तीमा पनि ३५ गोटासम्म खसी बोका बिक्री गर्ने किसान रहेको बताइएको छ । धनगढी अत्तरियालगायतका सहरी क्षेत्रमा भने खसी बोकाको माग पहिलेको जति नहुने गरेको बताइएको छ ।अर्का व्यापारी लोकबहादुर बोहराले बलि दिने परम्परामा कमी आउँदा धनगढी अत्तरियालगायतका क्षेत्रमा खसी बोकाको माग पहिलेको जस्तो नभएको अनुभव सुनाउनुभयो । धनगढीमा खसी बोका सङ्कलन केन्द्र तथा खरिद बिक्री केन्द्र सञ्चालन गरिरहनुभएका उहाँले भन्नुभयो, “काठमाडौँका व्यापारी खसी बोका खरिद गर्न चुरे आइपुग्छन्, यसबाट किसानको आम्दानी वृद्धि भइरहेको छ, तर स्थानीय सहरी क्षेत्रमा यसको माग नहुँदा भने सोचेअनुसारको कमाइ गर्न सकेका छैनौँ ।”

कैलालीको चुरे पहाडी क्षेत्रमा पर्ने चुरे गाउँपालिका बाख्रापालनका लागि पकेट क्षेत्रका रूपमा रहेको छ । बडा दसैँको समयमा यो क्षेत्रमा खसी बोकाको ठूलो मात्रामा कारोवार हुने गर्छ । यसपालि चुरे गाउँपालिकाबाट मात्रै व्यापारीले झण्डै २० हजार गोटा खसी बोका स्थानीय किसानबाट खरिद गरेर काठमाडौँ, पोखरालगायतका शहरमा पु¥याएको बताइएको छ ।

कोरोना जोखिमका कारण खसी बोका कारोवारमा केही असर पुगेको घुम्ती व्यापार गर्नेको भनाइ छ । “स्थानीय क्षेत्रमा जिउँदो खसी मुस्किलले प्रतिकिलो रु ५०० देखि ५५० मा खरिद बिक्री भइरहेको छ,” बोहराले भन्नुभयो, “यहाँका खसी बोका पोखरा काठमाडौँ पुर्याएर बेच्दा प्रतिकिलो रु ७०० देखि ८०० सम्ममा बिक्री हुने गरेको सुनिन्छ ।”

बाख्रापालन व्यवसायका लागि सरकारबाट सहयोग नपुगेको गुनासो कृषकको छ । किसान थापाले भन्नुभयो “सरकारले बख्रापालनका लागि पकेट क्षेत्र घोषणा गर्छ, तर पकेट क्षेत्रमा गर्नुपर्ने सहयोग किसानलाई उपलब्ध गराउँदैन ।”चुरे गाउँपालिकामा अधिकांश किसानको मुख्य आयस्रोत बाख्रापालन, फलफूल, अदुवा र बेसारको खेती रहेको छ । घरघरमा खसी बोकाको मार हान्ने र देवी देवताको नाममा बलि दिने चलन घट्दै जाँदा पछिल्ला वर्षमा दसँैंको समयमा खसी बोकाको कारोवार पनि घट्दै गएको बताइएको छ ।

दसैँमा देवीदेवताको नाममा घरघरमा खसीबोका, कुखुरा, हाँस परेवाजस्ता पशु पक्षीको बलि दिने चलन पहिलेको तुलनामा निकै कमी आएको व्यापारीको भनाइ छ । पशु बलिको विकल्पमा नरिवल, कुभिण्डो, फर्सी काँक्राको बलि दिन थालिएको पाइन्छ ।यद्यपि सुदूरपश्चिम प्रदेशको तराईका जिल्लाको तुलनामा पहाडी जिल्लाका कतिपय शक्तिपीठमा राँगा, खसीबोकाको बलि दिने चलन भने कायम नै छ । देवीदेवताका नाममा पशु पक्षीको बलि दिनु अनुचित हो भन्ने भनाइ पशु अधिकारकर्मीको छ ।

बलि दिएर शक्तिको आराधना गर्ने परम्परामा कमी आउँदा रमाइलो नहुने, एक ठाउँ भेला हुने अवसर प्राप्त नभई सन्तुष्टि प्राप्तसमेत नहुने बलि पक्षधरको भनाइ छ । बलि दिने प्रचलनमा कमी आउँदा शक्तिको उपासना र अध्यात्मिक भावनामा कमी आउन थालेको कतिपयको तर्क पनि उनीहरुको छ ।