राष्ट्रपतिबाट दसैँले उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास

राष्ट्रपतिबाट दसैँले उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह पनि गर्नुभएको छ । बडादसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसादस्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेषरूपमा मनाउने चाड भएको उल्लेख गर्दै राष्ट्रपतिले नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमीको पर्वको विशेष महत्व रहेको जनाउनुभएको छ ।

“वर्षाको हिलोमैलोपछि सुरम्य शरद् ऋतुमा मनाइने दसैँ पर्व शक्तिको उपासना, कृषि औजार तथा हतियारको पूजा गरी मनाइने नेपालीहरूको मौलिक सांस्कृतिक चाड हो । यस पर्वको कृषिप्रधान नेपाली समाजको जीवनपद्धतिसँग समेत अभिन्न सम्बन्ध रहेको छ”, सन्देशमा भनिएको छ, “यस प्रकारका चाडपर्वहरूबाट नेपाली समाजको मौलिक पहिचानका रूपमा रहेको जातीय, भाषिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास लिएको छु ।”

यो पनि – अध्यक्ष प्रचण्डद्वारा दसैँको शुभकामना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले दसैँ, तिहार, नेपाल सम्वत्् र छठलगायतका चाडपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष प्रचण्डले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्, यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल भएको हो ।”

अध्यक्ष प्रचण्डले हाम्रा सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएका बताउँदै त्यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको हाम्रो कार्यभारसमेत भएको उल्लेख गर्नुभएको छ ।

“कोरोना भाइरसका कारण अझै सहजरूपमा चाडपर्व मनाउने अवस्था नभएको सन्दर्भमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डको पालना गरी चाडपर्व मनाउन सबैमा अपिल गर्दै पुनःएकपटक सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु,” अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।