सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन् । सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो । त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार दसँैंका लागि भनेर २०७८ वैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर आज पनि बिदा दिने निर्णय गरेको थियो । बैठकले सार्वजनिक बिदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ ।
भारतीय नागरिक मृत फेला
महाकाली नदी किनारमा आज एक भारतीय नागरिक मृत फेला परेका छन् । मृत्यु हुनेमा भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्ला ग्रामपञ्चायत पिपलीका ४० वर्षीय सञ्जय ज्याला रहेका छन् ।ज्यालाको शव बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी किनारमा भेटिएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । बिहान ७ बजेतिर स्थानीय बासिन्दाले ज्यालाको शव महाकालीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाइने प्रहरीले जनाएको छ । शवको परीक्षण पनि भारतमै गरिने बताइएको छ । ज्याला हिजो भारतको हंसेश्वरमा कार दुर्घटना हुँदा महाकालीमा बेपत्ता भएको बताइएको छ ।



प्रतिक्रिया